सहयोगीको जागिर खान जाँदा पत्रकार बनेका गोकर्ण, कान्तिपुरको अर्थ सम्पादकदेखि महासंघको डिजीसम्म



काठमाडौं । यसैसाता सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा गोकर्ण अवस्थीलाई बधाई दिनेहरु धेरै थिए ।

कारण थियो, महासंघको महानिर्देशकमा पदोन्नति । महासंघको महानिर्देशक हुँदै गर्दा ‘बधाई छ दाइ-भाइ’ भन्नेहरुमध्ये पत्रकार धेरै थिए । सँगै उद्योगी व्यवसायी पनि ।

गोकर्ण अवस्थी पत्रकारिता क्षेत्रमा स्थापित नाम हो । आर्थिक पत्रकारिताका ‘हस्ति’ । दार्चुलाबाट काठमाडौं आउँदै गर्दा जिन्दगीमा पत्रकार हुन्छु भनेर कहिल्यै पनि सोचेका थिएनन् उनले । न कान्तिपुर छिर्छु भनेर सोचेका थिए, न त संयुक्त राष्ट्र संघमा जागिर पाउँछु भन्ने । न त नेपाल उद्योग वाणिज्य महासंघमा डिजी हुन्छु भन्ने सोचेका थिए ।

गुजारा चलाउन कार्यालय सहयोगीको जागिर भए पनि खान्छु भन्दै ‘अर्थको अर्थ कार्यक्रम’मा छिरेका अवस्थी उच्च नैतिकता र कडा मिहेनतका कारण केही वर्षमै स्थापित पत्रकार बन्न सफल भए ।

पछि, पत्रकारिताबाट अलग हुदै संयुक्त राष्ट्रसंघ गए । र, महासंघको महानिर्देशकसम्म बन्न सफल भएका छन् ।

गाउँबाट काठमाडौं सहर छिर्ने युवायुवतिलाई सफलता पाउन सहज छैन । अनेकन् अप्ठाराहरु भोग्नुपर्छ । काठमाडौं भारतको बम्बइजस्तै संघर्षकै सहर हो । संघर्षसँगै अवसर पनि देख्छन् उनी ।

‘१० वर्षको उमेरमा काठमाडौं छिरेका अवस्थीले पत्रकारितमा स्थापित हुँदै महासंघको महानिर्देशकसम्म आउँदा के कस्ता कठिनाइ भोगे ? अनि यी अवसरहरु पाए ?’ आज हामी तपाईंलाई उनको जीवनको अन्तरकथा सुनाउँदै छौं ।

परिवारमा वियोग, दार्चुलादेखि काठमाडौं

काठमाडौंको समय रत्नपार्कमा गुड्ने माइक्रोजस्तो दौडिन खोजे पनि दार्चुलाको गाउँ धेरैपछि थियो ।

वि. सं. २०४२ तिर स्कुल जाँदै गर्दा अवस्थीको हातमा काठको पाटी हुन्थ्यो । काठमाडौंमा जस्तो कापी बोक्ने चलन थिएन । उकालो ओरालो, जंगल काटेर जाँदा झन्डै डेढ घण्टा लाग्थ्यो स्कुल पुग्न । ५ वर्षको उमेरमै दैनिक करिब ३ घण्टा हिँडेर स्कुल आउने जाने गर्थे उनी ।

दार्चुलाले काठमाडौंसँग लय समात्न नसके पनि गाउँमा गोकर्णको परिवार हुनेखानेमै चिनिन्थ्यो । बुबा शिक्षक थिए । आमा घरको काम गर्थिन् । गोकर्णलाई नपुग्दो केही थिएन ।

पढाइ राम्रो थियो । दोस्रो हुनुपरेको थिएन ।

तर, बिडम्बना अवस्थी परिवारको त्यो सुख भगवानको नजरमा पर्यो ।

गोकर्ण ३ कक्षामा पढ्दै गर्दा बुबा भीरबाट लडेर ठूलो दुर्घटनामा पर्नुभयो । काठमाडौं ल्याउन ५ दिन लाग्यो ।

‘भाग्य भनौं ५ दिनसम्म उहाँ जिवित नै रहनु भयो,’ बाल्यकाल सम्झँदै अवस्थी भने, ‘होस थिएन । कोमाबाट होस आउन डेढ महिना लाग्यो ।’

उनी ५ कक्षा पुग्दा अर्को ठूलो वियोग खेप्नु पर्यो । अवस्थीले आमा गुमाए । जतिबेला उनी ९ वर्षका थिए ।

दुर्घटनामा परेका बुबाको राम्रोसँग होस आइसकेको थिएन । आमाले पनि छोडेर जानुभयो । त्यसपछि परिवार छिन्नभिन्न भयो ।

काकाकाकी काठमाडौंको मैतिदेवीमा बस्थे । हजुरबुबाले त्यहीबेला नै मैतिदेवीमा घर बनाएका थिए । एक्लो बच्चो गाउँमा कसरी बस्ला भनेर काकाकाकीले गोकर्णलाई काठमाडौं ल्याए ।

डिल्लीबजारस्थित विजय स्मारक स्कुल कक्षा ६ मा भर्ना हुँदा अवस्थी नेपाली बोल्न जान्दैनथे । उनको मातृभाषा डेटेली थियो ।

‘कति साथीहरुले म बोलेको सुनेर गिज्याउँथे,’ उनी सम्झन्छन् ।

साथीहरु हाँसे पनि उनका दुःखका दिनहरु शुरु भइसकेका थिए । दार्चुलाको विकट गाउँ भए पनि ‘राजकुमार’को जस्तो जिन्दगी थियो । गाउँघरको उकालोओरालो बाहेक अन्य दुःख थिएन । आमाबुबाले सबै पुर्याइदिएका थिए ।

ती रमाइला दिनहरु सानै उमेरमा एकपछि अर्को गर्दै गुमाउँदै गए । आमाबाबुको काखको न्यायो उनले पाएनन् । त्यो बेला उनले आफ्ना बाबुआमाको महत्व राम्रोसँग बुझ्ने मौका पाए ।

काठमाडौंका अप्ठारो दिनमा पनि पढाइ अब्बल नै थियो । कक्षा सातदेखि पहिलो र दोस्रो हुन थालिसकेका थिए । त्यो लय क्याम्पस पढ्दासम्म नै थियो ।

बानेश्वर क्याम्पसमा बीबीएसको रिजल्टपछि उत्तिर्ण भइहालियो भन्दै घरमा बसिरहेका थिए । लामो समय रिजल्ट लिन गएका थिएनन् ।

एक दिन क्याम्पसबाट फोन आयो, ‘तपाईंको २५ सय रुपैयाँ क्याम्पसमै छ है ।’

बल्ला पो थाहा पाए, उनीले कलेज टप गरेका रहेछन् ।

कार्यालय सहयोगीको जागिर खोज्दै जाँदा पत्रकार बनेपछि

बीबीएस तेस्रो वर्षमा पढ्दै गर्दा नेपाल टेलिभिजनमा अर्थको अर्थ कार्यक्रम चलाउने व्यक्ति हृयद गौतम सर हो भनेर एक साथीले सुनाए ।

उनै हृदय सरले विजय स्मारकमा गोकर्णलाई पढाएका थिए । पछि उनले बल्ला चाल पाए, नेपाल टेलिभजिनमा त्यही सम्बन्ध रहेछ र पो हृदय सरले उनीहरुलाई बाल कार्यक्रममा लागिरहन्थे ।
अवस्थी कामको खोजीमा थिए । पैसाको अत्यधिक अभाव थियो, जस्तो काम पनि गर्छु भन्ने उनलाई लागिरहेको थियो ।

‘अर्थको अर्थ’ कार्यक्रम आइतबार आउँछ भन्ने थाहा पाएपछि टिभी अगाडि बसे । कार्यक्रमको नम्बर टिपे । मनमनै टिपेको त्यो नम्बर अझै पनि उनलाई कन्ठै छ ।

अर्कोदिन उनले फोन गरे ।

‘हृदय सर म गोकर्ण अवस्थी हो,’ उनले भने, ‘तपाईंको विद्यार्थी एकपटक भेट्न पाइन्छ ?’
‘आउन त,’ गौतमले भने ।

अनामनगरस्थित हृदय सरको अफिसमा गए ।

‘के गर्दै छौ, के कामले आयौ त ?’ हृदय सरले भने ।

‘काम खोज्न आएको सर,’ अवस्थीले भने ।

‘के काम गर्छौं त ?’ हृदय सरले सोधे ।

‘मलाई पैसाको एकदमै खाँचो छ, कार्यालय सहयोगीको भए पनि गर्छु,’ गोकर्णले भने ।

‘तिमी मेरो विद्यार्थी हो । त्यो पनि स्कुलको फस्टब्वाई । कार्यालय सहयोगी नै त के बनाउनु । रिपोर्टिङ गर्न आउँछ ?,’ गौतमले भने ।

पत्रकारिताबारे उनलाई केही पनि थाहा थिएन । पत्रकार हुन्छन् र टेलिभिजनमा कार्यक्रम आउँछ भन्नेसम्म थाहा थियो ।

‘भोलिदेखि आऊ,’ हृदयले बोलाए । रिपोर्ट बनाएर प्रशारण भएमा पैसा दिने कुरा भयो ।

साप्ताहिक कार्यक्रम थियो । अवस्थी अरुसँगै कार्यक्रम सुटिङमा जान थाले ।

‘स्पेस’ पाउन भने निकै गाह्रो भयो । बल्लबल्ल स्टक मार्केट सम्बन्धि भिडियो रिपोर्ट बनाए । तर, २–३ महिनासम्म प्रसारण नै भएन ।

‘यहाँ पनि मेरो भविष्य छैन,’ गोकर्णलाई लाग्न थालिसकेको थियो ।

बीबीएस तेस्रो वर्षको परीक्षा आइरहेको थियो । उनी काममा जान छोडेर पढ्नमा व्यस्त हुनथाले ।
धरैपछि एकदिन हृदय सरको फोन आयो, ‘तिम्रो रिपोर्ट प्रसारण भयो नि ।’

‘ए, हो पैसा पाइन्छ,’ गोकर्णले भने ।

एक रिपोर्टको हजार रुपैयाँ रहेछ । उनी पैसा लिन गए ।

‘फुलटाइम गर महिनाको तलब २ हजार रुपैयाँ पाउँछौं,’ गौतमले अर्को प्रस्ताव राखे ।

काठमाडौंमा चिनेको ठूला मान्छे कोही थिएनन् । आम्दानीको स्रोत थिएन । जति तलब भएपनि उनी तयार थिए ।

काम शुरु गरे । तर, समस्या उही थियो रिपोर्ट बनाउन नै नपाइने । उनीभन्दा सिनियर धेरै थिए ।

त्यहीबीचमा वातावरण पत्रकार समूहले टेलिभिजन तालिमका लागि अवसर खोल्यो । उनले प्रवेश परीक्षा दिए । तर, नाम निस्किएन ।

यताउता भनेर तालिममा गए । भनसुन गरेर आएको भनेर खासै राम्रो रेस्पोन्स भने गरेनन् ।

तालिमको अन्तिम दिनसम्म आइपुग्दा भने सबैभन्दा राम्रो क्षमता विकास उनकै भयो । धेरैको स्क्रिप्ट, भ्वाइस ओभर पास भएन । गोकर्णले भने स्क्रिप्ट लेखे, भ्वाइस ओभर दिए, एडिटिङ पनि सिके । फाइनल रिपोर्ट बनाउँदासम्म यसले ‘गरिखान्छ’ भन्ने बनाइसकेका थिए ।

त्यसपछि ‘अर्थको अर्थ’को यात्रा अलि सहज भयो । क्यामरा, भिडियो, स्क्रिप्टको ज्ञान राम्रो भइसकेको थियो ।

त्योबेला ‘नेपाल वान’ भन्ने टेलिभिजन खुल्ने थाहा पाए । उनी नेपाल वानमा गए । तलबको कुरा भयो । दुई हजार खाइरहेको कति दिएला भनेर ७-८ हजार रुपैयाँ मागे । भारतीयले सञ्चालन गरेको टेलिभिजनमा राम्रै तलब दिने रहेछ । पछि टेलिभिजनको ज्ञान नै नभएकाहरुले पनि १५–१६ हजार रुपैयाँमा गए ।

नजान्ने मान्छेहरु धेरै भएपछि उनलाई त्यहाँ पनि चित्त बुझेन ।

यो पत्रकारिता गरेर खाइँदैन, अब लोकसेवा पढ्नुपर्छ भनेर लागे । परीक्षा दिएर प्रारम्भिक उत्तिर्ण भएर बसेका थिए ।

त्यहीबेला गौतमको फेरि फोन गरे- ‘तिमीले त्यहाँ जति खान्छौं मैले दिन्छु, आऊ ।’

अर्थको अर्थको यात्रा फेरि शुरु भयो । राम्रो काम गर्न थाले ।

पुतलीसडकमा अपोलो अस्पताल चलाउने बजाज भन्ने डाक्टरसँग गौतमको राम्रो चिनजान रहेछ ।

एक पार्टीमा गौतमले भने, ‘डाक्टरसाव तपार्ईंको विदेशमा पहुँच छ, गोकर्ण निकै सार्प छ । यसो पढ्ने व्यवस्था मिलाइदिनुस् न ।’

डाक्टरले उक्त कुरालाई गम्भिररुपमा लिएका रहेछन् । भारतीय दूतावासबाट फोन आयो, ‘तपाईंको नाम आएको छ, तपाईं एक पटक आउनुस् ।’

इन्डियन इस्टिच्युट अफ मास कम्युनिकेसनमा डिप्लोमा इन जर्नालिजममा पढ्ने अवसर थियो ।
लोकसेवाको जाँच दिने कि भारत गएर पत्रकारिता पढ्ने भन्ने ठूलो दोधार भयो उनलाई ।

‘सरकारी जागिरमा अल्झिनुभन्दा पढेर क्षमता विकास गर्नुपर्छ,’ उनलाई लाग्यो, ‘जीवनमा ठूलो अभाव थियो । त्यसलाई पूरा गर्न यताको पढाईले सहयोग गर्ला भन्ने लाग्यो ।’ त्योबेला सरकारी जागिरले खान पुग्दैन भन्ने चलन पनि थियो ।

सन् २००४ उनी भारत पढ्न गए । पढाई राम्रो थियो । चार महिनाको पढाई सकेर आउँदा अवार्ड पनि ल्याए ।

यसले उनलाई ‘अब पत्रकारिता’ गर्न सक्छु भन्ने बनायो ।

‘यसले राम्रै ठाउँमा पुयाउँछ भन्ने कन्फिडेन्ट आयो,’ गोकर्ण सुनाउँछन् ।

सेजन र डब्लुटीओ

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आफ्नो पत्रकारिता करिअरमा ठूलो सहयोग गरेको ठान्छन् उनी । त्योबेला किरण नेपाल, स्व. सञ्जय न्यौपाने सेजनको नेतृत्वमा पुग्न लागेका थिए ।

‘उहाँहरु पोजिटिभ माइन्ड भएका पत्रकार लाग्थ्यो मलाई,’ उनी भन्छन्, ‘मलाई पत्रकारितामा स्थापित गराउन उहाँहरुको महत्वपूर्ण योगदान छ ।’

विं. स. २०६१ मा सेजनमा सदस्यमा हारेको गोकर्णले अर्कोपाली अत्याधिक भोट ल्याएर जिते । त्यसपछि निर्विरोध उपाध्यक्ष र पछि अध्यक्षमा पनि निर्वाचित भए ।

जसले गोकर्णको पत्रकारितालाई उकास्न धेरै सहयोग गर्यो ।

उनलाई पत्रकारितामा स्थापित हुने अर्को संस्था हो विश्व व्यापार संगठन (डब्लुटीओ) । नेपालले सन् २००४ मा डब्लुटीओको सदस्यता लिँदै थियो । त्यसका लागि तयारी बैठकहरु हुन्थे ।

‘आर्थिक पत्रकारितामा पनि विशेष क्षेत्र रोज्नुपर्छ भन्ने मलाई थियो,’ उनी भन्छन्, ‘डब्लुटीओ नयाँ विषय थियो ।’

डब्लुटीओ यस्तो संस्था हो, जसको रिपोर्टिङ गर्न व्यापार, अन्तर्राष्ट्रिय कानुन, विश्व व्यापारको ट्रेन्ड बुझ्नु पर्छ । सेजनमार्फत् डब्लुटीओको तालिम लिए र तालिमपछि डब्लुटीओको रिपोर्टिङमा लागे उनी ।

जसको नेतृत्व साउतीले गर्थ्यो । वाणिज्य मन्त्रालय त भइहाल्यो । व्यापार र कानुन निरश विषय भए पनि नेपालको लागि भने नयाँ थियो । यो सम्बन्धि जान्ने पत्रकारको कमी थियो ।

‘धेरैले तालिम लिएपछि यसको रिपोर्टिङ निरन्तता दिने हामी ३/४ जनामात्र थियौं,’ गोकर्ण भन्छन्, ‘धेरैले फलो गरेनन् किन भने त्यो निरश विषय थियो ।’

त्योबेला डब्लुटीओ बारे जान्ने पत्रकार को हो भनेर खोजी भएछ ।

सेजनको नेतृत्वमा थिए किरण नेपाल । एकदिन किरण नेपाल भने, ‘भारतमा डब्लुटीओको तालिम छ । मसँग जाने हो ?’

नजाने त कुरै थिए । त्यो तालिम पनि पत्रकारितामा ‘फ्रुटफुल’ बन्यो । विदेश घुम्ने अवसर पाउन थालिसकेका थिए । सेजनबाट तालिमको लागि लण्डन गए । चीन, रसियामा पनि गए ।

सन् २००३ देखि सन् २००५ सम्म व्यापार सम्बन्धी धेरै रिपोर्टिङ गरे । यस विषयमा जान्ने पत्रकार भनेर स्थापित भइसकेका थिए ।

‘मेरो ट्रेड रिपोर्टिङमा सेजनसँगै रत्नाकर अधिकारी, पोषराज पाण्डेको ठूलो योगदान छ,’ उनी सम्झन चाहन्छन्, ‘आर्थिक पत्रकारिताको सीप सिकाउने देन हृयद गौतमलाई जान्छ ।’

कान्तिपुर प्रवेश

अवस्थी आर्थिक पत्रकारिता रिपोर्टिङमा अब्बल भइसकेका थिए । २०५८ सालमा अर्थको अर्थमा जोडिएर २०६५ सालसम्म आइपुग्दा आफ्नो ‘लेभल’ उचाइमा पुर्याएका थिए । उनको छवी फराकिलो भइसकेको थियो ।

‘अर्थको अर्थ’बाट अलि फराकिलो ठाउँमा जान चाहन्थे उनी ।

यता नेपालको सबैभन्दा ठूलो मिडिया आउस कान्तिपुर फुट्यो । कान्तिपुरका पुरानो सञ्चालक विनोद ज्ञवाली टिमसहित निस्किएपछि कान्तिपुरको न्युज रुम ‘खाली’ भयो ।

नेपाल साप्ताहिकमा पनि पत्रकारको अभाव थियो । नेपाल म्यागेजिनको सम्पादक थिए प्रशान्त अर्याल । अर्यालसँग अवस्थीको कुरा भइरहेको थियो ।

कान्तिपुर दैनिकमा पनि आर्थिक पत्रकारको खोजिभइरहेको थियो । ‘प्रशान्त दाइले कान्तिपुरमा सिफारिस गरिदिनु भयो,’ गोकर्ण भन्छन्, ‘मेरा लागि नेपाल म्यागेजिनभन्दा कान्तिपुर दैनिकमा अझ राम्रो अवसर हुन्छ भन्ने उहाँको सकारात्मक सोच थियो ।’

वि. सं. २०६५ मंसिरमा कान्तिपुर प्रवेश गरे । ‘तिमी अब यहीबाट रिटायर्ड हुनेगरी काम गर्नुपर्छ है,’ पहिलो मिटिङमा कान्तिपुर सञ्चालक कैलाश शिरोहियाले भने ।

कान्तिपुर लेखेको तीनकुनेको बिल्डिङमा आकर्षण थियो । त्योबेला पत्रकारिता गर्ने मान्छेहरुका लागि त्यहाँ छिर्नु सपना पूरा भएजस्तै हुन्थ्यो । उनलाई पनि त्यस्तै भयो ।

नायक निखिल उप्रेतीले हाम फालेपछि त पत्रकारले मात्र होइन, सर्वसाधरणबीच यो बिल्डिङको चर्चा थियो ।

‘मेरा लागि त्यो बिल्डिङ पत्रकारिताको मक्काजस्तै थियो,’ उनी भन्छन् ।

कान्तिपुर छिरेको दुई वर्षमै ‘बिजनेस व्युरो चिफ’ भए । अलिपछि बिजनेश एडिटर । कान्तिपुर एक खुला किताब थियो । त्यहाँबाट सिक्ने कुरा धेरै थिए । न्युज रुमको ‘कल्चर’ सिके ।

‘सुधिर शर्माको कुशल नेतृत्वमा ओपन न्युज रुम थियो,’ गोकर्ण भन्छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्ने अवसर मिल्यो ।’

मुलुकको अर्थतन्त्रको बारेमा बुझ्न सहयोग गर्यो । अर्थको अर्थमा सफ्ट न्युज सिकेका उनले कान्तिपुरमा ‘हार्ड हिटिङ’ लेख्न सिके । टिम बनाउने र व्यवस्थापनमा सहयोग गर्यो उनलाई ।

केही पत्रकारले आफूले पत्रकारिताको ठूलो क्रेडिट लिन खोज्छन् । केहीले हाम्रो काममात्रै हो भन्छन् । यी दुबै विचारको बीचबाट पत्रकारलाई मूल्यांकन गर्न खोज्छन् उनी ।

पत्रकार ठूलो परिवर्तनको सम्भावक पनि होइन । तर, उनीहरुको कामले समाजमा केही हुँदैन भन्ने पनि होइन ।

पत्रकार भनेको यस्तो सेल्फ रेगुरेलेट पेशा हो जसले विवेक छोड्यो भने समाज बिगार्न प्रयाप्त हुन्छ । सहीरुपमा पत्रकारित गर्न सकियो भने केही परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

चर्चा बटुल्नेमात्र समाचार खोज्न थाल्यो भने समस्या पनि आउन सक्छ । जुन पछिल्लो समयका देखिएको उनी बताउँछन् ।

‘उत्कृष्ट काम कति गरियो मूल्यांकन भएकै होला तर जति गरियो इमानदारिताका साथ गरियो,’ उनले आफ्नो पत्रकारिताबारे भने, ‘कति गजबका स्टोरी भए, केही मिस्टेक पनि भए होलान् ।’

तर, आम पाठकले आफूलाई सहर्ष स्वीकार गरेको उनी ठान्छन् ।

‘न्युजरुम पोलिटिक्स भोगियो र देखियो पनि,’ उनी हाँस्दै भन्छन् । कान्तिपुरमा एक दशक काम गरे ।

कान्तिपुरमा काम गर्दागर्दै प्रतिक्षा दुलालसँग बिबाह बन्धनमा बाँधिए । अहिले अवस्थीकी एक छोरी छन् ।

पत्रकारिता छाडेर संयुक्त राष्ट्र संघ

आर्थिक पत्रकारितमा प्रखर पत्रकार भनेर नाम बनाइसकेका थिए अवस्थीले । बेलाबेलामा विभिन्न संघसंस्थाबाट नयाँ अफर आउँथे ।

संयुक्त राष्ट्र संघ, नेपालबाट पनि ‘दीगो विकास लक्ष्य’मा काम गर्ने अफर आएको थियो ।

‘पत्रकारितामा डेढ दशक काम गरिसकेपछि अबको बाटो के ?,’ उनी हेरिरहेका थिए । व्युरो चिफबाट माथि सम्पादक थियो । आर्थिक पत्रकारिता गरेको व्यक्ति सम्पादक बनेको कमै छ । ‘त्यो सम्भावना धेरै कम थियो,’ उनी भन्छन्, ‘त्यसपछिको विकल्प कि त्यसैमा रमाउन कि छोड्ने थियो ।’

त्यसैबीच व्यवस्थापन परिवर्तन भयो । उनले पनि कान्तिपुर छोडे र युएनमा छिरे ।

‘सस्टेनएवल डेभलपमेन्ट गोल्स एडभाइजर’को रुपमा काम गर्न थाले ।

‘त्यसले राम्रो एक्सपोजर दियो,’ उनी भन्छन्, ‘नेपाली पनि बोल्न नसक्ने मान्छे नेपाली सिक्दै अंग्रेजीमा काम गर्न सक्ने भएँ ।’

युएनडीपीमा २ वर्ष बढी काम गरे ।

यता युएनको जागिरको समय सकिँदै गर्दा मुलुकको सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट ‘अफर’ आयो ।

शेखर गोल्छ वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बन्दै थिए । गोल्छबाट अफर आयो । निजी क्षेत्रमा सँधै आदर गर्ने व्यक्तिबाट आएको अफरसँगै उप-महानिर्देशक बनेर महासंघ छिरे ।

आर्थिक पत्रकारिताको लामो अनुभव र निजी क्षेत्रसँग सँगसँगै काम गरेको केही वर्षमा उनको एउटै अनुभव हो, ‘संसारका कुनै पनि देशको विकासको लागि निजीक्षेत्र महत्वपूर्ण हुन्छ ।’ नेपालमा ७७ प्रतिशतको पुँजी निर्माण निजी क्षेत्रले गरिरहेको छ । सरकारपछिको सबैभन्दा ठूलो नेटवर्क भएको संस्था हो यो ।

जसरी यस समाजका अन्य क्षेत्रमा समस्या छन्, त्यसैगरी निजी क्षेत्रमा केही होलान् । तर, पुँजी निर्माण गर्ने क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेरेर गाली गर्नु हुँदैन भन्छन् उनी ।

नेपालमा हरेक मान्छे धनी बन्न चाहन्छ । तर, धनीमान्छे देख्दा ‘घृणा’ गर्छ । किनभने सबैलाई धनी बन्ने अवसर सिर्जना भएकै छैनन् ।

एफएनसीसीआईमा बसेर काम गर्नु भनेको सबैलाई धनी बन्ने अवसर सिर्जना गर्न हो । व्यवसायी वातावरण बनाउन पैरवी, अध्ययन, अनुसन्धान सबै गर्ने हो ।

‘महानिर्देशक भएपछि जिम्मेवारी बोध अलि बढी भएको छ,’ उनी भन्छन्, ‘यहाँ बसेर धेरै काम गर्नुपर्छ ।’

महासंघले तत्काल मुख्य तीनवटा काम गर्नुपर्छ भन्ने उनको धारणा छ ।

पहिलो, महासंघले ’थिंक ट्यांक’को रुपमा काम गर्नुपर्छ । उसले गर्ने काम भने अध्ययन अनुसन्धान, छलफल, कार्यक्रम, सम्मेलन हुन् ।

‘यसमा अझै बढी मेहनत चाहिएको छ,’ उनी भन्छन् ।

दोस्रो, ‘लविङ’ । महासंघले निजी क्षेत्रका विभिन्न विषयहरुलाई लविङ गर्नुपर्छ । निजी क्षेत्रका विषयहरुलाई नीति निर्माणमा ‘फिट’ गराउन सक्नुपर्छ ।

तेस्रो, चेम्बरहरुको क्षमता विकास । एफएनसीसीआइभित्र ११८ वटा जिल्लानगरहरु छन् । प्रदेश महासंघ छन् । जिल्ला र वस्तुगत चेम्बरको ‘इन्गेजमेन्ट’ बढाउने, यिनीहरुलाई बलियो बनाउने र उद्यमशिल विकास गर्ने महासंघका मुख्य काम हो ।

महासंघमा महानिर्देशक भएर काम गर्दै गर्दा चुनौति पनि थपिएका छन् । महासंघको ठूलो नेटवर्क छ । त्यसको मागलाई पुरा गर्न सक्नुपर्छ ।

‘प्रशासन, फाइनान्सदेखि सबै चुस्तदुरुस्त राख्न सक्नुपर्छ,’ उनी भन्छने्, ‘मेरो नैतिक पृष्ठभूमिलाई यथावत राख्दै अगाडि बढ्नु पर्नेछ ।’

सफल शिक्षक

सन् २००९ मा पोखरा विश्व विद्यालयमा ‘इन्टरनेसन विजनेस’को नयाँ कोर्षको पढाइ शुरु हुँदै थियो ।

गाकर्णले चिनेका एक शिक्षक शिवराज भट्टलाई अफर उक्त कोर्ष पढाउन अफर आएछ ।

‘मैले फुलटाइम पढान भ्याउँदिन तर तिमीहरुलाई एक राम्रो शिक्षक सिफारिस गरिदिन्छु,’ भट्टले गोकर्णको नाम टिपाइदिए ।

अध्यापनको अनुभव नै नभएका उनी एकै पटक एमबीएको चौथो सेमेस्टर पढाउन एपेक्स कलेज गए । पहिलो ब्याज ठिकै भयो । दोस्रोमा भने निकै राम्रो प्रतिक्रिया पाए ।

पत्रकारिता गर्दै गर्दा अन्तर्राष्ट्रिय विजनेश कानुनहरु बुझेका थिए उनले । त्यसैमाथि दैनिक समाचारका अपडेट सहित पढाउँथे उनी ।

यस्तो शैलीले पढाईको स्तर धेरै राम्रो भयो । उनी बजारमा धेरै ‘डिमान्ड’ भएका शिक्षकमा गनिए ।

विहान ६ बजे घरबाट निस्केपछि कुनै सयम ४ वटा कलेज पढाउँथे । एपेक्स, एस, किङ्स र सनवेमा बीबीए, एमबीएलाई पढाए ।

१३ वर्षदेखि पढाइरहेका गोकर्ण अहिले पनि एपेक्स कलेजमा पढाइरहेका छन् । ‘शिक्षक हुनुपनि डब्लुटीओको देन हो,’ उनी भन्छन् ।

अहिले बजारमा आफूले बढाएका २०००/२५०० जति विद्यार्थी भएको सुनाउँछन् उनी ।

‘जे होस् बैंकतिर वा कुनै कर्पोरेट हाउसतिर जाँदा लाइन बस्नुपर्दैन,’ उनी भन्छन्, ‘मेरा विद्यार्थीहरु ती ठाउँमा काम गर्छन् । गोकर्ण सर भन्दै सहजीकरण गर्न आइपुग्छन् । त्यो देख्दा निकै खुसी लाग्छ ।’

‘व्यक्तिगत जीवनमा केही दुख पाए पनि व्यवसायीक करियरमा धेरै दुख पाइँन,’ उनी भन्छन्, ‘यस मामिलामा भाग्यमानी ठान्छु ।’

४१ वर्षका अवस्थी आफूलाई सफल व्यक्ति ठान्छन् । महासंघ छाडेपछि के बन्ने भन्ने सोचेका छैनन् उनले ।

‘आजसम्म मैले जे जति अवसरहरु प्राप्त गरेँ, ती कुनैपनि योजना बनाएर प्राप्त गरेको होइन,’ अवस्थी भन्छन्, ‘भोलि महासंघ छाडेपछि केही न केही काम पाइहाल्छु, जे पाउँछु त्यो भूमिका इमानदारीताकासाथ निर्वाह गर्नेछु ।’

उनको सफलताको एउटै शुत्र हो, ‘नैतिकवान र कडा मेहनत’ ।


सन्तोष न्यौपाने