लगानीकर्ताको मृत्यू, घरायसी नामसारी र अंशबण्डाबाट प्राप्त सेयर हस्तान्तरण गर्न के गर्नुपर्छ ?



काठमाडौं । पछिल्ला तीन वर्षयता सेयर बजारमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै बजारको विकास पनि भइरहेको छ ।

बजार बढ्दै जाँदा यो अवधिमा आउने प्राकृतिक घटना, व्यवहारिक घटनाक्रमका बारेमा पनि आम लगानीकर्तालाई चासो हुने गरेको छ । आज हामीले तपाईंहरुको मनमा लागेको जिज्ञासा मेटाउने प्रयास गरेका छौं । हामी यहाँ घरायसी नामसारी, मृत्यू नामसारी र अंशबण्डाबाट प्राप्त धितोपत्रको हस्तान्तरणका बारेमा जानकारी गराउँदै छौं ।

कुनै पनि सेयर लगानीकर्ताले घरायसी नामसारी, मृत्यू नामसारी र अंशबण्डाबाट प्राप्त धितोपत्रको हस्तान्तरण गर्न चाहेमा विभिन्न प्रकृया अपनाउनु पर्ने हुन्छ ।

सामान्ययता एकाघर परिवारका सदस्यहरुबीच एकआपसमा भएको धितोपत्रको बाँडफाँटलाई अंशबण्डको रुपमा लिनुपर्छ ।

घरायसी नामसारी भन्नाले एकाघर परिवारका सदस्यहरुमध्ये कुनै पनि सदस्यको नाममा रहेको धितोपत्र अन्य सदस्यको नाममा गरिने नामसारीलाई लिन सकिन्छ ।

मृत्यू नामसारी भन्नाले धितोपत्रको हकवालाको मृत्यू भएमा एकाघर परिवारका हकवाला व्यक्तिको नाममा गरिने धितोपत्रको नामसारीलाई सम्झने गरिएको छ ।

घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा धितोपत्रधनीको मृत्यूपछि एकाघरको परिवारमा सेयर नामसारि गर्नका लागि हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संशोधन) विनीयमावली २०७५ अनुसारको फारम भरी धितोपत्र नामसारी हुने व्यक्तिको विवरणसहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य आवश्यक पर्ने शूल्कसहित निवेदन दिनुपर्छ ।

आवश्यक पर्ने कागजात सहित निवेदकले दिएको निवेदन तथा संलग्न कागजात रुजु गरी निक्षेप सदस्य (डिपी) ले सिडिएससीको प्रणालीमा प्रविष्ट गर्ने गर्दछ । उपलब्ध हुने विवरणसहित डिपी सदस्यले निवेदन तथा आवश्यक सम्पूर्ण कागजातसहित सिडिएससीमा पेश गर्नुपर्छ ।

घरायसी नामसारी, मृत्यू नामसारी र अंशबण्डाबाट प्राप्त धितोपत्रको हस्तान्तरण गर्न परेमा दुबै पक्षबीच खरिद बिक्री भएको तथा लेनदेन भएमा पुष्टयाईं गर्ने कागजात तथा सम्बन्धित निकायले खोजेको कागजात अनिवार्य आवश्यक छ ।

अंशबन्डाबाट प्राप्त धितोपत्रको हस्तान्तरणका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति, मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपी र अन्य माग गरिए अनुसारका कागजात २ प्रति निक्षेप सदस्य र सिडिएससीमा पेश गर्नुपर्ने छ ।

धितोपत्रधनीको मृत्यू भएमा फारम भरी मृत्यू भएको धितोपत्रधनीको नाममा रहेको धितोपत्रको हितग्राही खाताको विवरण तथा आफूले पाउने धितोपत्रको विवरणसहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यसमक्ष निवेदन दिनुपर्ने छ ।

त्यसपछि सिडिएससीले वेवसाइटमा ३५ दिने सूचना प्रकाशित गर्छ । ३५ दिने सूचना प्रकाशनका लागि प्रत्येक सेयर रजिष्टार र निक्षेप सदस्यलाई सिडिएससीको वेब साइटमा लगिङ प्रदान गरिनेछ ।

अपलोड भएका सूचनाहरु सिडिएससीका वेब साइटको इन्भेष्टर सेक्सनको डेथ नोटिस सब सेक्सनमा गएर हेर्न सकिने छ । उक्त सूचना ३५ दिनसम्म रहनेछ । निक्षेप सदस्यबाट प्राप्त हुने निवेदन र कागजातको आवश्यक जाँचबुझ गर्छ ।

धितोपत्रधनीको मृत्यूपश्चात् सम्बन्धित हकवालाले हस्तान्तरण सम्बन्धित हकवालाले हस्तान्तरण गरिलिने धितोपत्र भौतिकरुपमा रहेको भएमा प्रत्येक सूचीकृत संस्थाको धितोपत्रको हस्तान्तरणका लागि धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली बमोजिम फारम भरी मृत्यूभएको धितोपत्रको नाममा रहेको धितोपत्रको प्रमाणपत्रसहित हकवालाको हितग्राही खाता रहेको निक्षेप सदस्य समक्ष निवेदन दिनुपर्ने छ ।

धितोपत्र नामसारी गर्नका लागि पनि भौतिक भए ३/३ प्रति, अभौतिक भए २/२ प्रति मृत्यू दर्ताको प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकता प्रमाणित प्रतिलिपि, हकवालाको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र, अन्य हकवालाको मन्जुरीनामा आवश्यक पर्छ । उक्त कागजातमध्ये एकप्रति निक्षेप सदस्य, एकप्रति सिडिएससी र भौतिक निक्षेपको हकमा एकप्रति निक्षेप सदस्यका साथै सेयर रजिष्टारमा पनि पेश गर्नुपर्ने छ ।

एकाघर परिवार भित्रका तीन पुस्ताभित्र घरायसी नामसारी गनर्नका लागि निक्षेप सदस्य र सिडिएससीका लागि एक/एक प्रति सेयर नामसारी गरी लिने तथा सेयर नामसारी गरी दिने दुवै निवेदन, तीन पुस्ताभित्रको परिवार देखिने कागजात, सेयर लिने तथा दिने दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सेयर सक्कल प्रमाणपत्र र सेयर लिने दिने बीचको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ ।

कति लाग्छ शुल्क ?

धितोपत्र हस्तान्तरण गर्न चाहने व्यक्तिले निवेदन दिने निक्षेप सदस्यलाई आवश्यक दस्तुर बुझाउनुपर्छ । घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि धितोपत्रको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम दुई सय रुपैयाँ शूल्क लाग्छ ।

धितोपत्र धनीको मृत्यू भएमा हकवालामा सर्ने धितोपत्रको हक हस्तान्तरणका लागि धितोपत्र चुक्ता रकमका आधारमा निक्षेप सदस्यले लिने शूल्क निर्धारण गरिएको छ । जसमा एकलाख रुपैयाँसम्मको धितोपत्र हस्तान्तरण गर्नका लागि ०.५ प्रतिशत वा न्यूनतम २५ रुपैयाँ बुझाउनुपर्छ ।

एक लाखदेखि पाँच लाखसम्म ०.२ प्रतिशत वा न्यूनतम ५०० रुपैयाँ, पाँच लाखदेखि १० लाख रुपैयाँसम्मका लागि ०.१५ प्रतिशत वा न्यूनतम एकहजार रुपैयाँसम्म शूल्क लाग्छ ।

यस्तै १० लाखभन्दामाथि चुक्ता रकमका लागि मृत्यू नामसारी गर्दा ०.१ प्रतिशत वा न्यूनतम एकहजार ५०० रुपैयाँ हकहस्तान्तरण शूल्कवापत निक्षेप सदस्यलाई बुझाउनु पर्छ । निक्षेप सदस्यले लिएको शुल्कको ६० प्रतिशत सिडिएससीको भागमा जान्छ ।


क्लिकमान्डु