आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८९% राजस्व, यो वर्ष लक्ष्य पुर्याउन ३०% बढी राजस्व संकलन हुनु पर्ने



काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । असारमा ७३ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा समेत विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन् ।

विभागले लक्ष्यभन्दा ५४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको हो । विभागले ५ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा असार मसान्त सम्म ४ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेकाे छ । जुन लक्ष्यको ८९ प्रतिशत हुन्छ ।

विभाग अन्तर्गतको कार्यालयमा धेरै राजस्व संकलन गर्ने ठूला करदाता कार्यालयले लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन गरेपछि विभागको समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

ठूला करदाता कार्यालयलाई २ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा असार मसान्तसम्म १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको हो ।

यस्तै असारमा समेत ठूला करदाता कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन् । ठूला करदातालाई असारमा ३६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ३२ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारी अघिल्लो अर्थिक वर्ष भन्दा राजस्व लक्ष्यको बृद्धिदर ४० प्रतिशत बढी भएकाले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेकाे बताउँछन् ।

‘हामीले असारमा मात्रै गत वर्ष भन्दा ५ अर्ब ५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेका छौँ,’ तिवारीले भने,‘सरकारको राजस्व संकलनमा कोरोना महामारीको असर देखिएको छैन् । तर, गत आर्थिक वर्षमा देखिएको तरलता अभाव, आयात प्रतिबन्ध र बैंक वित्तिय संस्थाको नाेक्सान प्रोभिजन बढ्दा लक्ष्य अनुसार राजस्व संकलन नभएको हो ।’

विभागले गत आर्थिक वर्षको जेठ मसान्तसम्म ४ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको ४ खर्ब १० अर्ब रुपैयाँ संकलन गरेको थियो । गत आर्थिक वर्षको साउन देखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको विभागले समग्र राजस्व लक्ष्य पुरा गर्न नसकेको हो ।

गत वर्ष नै लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

विभागले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न गत आर्थिक वर्षमा संकलन भएको राजस्व भन्दा ३० प्रतिशत बढी राजस्व संकलन गर्नु पर्छ ।

यो वर्ष बैंक वित्तिय संस्थाको नाफा घटेकाले लक्ष्य अनुसार आयकर संकलन हुन नसकेको अवस्थामा आगामी वर्ष समेत बैंक वित्तिय संस्थाको नोक्सानी बढ्ने हुँदा लक्ष्य अनुसार राजस्व संकलन हुने सम्भावना नरहेको अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

‘व्यवसायको बृद्धिदरका आधारमा राजस्व लक्ष्य निर्धारण भएको होइन्,’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन्,‘सरकारले बजेटको आकार बढाएको अधारमा राजस्व लक्ष्य बढाएको हो । विगतका वर्षहरु जस्तै यो वर्षपनि १८/१९ प्रतिशत भन्दा बढी राजस्व संकलन हुन सम्भव छैन् ।’


क्लिकमान्डु