भन्सार विभागले उठायो लक्ष्यको ९६% राजस्व, यो वर्ष लक्ष्य पुर्याउन ३२% को बृद्धि आवश्यक



काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले असारमा मात्रै ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्दासमेत लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन् ।

विभागले गत आर्थिक वर्षमा ५ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, २७ प्रतिशतले आयात बढ्दा समेत लक्ष्यको ९६ प्रतिशतले मात्रै राजस्व संकलन भएको हो ।

विभागले गत आर्थिक वर्षको जेठ मसान्त सम्म ४ खर्ब ६८ अर्ब राजस्व संकलन गरेको थियो । विभागले जेठमा ४३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागले चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न गत आर्थिक वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन हुनु पर्छ । जुन सम्भव नभएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सबैभन्दा बढी राजस्व संकलन हुने गाडी, १५० सिसिभन्दा बढी क्षमताको मोटरसाइकल, ३०० अमेरिकी डलर भन्दा महँगो मोबाइल फोन लगायतका १० बस्तु आयात गर्न भदौ १४ गते सम्म प्रतिबन्ध लगाएको छ ।

आयात प्रतिबन्ध लगाउने गरि निर्णय भएको अवस्थामा लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्ने भन्सार विभागका अधिकारी बताउँछन् ।

‘लक्ष्य अनुसार राजस्व संकलन गर्न भन्दै आयात खुल्ला गर्ने हो भने विदेशी मुद्राको सञ्चिति घट्दै जान्छ,’ भन्सार विभागका एक अधिकारी भन्छन्, ‘आजका दिनमा लक्ष्यअनुसार राजस्व संकलन नहुँदा खासै फरक पर्दैन तर विदेशी मुद्राको सञ्चिति रित्तियो भने अत्याअवश्यक बस्तु समेत आयात गर्न सकिँदैन ।’

यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन नहुने हुँदा सरकारले चालु खर्च घटाउन जोड दिनु पर्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु