फेवातालका डुंगा चालक र यात्रुको पहिलोपटक बिमा

63
Shares

कास्की । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुंगा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ । फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुको बिमा गरेको हो ।

संगठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बिमा गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत एक लाख रुपैयाँ प्रदान गरिने छ भने मानवीय क्षति भएमा परिवारले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सङ्गठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने अध्यक्ष गिरीले जानकारी दिए । ‘बिमाका लागि पहिलादेखिनै प्रयास गरेका थियौँ तर सफल हुन सकिएको थिएन । सुरक्षाका दृष्टिकोणले बिमा अत्यावश्यक देखिएकाले पहिलोपटक यो व्यवस्था सुरु गरेका छौँ । यसबाट डुंगा चालक तथा सवार यात्रुले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ भने यसको सन्देशले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ’, उनले भने ।

फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन् । बिमा गरेसँगै डुंगा चालकले सुरक्षाको महसुस भएको प्रतिक्रिया दिएका छन् । फेवातालका विभिन्न आठ वटा डुंगा स्टेसनबाट ८४७ डुंगा सञ्चालन भइरहेका छन् । यहाँ झण्डै ३५० जना डुंगा चालक छन् ।

पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले पोखरा घुम्न आउने सबै जना पर्यटक फेवाताल पुग्ने गर्दछन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका कारण पनि डुंगा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैँजस्तो घुइँचो हुने गर्दछ ।

Skip This