
शिक्षा क्षेत्रमा २३ वर्षभन्दा अनवरत अनुभव, भारत र नेपालका प्रतिष्ठित शिक्षण संस्थाहरूको नेतृत्व र आजको शिक्षा भोलिको विश्व समुदायको हितका लागि हुनुपर्छ भन्ने दृढ संकल्पका पर्याय हुन्, डा. पिटर लेप्चा ।
सन् १९७० मा कालिम्पोङमा जन्मिएर पुणे, चेन्नई, दिल्ली र सिक्किम जस्ता विभिन्न शैक्षिक केन्द्रहरूबाट उच्च शिक्षा हासिल गरेका डा. लेप्चाले युनिभर्सिटी अफ सेन्ट्रल अमेरिकाबाट मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका छन् । उनको शैक्षिक यात्रा जति फराकिलो छ, उनको कार्य अनुभव त्यति नै गहन छ ।
नेपाली शिक्षा जगतमा डा. लेप्चाको नाम सुन्नेबित्तिकै धेरैले सन् २००४ देखि २००७ सम्म ‘सेन्ट जेभियर्स स्कुल, गोदावरी’मा उनले निभाएको प्रिन्सिपलको भूमिकालाई सम्झिन्छन् । त्यसपछि करिब दुई दशक भारतको प्रसिद्ध ‘सेन्ट पल्स स्कुल, दार्जिलिङ’ र ‘नारायणा ग्रुप अफ स्कुल’ जस्ता संस्थाहरूमा रणनीतिक नेतृत्व सम्हालेर उनी अहिले पुनः नेपालको शैक्षिकस्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ फर्केका छन् ।
डा. लेप्चा हाल सीजी एजुकेशनको ‘क्लस्टर अपरेशन हेड’ का रूपमा कार्यरत छन् । चौधरी ग्रुपअन्तर्गत उनी २१औं शताब्दीको माग अनुसारको पाठ्यक्रम, पूर्वाधार विकास र ब्रान्डिङमा क्रियाशील छन् । प्रस्तुत छ, नेपाल र भारतको शिक्षा प्रणालीबीचको भिन्नता, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको ‘नलेज भिलेज’ सपना र नेपालको शैक्षिक भविष्यबारे डा. लेप्चासँग क्लिकमान्डुका रोविन पौडेलले गरेको विशेष कुराकानी ।
तपाईं लामो समय नेपालको शिक्षा क्षेत्रमा काम गरेर २० वर्षपछि फेरि फर्किनुभएको छ । तपाईंले पहिले र अहिलेको नेपालको शिक्षा प्रणालीमा कस्तो परिवर्तन र कस्तो गुणस्तर देख्नुहुन्छ ?
नेपाल एउटा सानो देश भए पनि यहाँ शिक्षा क्षेत्रमा धेरै विकास भएको मैले पाएको छु । २० वर्षअघिको मेरो अनुभव अलि भिन्नै थियो, त्यतिबेला शिक्षा क्षेत्रले त्यति प्रगति गरिसकेको थिएन । सहरका स्कुलहरूमा पनि अहिलेको जस्तो स्तर थिएन । तर आज २० वर्षपछि फर्किंदा धेरै प्रगति भएको देख्छु । धेरै स्कुलहरूले गुणस्तरीय शिक्षा दिइरहेका छन् । तर एउटा कुरा के भन्न मन लाग्छ भने सहर मात्र देश होइन । सहरमा प्रगति हुनु राम्रो हो, तर ग्रामीण क्षेत्रमा सहरमा जस्तो विकास हुन सकेको छैन जस्तो लाग्छ । शिक्षा मन्त्रालयमा सकारात्मक सोच राख्ने मान्छेहरू हुनुहुन्छ, जसले देशको विकासबारे सोचिरहनुभएको छ । यदि हामीले ग्रामीण क्षेत्रलाई पनि समेटेर अगाडि बढ्यौँ भने भोलि नेपाल शिक्षा क्षेत्रमा अझ विकसित भएर जान्छ भन्ने मेरो विश्वास छ ।
तपाईंले २० वर्ष भारतका विभिन्न स्कुलहरूमा काम गर्नुभयो । भारत र नेपालको शिक्षा प्रणालीलाई तुलना गर्दा के भिन्नता पाउनुहुन्छ ? के नेपालको शिक्षा प्रणाली विश्वबजारमा प्रतिस्पर्धी छ ?
यी दुई देशलाई तुलना गर्दा धेरै कुराहरू हेर्नुपर्ने हुन्छ । भारत एउटा ठूलो देश हो र त्यहाँको शिक्षाको इतिहास वैदिक कालदेखि नै विकसित हुँदै आएको छ । जनसंख्याको हिसाबले पनि भारत निकै ठूलो छ । आज भारतमा शिक्षा क्षेत्रमा धेरै प्रगति भएको छ । त्यहाँ लाखौं विद्यार्थी सहभागी हुने मेडिकल र इन्जिनियरिङ परीक्षाहरू निरन्तर भइरहेका हुन्छन् । यसले त्यहाँको शिक्षाप्रतिको लगाव देखाउँछ । प्राविधिक कलेजहरूले त्यहाँ धेरै प्रगति गरेका छन् । नेपालमा भने आफ्नै आर्थिक अवस्था, प्रतिव्यक्ति आम्दानी र सुशासनका कारण त्यति ठूलो लगानी हुन सकेको छैन जस्तो लाग्छ । यहाँ अझै पनि धेरैजसो औपचारिक र परम्परागत शिक्षा प्रणाली नै चलिरहेको देखिन्छ । भारतमा अहिले भोकेशनल र प्राविधिक क्षेत्रमा धेरै जोड दिइएको छ । यसका साथै भारतमा बहुराष्ट्रिय कम्पनीहरूले पनि शिक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् ।

नेपाल यसमा किन पछि परेको जस्तो लाग्छ ?
पहिलो कुरा त हामीमा क्षमता हुनुपर्यो । देशमा विश्वविद्यालयहरू र उच्च शिक्षाका लागि उचित व्यवस्था र पूर्वाधार हुनुपर्यो । प्राथमिक र माध्यमिक शिक्षामा कत्तिको लगानी र जोड दिइएको छ भन्ने कुराले पनि धेरै फरक पार्छ । नेपालमा निजी क्षेत्रले धेरै योगदान गरिरहेको छ, तर समग्र प्रणालीलाई समेटेर उच्च शिक्षालाई अझ बढी महत्त्व दिनुपर्ने देखिन्छ । यदि हामीले राम्रो जनशक्ति र शैक्षिक संस्थाहरू विकास गर्यौं भने मात्र समाजमा त्यसको सकारात्मक प्रभाव पर्छ । आज धेरै नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि भारत, अमेरिका, अस्ट्रेलिया जस्ता देशमा गइरहेका छन्, किनकि त्यहाँ पूर्वाधार र अवसरहरू बढी छन् ।
के हामी भारतले जस्तै विदेशी विश्वविद्यालयहरूलाई नेपालमा ल्याउन सक्दैनौं ?
विदेशी विश्वविद्यालय वा कलेजहरू ल्याउन ठूलो लगानी र नेटवर्किङ चाहिन्छ । नेपालमा शिक्षा क्षेत्रमा लगानी गर्न धेरैले रुचाएको जस्तो देखिँदैन । अहिले निजी क्षेत्रमा जुन खालको दबाब छ, त्यसले गर्दा पनि उनीहरूले त्यति चासो देखाएका छैनन् जस्तो लाग्छ । विदेशी विश्वविद्यालयहरू आउनका लागि उपयुक्त वातावरण, प्रक्रिया र प्रावधानहरू हुनुपर्छ । यद्यपि, नेपालका केही कलेजहरू विदेशी विश्वविद्यालयसँग आबद्ध भएर काम गरिरहेका छन् र विद्यार्थीहरूले त्यसबाट फाइदा पनि लिइरहेका छन् । तर अझै ग्लोबल लेभलका विश्वविद्यालयहरू ल्याउन उपयुक्त वातावरण बनाउन आवश्यक छ ।
आर्थिक दृष्टिकोणबाट हेर्दा हरेक वर्ष अर्बौं रुपैयाँ नेपाली विद्यार्थीहरूबाट बाहिरिइरहेको छ । यदि हामीले यहाँ गुणस्तरीय शिक्षा दिन सक्यौं भने त त्यो रकम जोगिन्थ्यो होला नि ?
पक्कै पनि । यदि देशमा राम्रा विश्वविद्यालयहरू भए भने हामीले विदेशी विद्यार्थीहरूलाई पनि आकर्षित गर्न सक्छौं र राजस्व बढाउन सक्छौं । ‘ब्रेन ड्रेन’ रोक्न सकियो भने जनशक्ति र स्रोत दुवै जोगिन्छ । शिक्षामा ग्लोबल इन्भेस्टमेन्ट आकर्षित गर्न सकियो भने नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।
२० वर्षअघि तपाईं सेन्ट जेभियर्स स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । अहिले सिजी एजुकेशनलाई लिड गर्न आउनुभएको छ । विनोद चौधरीले नेपालमा ‘वर्ल्ड क्लास एजुकेशन’ ल्याउने सपना पुरा गर्न चाँदबाघ स्कुल खोलेको विषय आफ्नो आत्मकथामा पनि लेख्नुभएको छ । उहाँको त्यो सपना पूरा गर्न तपाईंको भूमिका कस्तो रहन्छ ?

सर्वप्रथम विनोदजीलाई म धन्यवाद दिन चाहन्छु । चाँदबाघ स्कुल उहाँको मुटुको निकै नजिक छ र उहाँले सबैभन्दा पहिला बाँसबारीमा यो स्कुल स्थापना गर्नुभएको थियो । म भारतमा ८ वटा स्कुलहरू क्लस्टर प्रिन्सिपलको रूपमा हेरिरहेको थिएँ । २० वर्षपछि फेरि नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न पाउनु मेरा लागि गर्वको कुरा हो । विनोदजीसँग कुरा गर्दा उहाँले आफ्ना स्कुलहरूलाई ‘नेक्स्ट लेभल’मा पुर्याउन चाहनुभएको पाएँ । चाँदबाघलाई उहाँले संसारकै उत्कृष्ट स्कुलमध्ये एक बनाउन चाहनुहुन्छ । उहाँले शिक्षा क्षेत्रबाट नाफा मात्र नहेरी निरन्तर लगानी गरिरहनुभएको छ, जुन निकै प्रशंसनीय छ । उहाँको यही सपना साकार पार्न हामीले एउटा ‘टास्क फोर्स’ बनाएका छौं र नेपाल तथा भारतका विज्ञहरूसँग परामर्श गरिरहेका छौं ।
सीजी एजुकेशनअन्तर्गत अहिले कुन-कुन शैक्षिक संस्थाहरू सञ्चालनमा छन् ?
सिजी एजुकेशनले धेरै पुराना र प्रतिष्ठित स्कुलहरू सञ्चालन गरिरहेको छ । जस्तै: चाँदबाग स्कुल (१९९६ मा स्थापित), क्याम्पियन एकेडेमी (१९९५ मा स्थापित), क्याम्पियन काठमाडौं स्कुल (गहनापोखरी), लगनखेलमा मिनोज (प्रि-प्राइमरीदेखि प्लस टू सम्म), वीरगञ्जमा डीपीएस र चितवनमा सनराइज इङ्लिस स्कुल । साथै कुपण्डोलमा क्याम्पियन कलेज पनि छ । यी सबै संस्थाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने हाम्रो लक्ष्य छ । हालै हामीले दुईवटा नयाँ हस्पिटालिटी इन्स्टिच्युटहरू पनि सुरु गरेका छौं, भिभान्ता चितवनमा र नवलपरासीको सिजी इन्डस्ट्रियल पार्क मा ।
तपाईंहरूले ‘नलेज भिलेज’को बारेमा पनि कुरा गरिरहनुभएको छ, यो खासमा के हो ?
नलेज भिलेज विनोद चौधरी र उहाँका तीन छोराहरू (निर्वाण, राहुल र वरुण) को ठूलो ड्रिम प्रोजेक्ट हो । यो धादिङमा करिब २०० रोपनी जग्गामा फैलिएको छ । यसको कन्सेप्ट डिजाइन भइसकेको छ । यो एक ‘डिम्ड युनिभर्सिटी’को कन्सेप्ट हो, जहाँ विज्ञान, आईटी, एआई र मेसिन लर्निङजस्ता आधुनिक विषयहरूको पढाइ हुनेछ । यो नेपालका लागि मात्र नभई विश्वभरका विद्यार्थीहरूका लागि एउटा शैक्षिक केन्द्र हुनेछ । यो प्रोजेक्ट पूर्णतया वातावरणमैत्री, दिगो र अत्याधुनिक हुनेछ । यसले नेपालको शिक्षा र अर्थतन्त्रमा ‘गेम चेन्जर’को भूमिका खेल्नेछ । यो अहिले कार्यान्वयनको प्रक्रियामा छ र यसले नेपालको शिक्षा क्षेत्रमा नयाँ ‘प्याराडाइम सिफ्ट’ ल्याउनेछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मलाई यो अवसर दिनुभएकोमा धन्यवाद । म शिक्षा क्षेत्रमा काम गर्न पाउँदा निकै खुसी छु । एउटा बच्चाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकुँ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि हामी सधैं प्रतिबद्ध छौं ।












प्रतिक्रिया