अर्थमन्त्रीले आइआरडीका डिजीसँग भने ‘न्यूरोडमै मैले बिल पाइन, कस्तो बजार अनुगमन गर्नुहुन्छ ?’



काठमाडौं । अर्थतन्त्रका कैयौं सूचक नकारात्मक हुनुका साथै लक्ष्यअनुसार राजस्व संकलन नभएपछि दबाबमा आएका अर्थमन्त्री जनार्दन शर्मा आक्रामक देखिएका छन् ।

माघ १८ गते केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभाग (आइआरडी) ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गरे ।

बैठकमा अर्थमन्त्री शर्माले आन्तरिक राजश्व कार्यालयले पर्याप्त बजार अनुगमन गर्न नसकेको भन्दै विभागका महानिर्देशक शोभाकान्त पौडेललाई र्‍याखर्‍याख्ती पारेका हुन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार अर्थमन्त्री शर्माले पौडेलसँग भने, ‘दुई दिन अगाडि न्यूरोडमा सामान किन्न गएको थिए । बिल मागे । कुनै पनि व्यापारीले बिल दिएनन् । आन्तरिक राजस्व कार्यालय न्यूरोडमा छ । तपाईंहरुले कस्तो बजार अनुगमन गर्नु भएको छ ?’

चालु आर्थिक वर्षको ६ महिनामा आन्तरिक राजश्व विभागले २ खर्ब ४१ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा विभागले २ अर्ब २५ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेको छ ।

विभागले स्वास्थ्य सेवा कर र आन्तरिकतर्फ अन्तशुल्क लक्ष्यअनुसार संकलन गरे पनि आयकर, घरबाहल कर, आन्तरिक तर्फको मूल्य अभिवृद्धि कर भने लक्ष्यअनुसार संकलन गर्न सकेको छैन् ।

आन्तरिकतर्फको मूल्य अभिकृद्धि करको संकलन भने निराशाजनक अवस्थामा छ । विभागले पुष मसान्तसम्म ६१ अर्ब २० करोड रुपैयाँ मूल्य अभिबृद्धि कर संकलन गर्ने लक्ष्य राखेकोमा ५३ अर्ब ४६ करोड मात्र संकलन गर्न सकेको छ ।

विभागले बजार अनुगमन गर्न नसक्दा मूल्य अभिबृद्धि कर छली भइरहेको गुनासो आएपछि अर्थमन्त्री शर्मा विभागमा महानिर्देशकसँग आक्रोशित भएका हुन् ।

राजश्व प्रशासनमा कहिल्यै काम नगरेका राजस्व सचिव कुष्णहरि पुष्कर कर्णले आन्तरिक राजश्व विभाग र भन्सार विभागका प्रमुखलाई चलाउन नसकेको आरोप लगिरहँदा अर्थमन्त्री शर्मा आफैँले कमाण्ड समाल्दै आन्तरिक राजश्व विभागका महानिर्देशकलाई बजार अनुगमन बढाउन निर्देशन दिएका हुन् ।

‘जनार्दन शर्मा कमाण्डर भएको सुन्दै आएको थिए । मंगलबारको बैठकमा अर्थमन्त्रीज्यू कमाण्डरको शैलीमा प्रस्तुत हुनु भयो,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘अर्थतन्त्रका सूचक नकारात्मक हुनुका साथै अर्थमन्त्रालयका उच्च अधिकारीले सहयोग नगर्दा अर्थमन्त्री झनै दबाबमा हुनुहुन्छ । त्यसैले उहाँ आक्रामक रुपमा प्रस्तुत हुनु भएको हो ।’

अर्थमन्त्रालयका एक सहसचिव अर्थमन्त्री शर्माको निर्देशनले बजार अनुगमनमा खासै असर नगर्ने बताउँछन् ।

‘उहाँको निर्देशन सुन्नेले सुने तर कार्यान्वयन हुन्छ र बजार अनुगमन बढ्छ भन्ने मलाई लाग्दैन’, उनले भने ।


शरद ओझा