विद्युतीय भुक्तानीले पनि घटाएन पैसा बोक्ने चलन, लकडाउनपछि १ खर्बले बढ्यो नगद नोटको प्रवाह



काठमाडौं । कोभिड १९ नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ देखि लकडाउन गर्यो । २०७६ सालमा चैतमा बजारमा चलनचल्तीमा रहेको नोटको आकार ५ खर्ब ३३ अर्ब रुपैयाँ थियो ।

कोभिडपछि डिजिटल कारोबारमा छलाङ मारेपनि सर्वसाधारणले नगद बोक्ने प्रचलन भने नघटेको राष्ट्र बैंकको तथ्यांकले देखिएको हो । मंसिर मसान्तसम्म बजारमा ६ खर्ब ५४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट रहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट सर्वसाधारणले बोक्न नपरोस भनेर डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न क्यूआर कोड अभियानलाई अगाडि बढाएका छन् । राष्ट्र बैंकले गरेको प्रवर्द्धन तथा सूचना प्रविधिमा आएको विकासले क्यूआर कोडमा कारोबार बढेपनि नगद बोक्नेहरु नघटेको देखिएको हो ।

२०७४ साल असार मसान्तमा ४ खर्ब २२ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो । २०७६ साल चैतमा आइपुग्दा ५ खर्ब ३३ अर्ब रुपैयाँ चलनचल्ती रहेको नोट पुग्यो । साढे २ वर्षमा १ खर्ब ११ अर्बले कोभिड अगाडि बजारमा चलनचल्तीको नोट आकार बढेको थियो । तर, कोभिडपछि भने डेढवर्षमै चलनचल्तीमा रहेको नोट १ खर्ब २१ अर्बले बढ्यो । यसले लकडाउनपछि नगदको माग अत्यधिक बढेको देखाएको छ ।

नेपाल बैकर्स संघका पूर्वअध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल २०७६ सालको लकडाउनपछि १ खर्ब २२ अर्ब रुपैयाँले नगद नोट बढ्नुलाई आर्थिक क्रियाकलाप बढेको र अनौपचारिक अर्थतन्त्रको आकार समेत बढेको रुपमा हेर्नुपर्ने बताउँछन् ।

‘आर्थिक क्रियाकलाप बढेपछि स्वभाविकरुपले नगदको माग बढी हुन्छ, त्यो कारणले नगद बढेको देखिएको हो, योसँगै हाम्रा कारोबारहरु अझैपनि अनौपचारिक क्षेत्रमा रहेको देखिएको छ,’ दाहालले क्लिकमाण्डूसँग भने ।

गभर्नर महाप्रसाद अधिकारीले पनि विभिन्न सार्वजनिक कार्यक्रममा नेपालमा अनौपचारिक अर्थतन्त्र रहेको बताउँदै आएका छन् । पछिल्लो समय रेमिट्यान्स घटेको तथा विदेशबाट फर्कने व्यक्तिहरुले तोकिएको सीमाभन्दा बढी सुन ल्याउने गरेको तथा अस्वभाविक वस्तुहरुको आयात हुँदा अनौपचारिक अर्थतन्त्र बढेको रुपमा हेर्न भने सकिन्छ ।

बजारमा नगद मागको ट्रेण्ड हेर्दा भदौदेखि कात्तिक मसान्तसम्म माग बढ्ने र त्यसपछि घट्ने गरेको छ । दशैं तिहार र छठ पर्वको समयमा नगदको माग बढी हुने र पर्व सकिएसँगै घट्ने गरेको हुन्छ । भदौ मसान्तमा बजारमा चलनचल्तीमा ६ खर्ब ४५ अर्ब नगद नोट रहेकोमा असोज मसान्तमा ७ खर्ब १३ अर्ब पुगेको थियो । कात्तिक मसान्तमा ६ खर्ब ८७ अर्ब रहेको माग मंसिर मसान्तमा आइपुग्दा ६ खर्ब ५४ अर्बमा झरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कर्जाको माग बढेसँगै नगदको माग बढेको कारण २०७६ साल चैतदेखि अहिलेसम्म चलनचल्तीमा रहेको नोट बढेको बताउँछन् ।

‘पछिल्लो १६ महिनामा १२ खर्बले कर्जा विस्तार भएपछि १ खर्बभन्दा बढीले नगद नोट बढ्नु स्वभाविक हो,’ भट्टले क्लिकमाण्डूसँग भने । राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन नगरेको भए नगद नोटको माग अझै बढ्ने भट्ट बताउँछन् ।

पछिल्लो क्यूआर कोडलगायत डिजिटल कारोबार भने बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले तथ्यांक राख्न थालेपछि २ वर्ष अगाडि ५० करोडको हाराहारीमा हुने गरेको क्यूआर कोडको कारोबार अहिले ६ अर्ब हाराहारीमा हुन्छ ।

यसबाहेक भुक्तानीको लागि मोबाइल बैंकिङ तथा कनेक्ट आइपीएसको कारोबार समेत बढेको छ ।

कात्तिक महिनामा ७८ अर्बको मोबाइल बैंकिङ, २ खर्बको कनेक्ट आइपीएसमार्फत् हुने कारोबार भएको थियो । एटीएमबाट पनि मासिक रुपमा ५० देखि ६० अर्ब निस्कने गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

सानिमा बैंकका सीइओ दाहाल नोटको कारोबारले डिजिटल कारोबारको सम्भावनालाई अझै देखाएको बताउँछन् ।


क्लिकमान्डु