व्यवसायीलाई एमाले प्रवेश गर्न मोति दुगडको दवावः आफूलाई भने लाभैलाभ, दोब्बरले बढ्यो कारोबार



काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचन अगाडि धेरै व्यवसायीहरु विभिन्न पार्टीबाट सभासदको उम्मेद्वार बनेका थिए ।

नेपाली कांग्रेसबाट दिवाकर गोल्छा, एमालेबाट बिनोद चौधरी समानुपातिक सांसद् बनेका थिए । २६ जना मनोनयन गर्ने कोटामा माओवादीबाट पद्म ज्योति तथा मालेको कोटाबाट राजेन्द्र खेतान सभासद् बनेका थिए ।

त्यही बेला मधेश केन्द्रित दल सद्भावना पार्टी आनन्दिदेवीबाट समानुपातिक सांसद् बन्न बिराटनगरका व्यवसायी मोतिलाल दुगड सफल भए ।

सरिता गिरीले नेतृत्वको दलले त्यो बेला २ सिट समानुपातिकबाट पाएको थियो । जसमा सरिता गिरी र दुगड सभासद् भएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनबाट गठन भएको संविधानसभाले संविधान भने दिएन । तर, दुईजना व्यवसायीलाई भने राजनीति लत राम्रैसँग लगाइदियो ।

सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

एमालेबाट समानुपातिक सांसद् बनेका बिनोद चौधरी २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन अगाडि नेपाली कांग्रेस प्रवेश गरे । अनि कांग्रेस जिताउन देश दौडाहमै हिँडे ।

सदभावना आनन्दीदेवीबाट सभासद् भएका मोतिलाल दुगडले २०७० सालको संविधानसभा निर्वाचनमा आफ्नो पार्टी खोल्ने निर्णय गरे । त्यो बेला थ्रेसहोल्डको व्यवस्था थिएन ।

समानुपातिक सिटबाट एकजना आउने मत देशभरबाट ल्याउन सके सभासद् बनिने र मन्त्री बन्ने सम्भावना थियो । दुगडले प्रमुख पत्रिकामा फुलपेज विज्ञापन दिएर नवनिर्माण पार्टी खोलेका थिए । सो पार्टीले समानुपातिकमा १ सिट ल्याउनुपर्ने मत ल्याउन असफल भयो । आफ्नो दल खोलेर राजनीति गर्ने दुगडको सपना सपनामै सीमित भयो ।

२०७० सालको संविधानसभा निर्वाचनपछि एमालेमा केपी शर्मा ओली शक्तिकेन्द्रको रुपमा उदाउन थालेका थिए । २०७० सालको संसदीय दलको नेता हुँदै ओली एमाले अध्यक्ष बने ।

मसला उद्योग हुँदै बिरानटगरमा ह्यारिसन होटल खोलेका दुगडको होटलमा ओली बिराटनगर जादा बस्ने गरेका थिए । उनको होटलको उद्घाटन नै ओलीले गरेका थिए ।

बिराटनगरका एमालेका नेताहरुको सम्बन्धलाई स्थापित गरेर दुगड ओलीसँग नजिक भए । र, आफ्नो पार्टीलाई एमालेमा बिलय गराए ।

मोदीको आडमा भारतमा आसेपासे पूँजीवाद: फि तिर्न नसकेर पढाइ छाडेका अडानी ६३ खर्बका मालिक बने

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुगड एमालेबाट समानुपातिक उम्मेदवार हुँदै सांसद् बने । प्रधानमन्त्री ओलीले उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्री पदमा नियुक्त गरे ।

नेकपामा भएको विवाद तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै दुगडको राज्यमन्त्रीको पद गुम्यो । राज्यमन्त्रीको पद गुमेपछि प्रधानमन्त्री ओलीले दुगडलाई मन्त्री सहरको आर्थिक सल्लाहकारमा नियुक्त गरे ।

व्यापारी दुगड अहिले प्रधानमन्त्री ओलीको किचन क्याबिनेटका शक्तिशाली सदस्य हुन् ।

२०७२ सालको भूकम्पपछि नेकपा एमालेको बल्खुमा रहेको एमालेको मुख्यालय क्षति भयो । एमालेको मुख्यालय धुम्बाराहीमा रहेको पाशाङ ल्यामु शेर्पा प्रतिष्ठानको कार्यालयमा छ । अब एमालेको केन्द्रिय कार्यालय थापाथलीमा सर्ने छ । जुन घर खोज्ने काम नै प्रधानमन्त्रीका सल्लाहकार रहेका दुगडले गरेका हुन् ।

सन् १९८४ देखि व्यवसायमा प्रवेश गरेका दुगड राजनीतिमा व्यवसायलाई जोड्ने काम गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग व्यवसायीको छलफल कार्यक्रम भनेर बोलाएर एमाले प्रवेश गराउने कार्यक्रम राखेका दुगडसँग व्यवसायीहरु समेत डराउने अवस्था सिर्जना भएको छ ।

‘प्रधानमन्त्रीका सल्लाहकारको फोन आउँदा पनि डराउनुपर्ने अवस्था आएको छ, पार्टी प्रवेशका लागि अप्रत्यक्षरुपमा दवाव समेत सल्लाहकारबाट हुन थालेको छ,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने ।

यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित)

केही साताअघि प्रधानमन्त्री निवास बालुवाटारमा २ सयभन्दा बढी व्यवसायी एमालेमा प्रवेश गरेका थिए । जसमा ठूलो व्यवसाय नभएका उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा दुई पटकसम्म बरिष्ठ उपाध्यक्षको निर्वाचन हारेका किशोर प्रधान सहितका व्यवसायी थिए । एमाले प्रवेश गरेको दुईसातामा नै किशोर प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको संचालक पदमा नियुक्त गर्यो । प्रधानले पाएको लाभले अरु व्यवसायीहरु समेत लोभिएर एमाले प्रवेश गर्ने सम्भावना बलियो छ ।

पार्टी प्रवेश गर्ने केही व्यवसायीको कारोबार ठूलो छ अरु भने सामान्य खाले व्यवसाय गर्ने व्यापारी हुन् । तर, दुगडले व्यवसायीहरुलाई कर लगायतका अन्य लफडामा सरकारले सहयोग गर्ने भन्दै पार्टी प्रवेशका लागि दवाव दिने गरेका छन् ।

‘कर सरका लफडा मिलाइदिन्छु एमाले प्रवेश गर्नुहोस्,’ दुगडको भनाइ उदृत गर्दै अर्का व्यवसायीले भने, ‘नत्र पछि सहयोग पाइएन भन्न पाइँदैन नि ।’

दुगडको यो धम्कीपूर्ण आग्रहले व्यवसायीहरु आजित भएका छन् । तैपनि मुखै खोलेर भन्न भने सकेका छैनन् ।

प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी

दुगडले खासगरी माडवारी समूदायलाई लक्षित गरी पार्टी प्रवेश गर्न दवाव बढाएका छन् । व्यापारीको एउटा ठूलो तप्का एमाले प्रवेश गराउन सकियो भने त्यसैको नाम भजाएर ओलीबाट ठूलो फाइदा लिने उनको नियत प्रष्ट छ ।

एमाले प्रवेशसँगै दोब्बरले बढ्यो कारोबार

मोतिलाल दुगडले सन् १९९८ देखि मसला उद्योगमा प्रवेश गरेका हुन् । सेन्चुरी मसलाको नामले चिनिने दुगड स्पाइस एण्ड फुड प्रोडक्ट हो । उनले बिराटनगरमा ह्यारिसन सेन्चुरियन होटल संचालनमा ल्याउँदैछन् ।

सन् २०१५ मा कम्पनीले ६० करोड ४० लाखको कारोबार गरेका थियो । कम्पनीको कारोबार सन् २०१६ मा ७७ करोड ३० लाख,सन् २०१७ मा ९६ करोड ९० लाख हुँदै सन् २०१८ मा १ अर्ब ६ करोडको कारोबार गर्न सफल भएको छ ।

दुगडले आफ्नो व्यवसायको सन्जालसमेत एमाले प्रवेश गरेसँगै बढाउन सफल भएका छन् । २०१९ मा मात्र दुगडले ५० प्रतिशतले बिक्रेता बढाउन सफल भएका थिए । उनको बैंकमा करिब १ अर्ब रुपैयाँ छ । यद्यपी पछिल्लो समय भने तथ्यांक उपलब्ध नगराएपछि रेटिङ ऐजेन्सीले उनको उद्योगलाई गरेको रेटिङ फिर्ता लिएको छ ।

दुगडले भने एमाले प्रवेशका लागि आफुले दवाव नदिएको र व्यवसायीहरु स्वेच्छाले प्रधानमन्त्रीको सम्बृद्ध नेपाल बनाउने अभियानमा सरिक भएको बताए ।

यसरी व्यापारीहरुले राजनीतिज्ञ र सरकारका उच्च अधिकारीहरुलाई प्रभावमा पारेर आफ्नो व्यापारीक साम्राज्य खडा गर्दै जाने थिति बस्यो भने भविष्यमा न यस्ता व्यवसायी भएको पार्टी नै नरहन सक्छ भन्ने कुरा एमालेका कमरेडहरुले खैत बुझेको ?


पुष्प दुलाल