साउनको तुलनामा भदौमा २० अर्ब रुपैयाँले रेमिटेन्स घट्यो



काठमाडौं । साउन महिनाको तुलनामा भदौ महिनामा रेमिटेन्स करिब २० अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ७३ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । साउन महिनामा ९२ अर्ब ७० करोड रुपैयाँको रेमिटेन्स आएको थियो । साउनको तुलनाको भदौमा रेमिटेन्स घटेपनि चालु आर्थिक वर्षको २ महिनामा भने चालु आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२ महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँको रेमिटेन्स आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो राष्ट्र बैंकले जनाएको छ ।
साथै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई १ अर्ब ८३ अर्ब ६६ करोड रुपैयाा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो ।

यसैगरी, समीक्षा अवधिमा चालु खाता २६ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई १ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।


क्लिकमान्डु