अर्बपति व्यवसायी रुप ज्योतिमाथि फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी



काठमाडौं । अर्बपति व्यवसायी डा. रुप ज्योतिलाई पुनः ठगीको आरोप लागेको छ ।

यसअघि गत कात्तिकमा घरजग्गा सम्बन्धी यस्तै मुद्दामा रुप ज्योति प्रकाउ परेका थिए । विजेन्द्र मल्लले रुप ज्योतिको कम्पनी ल्याण्डमार्क प्रालिले बैना गरेको घर नदिएको भन्दै ठगीको मुद्दामा प्रकाउ गरेको थियो । पछि पैसा तिर्न तयार भएपछि डा ज्योति छुटेका थिए ।

यो पटक पनि उनले बैना गरिसकेर जग्गा नदिएको आरोप भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिकबन्जारले लगाएका छन् ।

ताम्राकार र चिकबन्जार गत साउन २९ गते उजुरी बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे । उजुरीमा रुप ज्योतिले ग्वार्कोमा रहेको जग्गा बिक्री गर्ने भनेर बैना लिएका तर जग्गा पास नगरी अर्कैलाई बिक्री गरेको उल्लेख छ ।

यद्यपि प्रहरीले किटानी जाहेरी भने दर्ता गरेको छैन । प्रहरीले सरकारी वकिलकको राय लिएर मात्रै जाहेरी दर्ता गर्ने जनाएको छ ।

व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

डा. रुप ज्योतिले भदौ १८ गतेसम्ममा व्यवहार मिलाउने भन्दै प्रहरीकहाँ जाहेरी नदिन आग्रह गरिरहेका छन् । तर, पीडित पक्षले भने पटकपटक धोका दिएको भन्दै अब कानूनी लडाइँ लड्ने जवाफ दिएका छन् ।

यसरी सुरु भयो घटना

भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिकबन्जारले ग्वार्को क्षेत्रमा जग्गा खोज्ने क्रममा उनीहरुको डा. रुप ज्योतिको जग्गाको कारोबार हेर्ने आशाकाजी महर्जनसँग भेट हुन्छ । स्याकार कम्पनीको नाममा तत्कालिन ललितपुर उपमहानगर पालिका वडा नम्बर ६ को कित्ता नम्बर १४२९,१४३५,१६५० को कुल २ रोपनी १२ आना ३ पैसा जग्गा प्रतिआना १६ लाख रुपैयाँको दरले खरिद गर्ने भनेर बैना भएको भयो ।

२०७५ सालको असार १९ गते बैना भएको दाबी सुरेन्द्र र राजेशको रहेको छ । त्यसपछि आशाकाजी महर्जनले रुप ज्योतिको पुर्याएपछि २०७५ भदौ २९ गते थप ३६ लाख रुपैयाँ दुबै जनाले डा. रुप ज्योतिको अगाडि बैना हुन्छ । त्यसपछि थप ५१ लाख रुपैयाँ गरेर ८९ रुपैयाँ बैनाबापत दुबै जनाले ज्योतिलाई दिन्छन् ।

बैना गर्दा २०७५ साल पुस १८ सम्म जग्गा पास गरिदिनुपर्ने शर्त थियो । समयमा पास नभएपछि दुबै जनाले डा रुपज्योतिलाई भेट्दा आशाकाजीले मिलाउँछन् भन्ने जवाफ दिन्छन् ।

ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री

त्यसपछि आशाकाजीले परिवारभित्र सम्पत्तिको विवाद नमिलेको जानकारी दुवैलाई दिन्छन् । तर, सो जग्गा स्याकार प्रालिबाट नेपाल जनरल मार्केटिङको नाममा २०७५ मंसिर २७ गते पास भएको हुन्छ । त्यसपछि सो जग्गा नेपाल जनरलबाट डा रुप ज्योतिको नाममा २०७५ पुस २९ गते हस्तान्तरण भएको देखिन्छ ।

त्यसपछि डा ज्योतिले आफ्नो नाममा ल्याएको सो जग्गा २०७५ चैत २४ मा प्राइम क्यापिटल अफेयर्सको नाममा पास भएको देखिन्छ । यसरी डा ज्योतिले परिवारभित्र मिलेको छैन भनेर दुबैजनालाई झुलाउने काम गरेको देखिन्छ ।

डा ज्योतिले जग्गा आफ्नो स्वामित्वमा ल्याएको कुरा आफुहरुले अहिलेमात्र थाह भएको दाबी सुरेन्द्र र राजेशको छ ।

यसरी कम्पनीको स्वामित्वमा रहेको जग्गा रुप ज्योतिले अत्यन्तै न्यून मूल्यमा आफ्नो निजी स्वामित्वमा ल्याई मोटो रकम राजस्व छली गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न मागसमेत गरिएको छ । किनभने कम्पनीले जग्गा कारोबार गर्दा २५ प्रतिशत राजस्व तिर्नुपर्छ भने व्यक्तिले गर्दा ५ प्रतिशत मात्रै ।

परिवारभित्रै लडाइँ

गत असार २५ गते डा. रुप ज्योति आफ्ना भतिजाद्धय सौरभ र शुहृत ज्योतिले आफूलाई ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखा काठमाडौमा उजुरी बोकेर पुगेका थिए । पारिवारिक लेनदेन भएको भन्दै प्रहरीले उजुरी लिएन ।

अर्बपति परिवारमा सम्पत्तिको झगडा: रुप ज्योतिले गरेको भाजुरत्नको साधारणसभा गैरकानूनी ! (पत्रसहित)

रुप ज्योतिले भने आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सबाट हुने ट्याक्टरको डिलर भाजुरत्न प्रालि नामक अर्को कम्पनी खोलेर भजिज शुहृतले व्यापार हडपेको आरोप लगाएका थिए ।

विवाद बढ्दै गएपछि गत बैशाख १० गते कम्पनीको विशेष साधारणसभा गरेर पद्म ज्योतिका भाई रुप ज्योतिले सञ्चालक समिति पुनर्गठन गरी आफू अध्यक्ष भए ।

साधारणसभाले गरेको निर्णयको माइन्यूट कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवामा अपलोड पनि गरे । कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त निर्णयलाई सदर पनि गरिदियो ।

विवाद झन् झन् बढ्दै गयो ।

बहुमतको आडमा रुप ज्योतिको परिवारले अध्यक्ष रहेका पद्म ज्योतिलाई थाहै नदिई गत बैशाख १० गते विशेष साधारणसभमार्फत् सञ्चालक समितिको पुनर्गठन तथा अध्यक्ष परिवर्तन गर्यो ।

उक्त साधारणसभा गैरकानूनी भएको भन्दै पद्म ज्योतिले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिए । उजुरी उपर रजिष्ट्रारको कार्यालयलले अध्ययन अनुसन्धान गर्यो । र, कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयले विशेष साधारणसभाको प्रक्रिया नपुगेको भन्दै बैशाख १० गते भएको भनिएको विशेष साधारणसभा र त्यसका निर्णयहरु कार्यान्वयन नगर्न भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सलाई साउन १८ गते निर्देशनसहितको पत्र पठाएको छ ।


पुष्प दुलाल