ज्योति परिवारमा अंशबन्डा, हिमालयन बैंकको २४ करोड सेयर खरिदबिक्री



काठमाडौं । हिमालयन बैंकको मंगलबार नेपाल स्टक एक्सचेन्जमा २४ करोड ४६ लाख रुपैयाँको कारोबार भयो ।

दुईवटा कारोबारबाट ४० नम्बर ब्रोकरबाट खरिद र ४३ बाट बिक्री र ४३ बाट खरिद र ४० बाट बिक्री भएको सेयर किनबेच ज्योति परिवारभित्र भएको हो ।
ज्योति ग्रुपको कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिको नाममा हिमालयन बैंकमा ०.९ प्रतिशत सेयर स्वामित्व छ । जसमा पद्म ज्योति,रुप ज्योति,मिला स्यामी,प्रकाशभक्त श्रेष्ठ,भगवानप्रकाश श्रेष्ठ संचालक छन् ।

मंगलबार ज्योति परिवारभित्र नै सेयर स्वामित्व ट्रान्सफर भएको हो ।

डा रुप ज्योति ठगी मुद्दामा पक्राउ परेर पछि उजुरी फिर्तासँगै छुटेको थिए । डा रुप ज्योति छुटे पछि पहिला नै सुरू भएकाे परिवारमा कम्पनीहरुको भागबन्डाको काम सुरु भएको हो । त्यो बेला डा ज्योतिलाई उजुरी दिएका विजेन्द्र मल्लले पद्म ज्योतिसँग आफ्नो कुनै गुनासो नभएको र उनलाई आफुले सम्मान गर्ने कुरा मिडियामा भनेका थिए ।

ज्योति परिवारसँग निकट रहेका एक व्यवसायीका अनुसार अब निजी कम्पनीहरु कुन कसले लिने भनेर त्यो अनुसार ज्योति परिवारको अशंबन्डा हुन लागेको छ ।

अहिले मुख्य रुपमा हिरोको कारोबार डा रुप ज्योतिका छोरा अभिक ज्योति तथा होण्डाको कारोबार पद्मका छोरा सौरभ ज्योतिले हेर्छन् । यसबाहेक अन्य कम्पनीमा परिवारका सबै सदस्यको नाममा सेयर छ ।

‘ग्रुप अन्तर्गत रहेका उद्योगहरुमा दुई भाईमा कुन कता जाने भनेर भागबन्डा हुन्छ,सो अनुसार नै हिमालयन बैंकको सेयर खरिदबिक्री भएको हो,’ज्योति परिवारसँग निकट रहेका ति व्यवसायीले भने ।

महिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति ग्रुप अहिले तेस्रो पुस्तामा आइपुगेको छ ।

ग्रप अन्तर्गत हिमाल स्टिल,जय स्पिनिङ,ज्योति यार्न,हिमाल अक्सिजन संचालनमा छ । यस्तै ग्रुपको ग्रान्डी हस्पिटल,सगरमाथा इन्स्योरेन्स तथा बुटवल पावरमा पनि सेयर लगानी रहेको छ ।


क्लिकमान्डु