निर्जीवन बीमामा नयाँ व्यवसाय खोज्ने अवसरः एभरेष्ट इन्स्योरेन्सका डेपुटी सीइओ पवन थापा



कोरोना भाइरस (कोभिड–१९)को कारण गरिएको लकडाउन व्यवसाय बढी हुने समयमा भयो । भाइरस नियन्त्रणका लागि लकडाउनको विकल्प पनि थिएन ।

निर्जीवन बीमा व्यवसायमा यसको असर देखिएको छ । तर यसले देशको अर्थतन्त्रसँगै निर्जीवन बीमा व्यवसायलाई पनि नयाँ अवसर समेत प्रदान गरेको छ ।

अबको काम गर्नुपर्ने क्षेत्र भनेको कृषि नै हो । यस्तै मेडिकल बीमाको बजार विस्तार समेत हुने देखिन्छ । यस्तो माहामारी आउने रहेछ भनेर स्वास्थ्य बीमा गर्नुपर्ने रहेछ भनेर चेतना बढ्नेछ ।

बीमा व्यवसायमा मोटर बीमाको पोर्टफोलियो सबैभन्दा बढी छ । करिब ५० प्रतिशत जति हिस्सा मोटर बीमाको हुने गर्छ ।

लकडाउन खुलेपछि गाडीको व्यापार कम हुने देखिन्छ । जसको प्रभाव स्वभाविक रुपले निर्जीवन बीमा कम्पनीको व्यवसायमा पर्नेछ । लकडाउन खुलेपछि मोटर बीमामा नै व्यापक बीमा गर्ने ग्राहकले अनिवार्य भनिएको तेस्रो पक्ष बीमा मात्र गर्न सक्छ । यसो हुँदा बीमा शुल्क आर्जन कम नै हुन्छ ।

यो आर्थिक वर्षमा गाडीको बिक्री अब नहुने पक्का भयो । अब अवस्था सामान्य भएमा दशैंमा मात्र यो क्षेत्रको व्यवसाय बढ्ने हो ।

निर्जीवन बीमा व्यवसाय बढाउनको लागि सरकार अब सम्पत्तिको बीमामा प्रोत्साहन गर्नुपर्छ । अहिले घर बन्दा नै अनिवार्य घरको बीमा गर्ने प्रावधान ल्याउनुपर्छ ।

पाँच वर्ष अगाडि गएको भूकम्पपछि सम्पत्तिको बीमा कुरा आए पनि बैंकबाट ऋण लिने बाहेक अरुले यसको बीमा गरेका छैनन् । यसमा ठूलो खर्च लाग्ने पनि होइन ।

सरकारले कर छुट दिएमा यो क्षेत्रको बीमाको दायरामा आउने थियो । सहरमा नै हेर्नुहोस् न एउटा घरको मूल्य न्यूनतम १ करोड हुन्छ । सरकारले अनिवार्य सम्पत्तिको बीमा गर्न भन्यो भने त्यसबाट ठूलो प्रिमियम संकलन हुन्छ ।

अर्को बीमाको दायरामा नआएको क्षेत्र भनेको साना तथा मझौला व्यवसाय हो । साना तथा मझौला पसलहरु बीमाको दायरामा आएका छैनन् । आगलागी जस्ता दुर्घटना हुँदा उनीहरुले ठूलो आर्थिक क्षती भोग्नुपर्छ । ती व्यवसायीको क्षती पनि न्यूनिकरण हुने र निर्जीवन बीमा कम्पनीको समेत बीमाको व्यवसायको दायारा बढ्ने हुन्छ । सानो किराना पसले १० देखि १५ लाख लगानी गरेको हुन्छ । उनीहरुको पसलमा यदी आगलागी मात्र भयो भने उनीहरु त आर्थिक रुपले उक्सन नै सक्ने अवस्था आउँदैन ।

पसलहरु स्थानीय तहमा दर्ता हुने भनेका छन् । १० लाखको क्षतिको बढीमा प्रिमियम २ हजार रुपैयाँ पर्ने हो । १० लाखदेखि १५ लाख लगानी गर्नेका लागि २ हजार ठूलो कुरा होइन ।

तर क्षति भएका बेला १० लाखदेखि १५ लाख रुपैयाँसम्म नोक्सानी हुने त ठूलो कुरा हो । वर्षमा २ हजार रुपैयाँ खर्च गर्दा १० लाख रुपैयाँको क्षति कभर हुन्छ ।

यो व्यवसाय गर्नेको संख्या ठूलो छ । त्यो हुँदा ठूलो प्रिमियम बीमा कम्पनीलाई आउने गर्छ ।

हालै शुरु भएको कोरोना बीमालेखको शुल्क ३ सय र ६ सय मात्र हो । तर अहिले एक सातामा नै १ करोड रुपैयाँको प्रिमियम उठिसकेको छ ।

कोरोनाको बीमालेख नै निर्जीवन बीमा कम्पनीहरुले यो आवभित्र ३/४ करोड रुपैयाँको बीमा शुल्क उठाउन सक्ने देखिएको छ ।

हामीहरु अब व्यवसायको दायारालाई फराकिलो बनाउनु नै पर्छ । यसको लागि नयाँ क्षेत्र खोज्नैपर्छ ।

कम्तीमा ३ सय रुपैयाँ उठाएर यस्तो अवस्थामा एक सातामा १ करोड रुपैयाँबढीको प्रिमियम संकलन हुन्छ भने अरु बीमाहरु जारी गर्दा ठूलो क्षेत्र बीमाको दायारामा आउने छ ।

जसले गर्दा बीमा कम्पनीलाई व्यवसाय हुन्छ भने सो क्षेत्र पनि जोखिम कम हुन्छ ।

अब लघुबीमामा संख्या बढाउन सकिन्छ । हामी सहरमा मात्र केन्द्रित भएका छौं । पहिला बीमा क्षेत्रमा मेडिकल बीमाको बारेमा थाह नै थिएन । अहिले मेडिकल बीमामा राम्रो भएको छ । जसले जनतालाई पनि फाइदा भएको छ बीमा कम्पनीलाई समेत फाइदा भएको छ ।


क्लिकमान्डु