कोरोना असरः यो वर्ष रेमिट्यान्स १० प्रतिशतले घट्ने, व्याजदर स्थायित्व चुनौतिपूर्ण



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यो वर्ष रेमिट्यान्स आप्रवाह १० प्रतिशतले घट्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) लेa आयोजना गरेको ‘कोरोनाको महामारीले बैदेशिक रोजगार र रेमिटान्समा पारेको प्रभाव’ विषयमा भिडियो कन्फ्रेन्समा उनले यस्तो बताए ।

गत आवमा ८ खर्ब ७९ अर्ब विप्रेषण आएको र चालु आवमा यो ९ खर्ब विप्रेषण भित्रने अपेक्षा गरेको भएपनि ८ खर्ब पनि विप्रेषण नआउने उनको तर्क छ । यसको कारण भने कोरोना भाइरस रहेको छ ।

भट्टका अनुसार गत वर्षको ८ महिनामा ५ खर्ब ८२ अर्ब विप्रेषण आएको भएपनि यो ८ महिनामा यो बढेर ५ खर्ब ९२ अर्ब पुगेको छ ।

तर आगामी दिनमा विप्रेषणमा कमी आउने भएको कारण चालु आवमा विप्रेषण आपूवाह १० प्रतिशत घटने उनको दाबी छ । राष्ट्र बैंकको चालु आर्थिक वर्षमा गत आवको भन्दा विप्रेषण आप्रवाह ५ प्रतिशत बढने अपेक्षा गरेपनि कोरोनाका कारण त्यो अपेक्षा पुरा हु्न नसक्ने उनको तर्क छ ।

गत आवमा हुन्डी रोकिएर वैधानिक च्यानलबाट पैसा आएको, निक्षेपको ब्याज बढेको, खाडी देशको आर्थिक वृद्धिमा २ प्रतिशत बढीको सुधार देखिएका कारण धेरै समय पछि विप्रेषणमा १६.५ को सुधार आएको भएपनि चालु आवमा कोरोनाका कारण असर परेको भट्टको भनाई छ ।

अप्रिलमा नै कोरोना विश्वबाट हटेको खण्डमा असार महिनामा केही विप्रेषण बढनेमा आफू आशावादी रहेको पनि उनको भनाई छ ।

कोरोनाका कारण नेपालले ब्यालेन्स अफ पेमेन्टमा समस्या भएको कारण आइएमएफसँग ऋण लिने बताए । त्यसको अहिले बहुपक्षीय दातृ निकायसँग काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

छलफलमा उनले कृषिबाट कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको भएपनि नेपालमा धेरै कृषि उपज आयात गर्नु परेको भन्दै कृषिजन्य उत्पादनमा नेपाल आफै आत्मनिर्भएर हुनुपर्नेमा ध्यान दिनुपर्ने बताए । कृषिमा आत्मनिर्भर भएको खण्डमा १०० अर्बको ब्यापार घाटा कम हुने उनको तर्कछ ।

उनले आगामी आवमा विद्युत उत्पादन राम्रो भएमा, उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन सकेमा दाताको विश्वास जित्न सकिने भएकाले पनि ठूलो परियोजनालाई चाडो गर्न आवश्यक रहेको भट्टले बताए । त्यसको लागि आन्तरिक रोजगारी पनि बढाउन आवश्यक रहेको उनको भनाई छ

यो वर्ष ब्याजदरमा स्थिरता रहेको भएपनि आगामी आवमा यो कायम हुने वा नहुनेमा चुनौती रहेको भन्दै ब्याजदर स्थायित्व कायम गर्न सकेमा उद्योगी र निक्षेपकर्ता सबैलाई सहज हुने बताए ।

अबको दिनमा नेपालमा मात्रै नभएर विश्वमा नै कामदारको माग बढ्ने भएकोले कामदार पठाउँदा बाग्रेनिङ पावर बढाउनु पर्ने, दक्ष कामदार मात्रै पठाउने, र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने भट्टको दाबी छ ।

उनले फरक प्रसङगमा नेपालको मूल्यवृद्धि ७ प्रतिशतमा सिमित हुने बताएका छन् ।

पछिल्लो समयमा आईएमएफले नेपालमा मुल्यवृद्धि ६.८ प्रतिशत मात्रै हुने भनेपनि राष्ट्र बैंक ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने पक्षमा रहेको बताए ।

विश्वभर फैलिएको कोरोनाका कारण नेपालमा अर्थतन्त्रमा पनि असर देखिने उनको भनाई छ । विप्रेषणमा चलेको अर्थतन्त्रलाई कोरोनाले निकै असर पार्ने उनको भनाई छ ।


पुष्प दुलाल