यी हुन् राणाका दरबारमा खोलिएका ‘लक्जरी’ होटल



काठमाडौं । राणा शासनकालमा यी विशाल भवन दरबार थिए । त्यो बेला यी दरबार राणाका शक्तिकेन्द्र थिए । विलासी सामानहरु प्रयोग गरी बनाइएका यी दरबारमा यूरोपबाट महंगा सामान ल्याएर सजाइएका थिए ।

जब राणाशासनको अन्त्य भयो । अनि यी भव्य दरबारमा सर्वसाधारणको पहुँच पुग्यो ।

राजधानी काठमाडौंलाई चारैतिरबाट जंगलले छोपेको बेला, राजधानीमा खेतैखेत र घनाजंगलले घेरिएको समयमा काठमाडौंमा यी विशाल बंगला बनेका थिए । तत्कालिन समयमा शौखिन राणाहरुले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि समेत यस्ता भवन बनाउँथे ।

राणाहरु मुलुकमा शासन चलाएको बेलामा यी बंगला बनाइएका थिए । जहाँ राणाहरु आ–आफ्नो प्रभुत्व जमाएका थिए । तर यी बंगलामा अहिले होटल सञ्चालित छन् । होटल बनेपछि यी सर्वसाधारणको पहुँचमा पुगेका हुन् ।

यस लेखमा हामीले राणाशासनमा बनेका दरबारपछि होटलमा परिणत भएको विषयलाई उठान गरेका छौं ।

लाल दरबार बन्यो याक एन्ड यति होटल

दरबारमार्गको छेवैमा रहेको याक एन्ड यति होटल आजभन्दा १ सय वर्षघि राणाकालमा बनेको थियो । वीर शमशेर जबराले आफ्नी कान्छी पत्नी तोपकुमारी देवीका लागि बनाएको ‘लाल दरबार’ अहिले पाँच तारे होटलमा परिवर्तन भएको छ । सन् १८९० मा निर्माण गरिएको यो भव्य भवनसँगै बँगैचा पनि छ ।

३०० रोपनी क्षेत्रफलमा फैलिएको यस होटलको दक्षिणपट्टी सेतो दरबार पनि छ ।

लाल दरबार तत्कालिन समयमा यूरोपियन आर्किटेक्टबाट प्रभावित भइ निर्माण गरिएको थियो । जसका लागि रातो मार्बल इटलीबाट कलकत्ता हुँदै भारी बोकेर काठमाडौं ल्याइएको थियो ।

भवनमा राखिएको ऐना र कैयन महंगा सामानहरु पनि यूरोपबाट मगाइएको थियो ।

दरबारलाई वीर शमशेरका काइला छोरा तेज शमशेरले आफ्नो स्वामित्वमा लिएका थिए । सन् १९३४ मा जुद्ध शमशेरले तेज शमशेरलाई देश निकाला गरेपछि आफूले कब्जामा लिएका थिए ।

पछि सन् १९५१ सालमा राणाशासन अन्त्य भएपछि लाल दरबार तेज शमशेरका छोराको स्वामित्वमा आएको थियो । पछि सन् १९७७ मा दरबार याक एन्ड यति होटलमा परिणत भएको थियो ।

सेतो दरबार बन्यो रोयल इम्पायर बुटिक होटल

रोयल इम्पायर बुटिक होटल पनि राणाहरुले बनाएको दरबार महल थियो । जसलाई सेतो दरबार पनि भनिन्छ ।

१८औं शताब्दीमा श्री ३ महाराज जुद्ध शमशेर जबराको पालामा बनेको थियो । तत्कालिन समयमा जुद्ध शमशेर आफै पनि राम्रा इन्जिनियर थिए । जुद्ध शमशेरले यस भवन छोरा धु्रव शमशेरलाई दिएका थिए ।

दरबारलाई सूर्यबहादुर थापा प्रधानमन्त्री समेत यसै धु्रव शमशेरका छोरासँगै भवनमा हुर्किएका थिए । धु्रव शमशेरको निधनपछि दरबार उनका माइलो छोरा मनोहर शमशेरले लिएका थिए ।

रानीहरु एश्वर्या र कोमल जन्मिएको दरबार बन्यो शंकर होटल

१९औं शताब्दीमा जीत शमशेर राणा र उनका भाइ श्री ३ महाराज वीर शमशेरले इन्जिनियर नरसिंह राणाको सहयोगमा निर्माण गरेका थिए । तत्कालिन समयमा दरबारमा सजाउनका लागि ऐना, भेलभेट, मार्बललगायतका महंगा सामान यूरोपबाट मगाइएको थियो । दरबारको बाहिरी संरचना निकै फेसनेबल र नियो क्लासिकल स्टाइलमा निर्माण गरिएको थियो । दरबारको निर्माण सन् १८९४ मा गरिएको थियो ।

जीत शमशेरको सन् १९१३ मा निधन भएपछि दरबारलाई महाराजकुमार अग्नी शमशेर जबराले लिएका थिए । उनी जुघ शमशेरका छोरा थिए । अग्नी शमशेरका नातिनीहरु रानीहरु एश्वर्या शाह, कोमल शाह र राजकुमारी प्रेक्षा यही दरबारमा जन्मिएका थिए ।

माया म्यानोर

काठमाडौंको हात्तिसारमा रहेको ९५ वर्ष पुरानो दरबार रिनोभेसन गरेर माया म्यानोर होटल सञ्चालन भइरकेको छ । यो बलराम समशेरको दरबार हो ।

भिक्टोरियन शैलीको दरबारलाई रिनोभेसन गरेर अनि छेवैमा उस्तै देखिने नयाँ भवन बनाएर होटल खोलिएको हो । माया म्यानोरमा ४६ वटा रुम छन् ।

नोया होटल

काठमाडौंको गैरीधारामा रहेको नोया होटल पनि दरबार थियो । ११ कोठासहितको यो होटल पनि राणाहरुले सन् १९८० मा बनाएका थिए । तत्कालिन समयमा राणाहरु बेलायती आर्किटेक्टबाट निकै प्रभावित थिए । जसले गर्दा उनीहरु पनि विशाल दरबार निर्माणमा रुचि राख्थे ।


पुष्प दुलाल