अर्थमन्त्रीको निर्देशनमा वाणिज्य बैंकले ब्याजदर बढायो, महंगो भयो ऋणको किस्ता



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको कार्यक्रममा बैंकले निक्षेपकर्तालाई कम ब्याज दिएको भन्दै असन्तुष्टी जनाएका थिए ।

वाणिज्य बैंकको कर्जाको न्यूनतम बेसरेट सबैभन्दा कम छ । अझ अर्थमन्त्री खतिवडाले भनेको समयमा ५.५० प्रतिशत बेसरेट वाणिज्य बैंकको थियो । बैंकहरुले बेसरेटमा प्रिमियम थपेर ऋणको ब्याजदर निर्धारण गर्छन् । जसको बेसरेट कम छ त्यो बैंकको ब्याजदर कम हुन्छ ।

वाणिज्य बैंकलाई ब्याजदर बढाउन अर्थमन्त्री खतिवडाको सुझाव

२८ वटा वाणिज्य बैंकमा सबैभन्दा कम बेसरेट वाणिज्य बैंकको छ । वाणिज्य बैंकको ब्याजदर सबैभन्दा कम हुने नै भयो । तर,बैंकले असोजदेखि लागु हुने गरेर सार्वजनिक गरेको ब्याजदरमा भने बेसरेट बढेर आएको छ । बैंकको बेसरेट ६.२५ प्रतिशत रहेको छ । बैंकको बेसरेट १३.६३ प्रतिशतले बढेको छ । यसले बैंकबाट ऋण लिने ऋणीको ब्याजदर बढ्ने छ ।

बैंकले निक्षेपमा भने ब्याजदर बढाएको छैन । भदौ महिना र असोजको लागि प्रस्ताव गरिएको ब्याजदर उस्तै नै रहेको देखिन्छ । बैंकले मुद्दती निक्षेपमा ९.२५ प्रतिशत तथा बचतमा ४ प्रतिशतसम्म ब्याजदर दिदै आएको छ ।  बेसरेट बढेपनि सबैभन्दा कम बेसरेट हुनेमा राष्ट्रिय वाणिज्य बैंक नै पर्छ ।

बैंकको बेसरेट बढेपछि ब्याजदर बढ्छ । बैंकहरुले पुराना ऋणीलाई पनि बेसरेट बढेको भन्दै ब्याजदर बढाउने गर्छन् । तर,बेसरेट घटेको बेला भने सहजै ब्याजदर भने नघट्ने गरेको गुनासो ऋणीहरुको रहने गरेको छ । 


क्लिकमान्डु