यो वर्ष सञ्चय कोषले २ ठूला प्रोजेक्टमा लगानी गर्ने, साढे ३ खर्ब पुँजी परिचालन



काठमाडौं । कर्मचारी सञ्चय कोषले अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ प्रतिशत बढी वित्तीय स्रोत व्यवस्थापन गरेको छ ।

कोषले २०७६ साल असार मसान्तसम्मा ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको हो । कोषले संकलन गरेको उक्त रकम ६ लाख ३४५ सञ्चयकर्ता र ५ सय कोषमा कार्यरत कर्मचारीहरुको वित्तीय व्यस्थापन गरेको हो ।

कोष द्धारा उक्त वित्तीय स्रोतको ९८ प्रतिशत अर्थात ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसबाट कुल २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको कोषको ५८औं वार्षिकोसवको अवसरमा प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

‘कोषले बैंकहरुको सहवित्तीयकरणमा सहभागी भएर चालु आर्थिक वर्ष २ वटा ठुला परियोजनामा लगानी गर्ने निणर्य गरेको छ,’ गौतमले भने ‘लगानीका केही परियाजनाहरु अध्ययनका क्रममा छन् ।’

यसैगरि, कुल संकलित रकममध्ये ५३ प्रतिशत रकम कर्मचारीमा कर्जा सापटी, १६ प्रतिशत विभिन्न परियोजनमा, २३ प्रतिशत बैंकहरुको मुद्दति निक्षेपमा र ८ प्रतिशत अन्य क्षेत्रमा लगानी गरेको प्रशासक गौतमले बताए ।

कुल लगानीबाट कोषले सञ्चयकर्तालाई प्रदान गरिएको व्याज तथा कोषको सञ्चालन खर्च कटाउँदा ३ अर्ब ७५ करोड खुद मुनाफा हुने बताइएको छ ।

यसैगरि, गत वर्ष ४ वटा कम्पनीको शेयरमा लगानी गरिएसँगै कोषबाट शेयर लगानी भएका कम्पनीको संख्या २० पुगेको छ । कोषले करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्रलाई दोस्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दति निक्षेपमा लगानी गरेकोे छ । यस निर्णयबाट कोषको प्रतिफलमा बार्षिक करिब ७५ करोड रुपैयाँ वृद्धि भएको छ ।

लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत भन्दाबढी रकम व्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रूपमा सञ्चयकर्तालाई नै प्रदान गर्ने गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा भएको ३ अर्ब ९४ करोड खुद नाफामध्ये २ अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको कोषका प्रशासक गौतमले बताए ।

यस्तै, कोषले प्रभावकारी र गुणस्तरीय सेवाकोलागि पर्याप्त र विशवसनीय सुचना आवश्यक पर्ने भएकाले ग्राहक पहिचान फाराम (केवाईसी) को माध्यमबाट फोटो, दस्तखत र औंठाछाप सहितको सञ्चयकर्ताको विवरण विद्युतीय माध्यमबाट संकलन प्रारम्भ गरी २ लाख ५० हजारभन्दा बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गराइसकेको र चालु आर्थिक वर्षभित्र यो अभियान सम्पन्न गर्ने कोषको योजना छ ।

यस्तै कोषको पेन्सनको व्यवस्थाको लागि आवश्यक पर्ने संरचनागत प्रक्रिया तथा प्रणाली सुरु गरेको छ । सरकारले गतवर्षको साउन १ देखि नियुक्ती हुने सरकारी कर्मचारीलाई पेन्सन दिदैन । यसको लागि सरकारले कोषको व्यवस्था गरेको छ । जसको संचालन कर्मचारी संचय कोषले गर्ने छ ।

 


पुष्प दुलाल