पेट्रोलियम ढुवानी महासंघद्वारा आन्दोलन स्थगित


काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले बिहिबारदेखि गर्ने भनेको आन्दोलन तत्कालको लागि फिर्ता लिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अवेर रातिसम्म भएको वार्ताको क्रममा महासंघले उठाएको मागहरुको बारेमा अध्ययन गरी प्राप्त सुझाव यथाशिघ्र कार्यान्वयनमा लैजाने बिषयमा सहमति भएपछि तत्कालको लागि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको महासंघले जनाएको छ ।

वार्ता मन्त्रालयका सहसचिब तथा नेपाल आयल निगमका सञ्चालक समिति सदस्य शिवराम पोखरेलको संयोजकत्वमा भएको थियो ।

वार्ताको क्रमा पोखरेलको संयोजकत्वमा यातायात व्यवस्था विभागका प्रतिनिधि, निगमका दुई जना प्रतिनिधि, महासंघका दुई जना प्रतिनिधि र काठमाडौं विश्व विद्यालयको सम्बन्धित विषय विज्ञ सम्मिलित सात सदस्यीय अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।

यो कार्यदललाई १५ दिनभित्र अध्ययन गरी रायसुझावसहित प्रतिवेदन बुझाउन समय दिइएको छ ।

यसअघि बुधबार साँझ ६ बजे महासंघले बिहिबारदेखि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

महासंघले देशभरको डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याँकरको ढुवानी भाडा समय सापेक्ष समायोजन गर्नुपर्ने, सञ्चालन खर्च घट-बढ हुँदा पूर्व निर्णय अनुसार सोही अनुपातमा समायोजन हुनुपर्ने, नेपाल आयल निगमबाट करारमा सञ्चालित ट्याँकरको ढुवानी भाडामा बास्तविक ट्रिप सँख्या यकिन गरी यथार्थ सञ्चालन खर्च, मर्मत सम्भार, खुराकी, तलब खर्चलगायतका माग राखेर महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

महासंघका अध्यक्ष मनोज दासले १८ पटकसम्म विभागीय मन्त्रीसहित निगमका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको र ५ पटक लिखित सम्झौता गरेर पनि निगमले उक्त सम्झौता कार्यान्वयनमा नल्याएको भन्दै आन्दोलन घोषणा गरेको थियो ।