अर्थतन्त्रमा संकुचनको संकेत: आयात घट्दा खुसीयाली देखिएन, राजस्व पनि घट्यो



काठमाडौं । भन्सार शुल्कमा बृद्धिको कारण साउन महिनामा आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ खर्ब ६ अर्ब रुपैयाँको आयात भएको छ ।

अघिल्लो वर्ष साउन महिनामा १ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो ।

यस्तै निर्यातमा भने ठूलो सुधार भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा साउन महिनामा २७.६८ प्रतिशतले निर्यात बढेको छ । साउन महिनामा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

आयातमा आएको कमीको कारण व्यापारघाटा ९.३९ प्रतिशतले घटेको छ । आयात घट्दा खुसुी हुनुपर्ने भएपनि नेपालभित्रको आर्थिक क्रियाकलापमा आएको कमीको कारण आयात घटेको हो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ पहिलो ३ महिनामा दशैं तिहारको लागि लक्षित गरेर आयात बढ्ने भएपनि त्यसपछिका महिनाहरुमा अझै आयात घट्ने बताउँछन् ।

‘आयात घट्नु र निर्यात बढ्नु राम्रो भएपनि यहाँ उत्पादन भएको सामाग्रीको कारण त्यो भएको होइन, भन्सार शुल्कमा गरिएको बृद्धिको कारण आयात निरुत्साहन भएको हो,’ उनले भने ।

सरकारले साउन महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन गरेको छैन । अझ आयात कम भएपछि भन्सार राजस्व अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष साउन महिनामा २८ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा यो वर्ष २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आयात बढाएर राजस्वको लक्ष्य पुरा गर्नेमा आफु नभएको बताएका थिए । गतसाता नाडाले आयोजना गरेको अटो मेलाको उद्घाटनको क्रममा अर्थमन्त्री खतिवडाले राजस्व बढाउनको लागि आफुहरु आयात बढाउने पक्षमा नभएको बताएका थिए ।

आर्थिक क्रियाकलापमा आएको कमीको कारण आयात घटेको बुझाई सरकारी अधिकारीहरुको पनि रहेको छ । भन्नलाई सरकारले गरेको राम्रो कामको रुपमा आयात घटेको भन्न सकिएपनि यसको अर्थ आर्थिक क्रियाकलापमा कमी आउनु भएको बुझाई उनीइहरुको छ ।

अर्थशास्त्री केशव आचार्य आयात घट्नु अर्थतन्त्रको लागि राम्रो भएपनि यसले आर्थिक क्रियाकलापहरु घटेको संकेत गर्न सक्ने बताउँछन् ।

‘हाम्रो अर्थतन्त्रको संरचना आयातमा आधारित छ, सरकारले आयात घटाउने नीतिसँगै चालुखर्च घटाउने काम गरेको छैन, जसले अर्थतन्त्रमा थप समस्या सिर्जना गर्न सक्छ,’ आचार्यले भने ।

सरकारले चालु खर्च घटाउने गरी आयात घटाउने र राजस्व कम आएपनि हुने नीति लिएको भए फरक नपर्ने भन्दै आचार्यले चालु खर्च बढेको बेला राजस्व कम हुँदा बजेट प्रणालीमा दवाव सिर्जना हुने बताए ।

‘चालु खर्च घटाउदा आयात कम भएर राजस्व कम उठ्दा पनि केही फरक पर्ने थिएन,तर,चालु खर्च बढेको छ,राजस्व कम हुँदा थप दवाव हुन्छ,’ उनले भने ।

भन्सार विभागका अनुसार साउन महिनामा ६७ अर्ब रुपैयाँको सामान भारतबाट आएको छ । चीनबाट १८ अर्बको सामान आयात भएको छ ।


पुष्प दुलाल