प्रभु बैंक मर्जरमा नजाने, एक्वायरमा जान तयार रहेको भन्दै राष्ट्र बैंकमा प्रतिवद्धतापत्र पठायो



काठमाडौं । प्रभु बैंकले एक्विजिसनमा जान तयार रहेको भन्दै राष्ट्र बैंकमा प्रतिवद्धतापत्र पठाएको छ । बुधबार ५ बजे बैंकले राष्ट्र बैंकलाई पत्र बुझाएको हो ।

बैंकको साधारणसभाले मर्जरमा जाने अप्सन बन्द गरेर एक्विजिसनमा मात्रै जाने निर्णय गरेको उल्लेख गर्दै एक्विजिसन प्रक्रियामा गएर राष्ट्र बैंकको निर्देशन पालना गर्ने भन्दै बैंकले राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते बैंकका अध्यक्ष र सीइओहरुलाई मौद्रिक नीतिअघि नै मर्जरको लिखित प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए । त्यसयता प्रभु बैंकको सञ्चालक समितिको बैठक २ पटक बसेको छ ।

असार १९ गते र असार २३ गते बैंक सञ्चालक समितिको बैठक बसेको छ। २३ गतेको बैठकले राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रभु बैंकको बोर्ड बैठकः कमजोर संस्था खोजेर एक्वायर गर्ने निर्णय, जोडी खोज्न सबै लाग्ने

‘हाम्रो साधारणसभाले मर्जरमा जाने अप्सन नै खुल्ला गरेको छैन, एक्वायर गर्नसक्ने मात्रै अप्सन छ,’ बैंकका सीइओ अशोक शेरचनले क्लिकमाण्डूसँग भने, ‘यो कुराको अवगत गराउँदै २ दिनअघि हामी एक्वायरमा जान तयार छौं भनेर राष्ट्र बैंकमा प्रतिवद्धता पठाएका छौं ।’

नयाँ पुस्ताका र पूरानै पुस्ताका भएपनि अत्यन्तै कमजोर प्रफरमेन्स गरिरहेका संस्थामा प्रभुले नजर लगाएको छ ।

‘हामी एक्वायर गर्ने भएकाले आफूभन्दा बलियो र आफू सरहको संस्थासँग कुरै गर्दैनौं,’ बैंकका एक सञ्चालकले भने, ‘६÷७ वटा कमजोर भनिएका बैंकसँग मात्रै कुरा गर्छौं ।’

तत्कालीन प्रभु फाइनान्सले किष्ट र ग्राण्ड दुई वाणिज्य बैंकसहित, नेपाल विकास बैंक, जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकलाई गाभेर प्रभु बैंकको रुपमा सञ्चालन भइरहेको छ ।

‘विगतको मर्जरमा हामीले ठूलो दुख पायौं, त्यसैले अब मर्जरमा होइन एक्वायरमा मात्रै जाने नीति बनाएका हौं,’ ती सञ्चालकले भने ।
प्रभुले मेगा बैंकसँग दुई पटक एक्विजिसनको प्रारम्भिक छलफल गरिसकेको छ भने सिभिल बैंकलाई पनि छलफल गरौं भनेर प्रस्ताव पठाएको छ ।

प्रभु बैंकले सिभिल बैंकलाई मर्जरको प्रस्ताव गर्यो, संभावना कति ?

प्रभु बैंक व्यावसायिक घराना प्रभु समूहको ठूलो लगानी भएको बैंक हो । प्रभु समूह पछिल्लो समय व्यावसायिक जगतमा उल्लेख्य प्रगति गरेको समूहको हो । बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन प्रभु समूहका अध्यक्ष हुन् ।

प्रभु समूहले प्रभु बैंक, प्रभु लाइफ र ननलाइफ इन्सोरेन्स, प्रभु रेमिट्यान्स, प्रभु सहकारी, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु टिभी लगायत सञ्चालन गरिरहेको छ भने अन्य विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

चार्टर्डले भन्यो- मर्जरमा जानसक्ने अवस्था छैन, एनबी भन्छ- विदेशी साझेदारसँग छलफल गर्दैर्छौं

प्रभु सहित २२ वटा वाणिज्य बैंकले राष्ट्र बैंकसमक्ष आफ्नो धारणा लिखितरुपमा बुझाएका छन् । जसमध्ये ग्लोबल आइएमइ र जनता बैंकले मर्जरको सम्झौता गरिसकेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले मर्जरमा जान नसक्ने जानकारी गराएको छ । एनबी बैंकले विदेशी साझेदारसँग थप छलफल आवश्यक रहेको भन्ने जानकारी गराएको छ ।

अधिकांश बैंकले मर्जर कमिटि गठन गरेर उपयुक्त जोडी खोजिइरहेको भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।


पुष्प दुलाल