पर्यटनमा उत्साही लगानीकर्ता, होटल र क्यासिनो बढे



काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा त्यसको पूर्वसन्ध्यामा होटलहरुको संख्यामा वृद्धि भएको छ । एक वर्षको अवधिमा मात्रै पर्यटकीय स्तरको होटल, लज तथा रिसोर्टको संख्या १५.१ प्रतिशतले वृद्धि भएको छ ।

अर्थमन्त्रालयको आर्थिक सर्वेक्षणमा तारे स्तर बाहेकको पर्यटकस्तरीय र होटल, लज तथा रिसोर्टको संख्या आर्थिक वर्ष २०७४/०७५ सम्म ९७७ रहेकोमा आर्थिक वर्ष २०७५/७६ को पुससम्म्मा १,१२५ पुगेको छ । यस अवधिमा ३२४ होमस्टे सञ्चालनमा छन् ।

२० लाख पर्यटक ल्याउने लक्ष्य सहित भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सरकारको अभियानमा पर्यटनकर्मीहरु पनि उत्साही देखिएको प्रष्ट हुन्छ । नेपालको पर्यटन क्षेत्रमा भएको प्रचुर सम्भावना र अवसरलाई देखेरै स्वदेशी र विदेशी लगानीमा होटलहरु सञ्चालनमा आइरहेका छन् ।

पाँच तारे होटलहरुको सख्या बढिरहेको छ भने राजधानी मै पनि नयाँ पाँच तारे होटलहरु निर्माणको क्रममा छन् । हाल होटल क्षेत्रमा २ खर्बको लगानी भइसकेको छ । साथै ३३ अर्बभन्दा बढी लगानीमा नयाँ होटलहरु निर्माण भइरहेको होटल एसोसिएसन अफ नेपाल (हान)ले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पुससम्म पर्यटक स्तरीय होटलको संख्या मात्रै १२९ पुगेको छ । यो संख्या अघिल्लो वर्ष १२५ थियो । यो वर्ष मात्रै राजधानीमा विश्वप्रसिद्ध चेन होटल मेरियटले सेवा सुरु गरिसकेको छ । ४ अर्ब लगानीमा सुरु गरिएको यो होटल राजधानीको नक्सालमा छ । यो संख्यासँगै नेपालमा पाँच तारे होटलको संख्या १४ पुगेको छ । जसमा २ वटा बन्द अवस्थामा छन् ।

काठमाडौं बाहिर पाँच तारे होटलको संख्या ५ पुगेको छ । हाल राजधानीमा याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रेजेन्सी, सोल्टी क्राउन प्लाजा, र्याडिसन, सांग्रिंला र मेरियट सञ्चालनमा छन् । काठमाडौंको होटल एभरेष्ट बन्द अवस्थामा छ ।

अब बन्ने होटलमा गैर आवासीय नेपाली शेष घलेको सेराटन, सिटी होटल (कालिमाटी), होटल क्राउन इन्पेरियल (रविभवन), एभरेष्ट हस्पिटालिटी (नक्साल), जगदम्बा हस्पिटालिटी, अकला होटल (धुम्बाराही) र होटल ले शेर्पा छन् । राजधानी बाहिर रारा परियोजना, होटल टाइगरवन, रुपन्देही, होटल पवन प्यालेस (लुम्बिनी) र होटल मेची क्राउन (झापा) छन् ।

काठमाडौंबाहिर पोखरामा ग्रान्ड होटल सञ्चालनमा छ भने फूलबारी रिसोर्ट बन्द अवस्थामा छ । भैरहवाको टाइगर प्यालेस रिसोर्ट पनि सञ्चालनमा छ ।

नेपालगञ्जको सोल्टी वेन्सटेन्ड प्रिमियर र सेन्टर प्लाजा सञ्चालनमा छन् ।
होटल मेरियट सञ्चालनमा ल्याएका सञ्चालक शशिकान्त अग्रवालले होटलमा लगानी बढे पनि सोही अनुसारको सरकारले नीति नल्याएको बताउँछन् । भन्छन, ‘लगानी बढेको छ, तर सरकारी नीति भएन, गुणस्तरीय पर्यटक नै आएनन, संख्या मात्रै बढेर भएन, खर्च गर्नसक्ने पर्यटक पनि आउनु पर्यो ।’

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा पनि पर्यटकको संख्या बढे पनि गत आम्दानी भने नबढेको देखिएको छ । सन् २०१७ मा प्रति दिन प्रति पर्यटकले ५४ अमेरिकी डलर खर्च गर्दथे भने सन् २०१८ मा आइपुग्दा यो रकम प्रतिदिन प्रति पर्यटक ४४ अमेरिकी डलरमा झरेको थियो ।

‘सरकारले भ्रमण वर्ष २०२० मनाउने त घोषणा गर्यो, तर त्यसअनुरुप काम गर्न सकेन । पर्यटकलाई लोभ्याउने गरी भौतिक पूर्वाधार निर्माणमा, सास्कृतिक विकासमा काम नै गर्न सकेन, यसले होटलमा लगानी भए पनि चल्ने भने गाह्रो हुन्छ’ अग्रवालले भने ।

पर्यटन क्षेत्रमा व्यवसायीहरुको उत्साहवर्दक लगानीलाई सम्मान गर्दैै सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने उनले सुझाव छ ।

तार स्तरका होटलको कोठा संख्या आर्थिक वर्ष २०७४/७५ सम्म १० हजार ६ सय ९७ भएकोमा चालु आर्थिक वर्षको पुसम्म ११ हजार १ सय ४६ पुगेको छ । तारा होटल पर्यटक स्तरीय होटल, लज तथा रिसोटर्एको कोठाको संख्या चालु आर्थिक पुससम्ममा २९ हजार १ सय ३६ पुगेको छ । सो अनुरुप आर्थिक वर्ष २०७५÷७६ को पुससम्ममा पर्यटकीयस्तरीय होटलको संख्या १२५४ र कोठाको संख्या ४० हजार ८५६ पुगेको छ ।

आर्थिक वर्ष २०७४/०७५ सम्ममा ७ वटा क्यासिनो सञ्चालन भएकोमा आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म १ क्यासिनो थप भइ हाल ८ वटा क्यासिनो २ वटा मिनि क्यासिनो सञ्चालनमा छन् ।


क्लिकमान्डु