पर्यटक बढ्दापनि आम्दानी बढेनः पारदर्शी नहुँदा आम्दानी खुलेन



काठमाडौं । नेपाल भित्रने पर्यटकको संख्या वर्षेनी बढे पनि आम्दानी भने सोही अनुपातमा बढ्न सकेको छैन् । सन् २०१७ को तुलनामा सन् २०१८ मा पर्यटकको संख्या बढे पनि आम्दानी भने नबढेको अर्थमन्त्रालयले गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ मा देखिएको छ ।

सर्वेक्षणका अनुसार सन् २०१७ मा पर्यटकको औसत १२.६ दिनको बसाइ अवधि थियो । जसमा प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर थियो । तर सन् २०१८ मा प्रति पर्यटक औसत १२.४ दिनको बसाइ अवधि थियो । र, प्रतिदिन पर्यटक खर्च प्रतिदिन १० डलरले कमी भएर अमेरिकी डलर ४४ थियो । यसरी सन् २०१८ मा पर्यटक आगमनमा वृद्धि भएतापनि पर्यटकको औसत बसाइ अवधि घटेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा पर्यटन क्षेत्रबाट रु ६७ अर्ब ९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको थियो । यो कुल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.९ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.५ प्रतिशत, आर्जित कुल विदेशी मुद्राको अनुपातमा ५.० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २.२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७५/०७६ को फागुनसम्म पर्यटन क्षेत्रबाट रु ४७ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो कुल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ६६.५ प्रतिशत, कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत र आर्जित कुल विदेशी मुद्राको अनुपातमा ४.८ प्रतिशत थियो ।

सन् २०१७ मा नेपाल आउने पर्यटकको संख्या ९ लाख ४० हजार २१८ थियो तर सन् २०१८ मा आइपुग्दा यो संख्या ११ लाख ७३ हजार ७२ पुगेको थियो । जुन २४.७७ प्रतिशतले बढी हो । तर सोही अनुपातमा आम्दानी भने बढेन ।

अर्थविद् विश्व पौडेल पर्यटकले गर्ने खर्चमा पारदर्शिता नभएको विश्लेषण गर्छन् । भन्छन, ‘पर्यटकले गर्ने खर्चमा पारदर्शिता भएन, पेमेन्ट सिस्टम पनि इन्टरनेशनल हुन थालेको जसले गर्दा उनीहरुले गर्ने खर्च देखिएन ।’ सरकारको सोच पर्यटनमा कसरी आम्दानी कसरी बढाउने भन्नेमा भएन ।

त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल विच्याट र अलिपे जस्ता इन्टरनेशनल पेमेन्ट सिस्टमका कारणले पनि आम्दानी नबढेको बताउँछन् । नेपालमा आउने धेरै पर्यटकमध्ये चीन अग्रस्थानमा छ । त्यहाँबाट आउने पर्यटकहरुको संख्या बढे पनि भुक्तानी प्रणाली पारदर्शी नभएकाले आम्दानी बढ्न नसकेको उनको तर्क छ । अहिले सरकारले त्यस्ता भुक्तानी प्रणाली गैरकानूनी भएको भन्दै बन्द गर्न निर्देशन दिइसकेको छ ।

‘त्यतिमात्रै होइन, पर्यटकको संख्या त बढायौ, तर गुणस्तरीय पर्यटक ल्याउन सकेनौं । हामीलाई लामो दिनसम्म बस्ने, आरोहणमा जाने, ट्रेकिङमा जाने पर्यटकको संख्या बढाउनुपर्छ जसले खर्च धेरै गर्छन्’ उनले भने । पर्यटकहरु कम्तीमा २ साता बस्ने खालको भए मात्रै आम्दानी बढ्ने उनको बुझाइ छ ।


क्लिकमान्डु