ब्याजदरमा व्यापारीले पेलेपछि बैंकका सीइओ र अध्यक्षको एकैस्वर- प्रधानमन्त्रीसम्मै पुग्छौं



काठमाडौं । व्यापारीको दबाबमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र धारासायी बनाउने गरी मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामार्फत् केही नीतिगत परिवर्तन गरेकोप्रति बैंकका अध्यक्ष, सञ्चालक र सीइओहरुले कडा आपत्ति जनाएका छन् ।

व्यापारीले आन्दोलन गर्दै प्रधानमन्त्रीसम्म पुगेर बैंकिङ क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको भन्दै बैंकका अध्यक्ष तथा सञ्चालकहरु आक्रोशित भएका हुन् ।

बिहीबार राजधानीको अन्नपूर्ण होटेलमा बैंका अध्यक्ष, सञ्चालक र सीइओहरुबीच भएको छलफलले प्रधानमन्त्रीसम्म पुगेर आफ्नो पक्षमा तीब्र लविङ गर्ने निष्कर्श निकालेको छ ।

छलफलमा २८ वाणिज्य बैंकमध्ये १४ बैंकका अध्यक्ष र बाँकी बैंकका सञ्चालक उपस्थित थिए । छलफलमा बैंकर्स संघका अध्यक्षसहित केही बैंकका सीइओहरुले अध्यक्ष तथा सञ्चालकहरुलाई ब्रिफिङ गरेका थिए ।

बैंकर्स संघले भन्यो- राष्ट्र बैंकले यी व्यवस्थामा पुनर्बिचार नगरे ब्याजदर अनियन्त्रित हुनसक्छ

सीइओहरुले राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यवस्था गरिएका विषय हुबहू कार्यान्वयन हुने हो भने बैंकिङ क्षेत्र डुब्ने बताएका थिए ।

अध्यक्ष र सीइओहरुले बैंकमाथि नियोजितरुपमै आक्रम भएको भन्दै अब आफूहरु चुपचाप सहेर नबस्ने प्रष्ट पारे ।

बैंकर्स संघले बुधबार बैठक बसेर मौद्रिक नीतिको समीक्षामाथि ६ बुँदे असहमति जनाइसकेको छ । बैंकर्स संघले आफ्नो असहमति राख्दै गभर्नरलगायतका राष्ट्र बैंकको उच्च व्यवस्थापनलाई भेट्नुअघि अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरेको हो ।

स्प्रेडको नयाँ गणनाविधिले बैंकको आम्दानी ३२% ले घट्ने

सडकमा गएर दुईचार जना मान्छे उफ्रिँदैमा बैंकिङजस्तो संवेदनशील क्षेत्रलाई ध्वस्त पार्नेगरी गरिएको व्यवस्था कार्यान्वयन गर्न नदिन सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने उनीहरुले निष्कर्श निकाले ।

‘तपाईंहरु राष्ट्र बैंक र मिडियालाई कन्भिन्स गर्न लाग्नुहोस्,’ बैंकका अध्यक्षहरुको भनाई थियो, ‘हामी माथिल्लो राजनीतिक नियका (अर्थमन्त्री र प्रधानमन्त्री)सम्म लविङ गर्छौं ।’

उद्योगी व्यवसायीहरु संस्थागतरुपमा बैंकमाथि खनिएकाले अब आफूहरु पनि संस्थागतरुपमा त्यसको प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको धेरैको भनाई थियो ।

मध्यरातमा मौद्रिक नीतिको मध्यावधी समिक्षा, यस्तो छ पूर्ण पाठ

एनआसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले बैंक तथा वित्तीय संस्थालाई चोरडाँकाको जस्तो व्यवहार गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे ।

बैंकमा लगानी गरेर वर्षमा ५/७ प्रतिशत लाभांश पाउन नसक्ने अवस्था रहेको तर बैंकमा निक्षेप राख्दा १०र१२ प्रतिशत ब्याज पाउने अवस्था रहेको उनीहरुको तर्क थियो।

ग्लोब आइएमइ बैंकका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल भने छलफलमा उपस्थित थिएनन् ।

दिउँसो सवा १ बजेदेखि भएको छलफल ३ बजे सकिएको थियो ।


पुष्प दुलाल