ऋण दिनको लागि स्रोत जुटाउन बैंकको प्राथमिकता ऋणपत्र, राष्ट्र बैंकले बढायो सीमा



काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनामा १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्यो । जसको ब्याजदर ११ प्रतिशत थियो ।

अहिले एनआईसी एशिया बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने तयारी गरेको छ । एनआईसीले भदौमा पनि र अब जारी गर्न लागेको ऋणपत्रमा ११ प्रतिशत ब्याजदर दिने जनाएको छ । जसमा ८० प्रतिशत सर्वसाधरणले र बाँकी २० प्रतिशत संस्थागत लगानीकर्ताले लगानी गर्न पाउनेछन् ।

सानिमा बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । सिदार्थ बैंकले पनि २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र जारी गर्नको लागि धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । जसमा सानिमाले साढे १० प्रतिशत ब्याजदर दिने अफर गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको पुँजीकोष अनुपातमा ऋणपत्रलाई पुरक पुँजीको रुपमा लिएर गणना गर्न सकिने सुविधा छ । पुँजीकोष अनुपात मिलाउदा ५ प्रतिशत हिस्सा मात्र पुरक पुँजीबाट मिलाउन पाउने व्यवस्था छ ।

पुरक पुँजी गणनाको लागि ऋणपत्र निकाष्सन गर्न लागेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘थप व्यवसाय विस्तारको लागि ऋणपत्र निकाष्सन गरेको हो,जसबाट थप रकम निक्षेप तथा ऋण दिनको लागि सहयोग पुग्छ।’

राष्ट्र बैंकले २०७२ सालमा ल्याएको मौद्रिक नीतिबाट वाणिज्य बैंकको चुक्ता पुँजी चार गुणाले बढाएको थियो । अझै केही बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको छैन । ८ अर्ब चुक्ता पुँजी पुर्याएका बैंकलाई समेत व्यवसाय विस्तार गर्नको लागि असजिलो भएपछि ऋणपत्र निष्कासन गर्नुपर्ने अवस्था आएको हो ।

‘केही बैंकलाई व्यवसाय विस्तार गर्नको लागि अहिलेको पुँजीले पुग्ने अवस्था छैन,यस्तोमा बैंकहरुले ऋणपत्र निकाष्सन गरेका हुन्, जुन रकमबाट बैंकलाई दीर्घकालिन रुपमा कर्जा दिन समेत मिल्छ,’ एक बैंकरले भने ।

ऋणपत्र निष्कासनको सीमा बढ्यो

राष्ट्र बैंकको नीति समेत अहिले वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्नको लागि प्रोत्साहन गर्ने खालको छ । केही समय अगाडि राष्ट्र बैंकले वाणिज्य बैंकले कोर क्यापिटलको ५० प्रतिशतसम्म ऋणपत्र निकाष्सन गर्न पाउने व्यवस्थालाई परिवर्तन गरेर शतप्रतिशतसम्म ऋणपत्र निकाष्सन गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बैंकहरुबाट ऋणपत्र निकाष्सनको लागि माग बढेपछि ऋणपत्र निकाष्सनको सीमा बढाइएको बताए ।

‘यसले बैंकलाई लामो समयसम्मको लागि चाहिने स्रोत जुटाउन मद्दत पुग्छ,जसले गर्दा बैंकको व्यवसाय विस्तारमा समेत योगदान मिल्छ।’

राष्ट्र बैंकको ऋणपत्रको प्रोत्साहनको नीतिले आधा दर्जन जति बैंकले पनि ऋणपत्र निष्कासनको तयारी गरेका छन् ।

जोखिम लिन नचाहने लगानीकर्ताको लागि बैंकले निकाल्ने ऋणपत्र भने लगानीको लागि एउटा औजार हुनसक्छ । अब आउन लागेका सानिमा र एनआईसीको ऋणपत्रमा एनआईसीमा ११ र सानिमा साढे १० प्रतिशत ब्याजदर छ । यो ब्याजदर ऋणपत्रको अवधी पुरा नहुँदासम्म घट्दै । बैंकले ऋणपत्रको स्किम अनुसार हरेक तीन महिनामा ब्याज दिएको हुन्छ । जुन लगानीकर्ताको फाइदाजनक छ ।


क्लिकमान्डु