काठमाण्डौ उपत्यकामा जग्गाको मूल्याङ्कन बढ्यो, न्यूनतम मूल्य कहाँ कति ?



काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्याङ्कन बढेको छ । काठमाडौंमा २२ प्रतिशत, भक्तपुरमा ७ देखि १७ प्रतिशत र ललितपुरमा १० देखि १५ प्रतिशतले जग्गाको मूल्याङ्कन बढेको हो ।

मालपोत नियममावली २०३६ को नियम ५ ख को उपनियम ४ बमोजिम जग्गासँग सडक बाटो जोडिए÷नजोडिएको, जग्गाको प्रयोजनको अवस्था अनुसार सो क्षेत्रहरुको खरिद बिक्री मूल्य बढाइएको हो ।

मालपोत कार्यालयका अनुसार रिङरोड चक्रपथ ट्रयाकसँग जोडिएका बल्खुदेखि वनस्थलीसम्मका जग्गाको न्यूनतम मूल्य ३२ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।

काठमाडौं महानगरपालिका भित्र रहेका कालिमाटी चोक, विष्णुमती खोला पुल, टेकु, सोल्टीमोड, कलंकी, बल्खु लगायतका हाइवे सडकका कच्ची मोटर बाटोसँग जोडिएको जग्गाको न्यूनतम १३ लाख, गोरेटो बाटोभएको जग्गाको ८ लाख र बाटो नभएको जग्गाको ५ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

सीतापाइला, छाउनी, डल्लु, स्वयम्भु, परिक्रमा मार्ग लगायतका विभिन्न क्षेत्रहरुमा कच्ची मोटर बाटोमा १४ लाख रुपैयाँ, गोरेटो बाटोमा १० लाख ५० हजार रुपैयाँ प्रतिआना, बाटो नभएका जग्गामा ८ लाख रुपैयाँ प्रतिआना मूल्य तोकिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

यस्तै, किर्तिपुर नगरपालिकामा बाटो नभएका जग्गाहरुमा ४ लाख रुपैयाँ प्रतिआनादेखि बाटो गएर पिच भएका जग्गाहरुमा १३ लाख ५० हजार रुपैयाँ प्रतिआना मूल्य तोकिएको छ ।

नार्गाजुन नगरपालिका अन्तर्गत बाटो भएका जग्गाको न्यूनतम मूल्य १२ लाख रुपैयाँ प्रतिआना तोकिएको छ । कच्ची सडक भएका जग्गाको मूल्य ६ लाख रुपैयाँ प्रतिआना, गोरेटो सडकको जग्गा प्रतिआना ३ लाख र बाटो नभएका जग्गाहरुको मूल्य १ लाख ५० हजार रुपैयाँ तोकिएको विभागका प्रवक्ता रामदत्त भट्टले जानकारी दिए ।

चन्द्रगिरीमा १ लाख रुपैयाँ प्रतिआनादेखि १२ लाख रुपैयाँ प्रति आना न्यून मूल्याङ्कन गरिएको छ ।

दक्षिणकालीमा बाटो नभएका जग्गाहरु प्रतिआना २० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँ प्रतिआनासम्म मूल्याङ्कन गरिएको छ ।

भक्तपुरमा जग्गाको मूल्य ७ देखि १७ प्रतिशतले बढेको भक्तपुर मालपोत कार्यालयका प्रमुख अरुणदयमान रञ्जीतले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भक्तपुरका सबै जसो ठाउँमा मूल्य बढेको छ । भक्तपुरमा अरनिको राजमार्गले छोएका जग्गाहरुको न्यूनतम मूल्य प्रतिआना १८ लाख रुपैयाँ तोकिएको छ ।

कच्ची बाटो भएका जग्गाहरु १ लाख ३० हजार रुपैयाँ प्रतिआना तोकिएको रञ्जितले जानकारी दिए ।

यस्तै, ललितपुर जिल्लामा जग्गाको मूल्याङ्कन १० देखि १५ प्रतिशतले बढेको ललितपुर मालपोत कार्यालयका प्रमुख भीम गौतमले जानकारी दिए ।


क्लिकमान्डु