
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईले) ले शुक्रबार भएको राजावादीकाे आन्दोलनबाट भएको जनधनको नोक्सानीमा क्षतिपूर्ति भराउन माग गरेको छ ।
महासंघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपूर्ति हुनुपर्ने माग राखेको छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय भएको महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेकाे छ ।
महासघले भनेकाे छ, ‘विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
२०८१ चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलन/प्रर्दशनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमणप्रति महासंघले दुख व्यक्त गरेको छ । आन्दोलन/प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना पनि महासंघले गरेकाे छ ।
प्रतिक्रिया