
काठमाडौं । गृहमन्त्री रमेश लेखक शुक्रबार राजावादीहरूद्वारा गरिएको तोडफोड तथा हिंसात्मक आगजनी भएका स्थलहरूको अवलोकन गर्न जाने भएका छन् ।
गृहमन्त्री लेखक बिहान ९ बजे तीनकुने, सिनामंगल, जडिबुटी, बालकुमारी लगायतका क्षेत्रमा गएर राजावादीहरूले गरेको विध्वंसको स्थलगत निरीक्षण गर्ने तयारीमा रहेको उनका सचिवालयले जनाएको छ ।
शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादीहरूले हिंसात्मक प्रदर्शन गर्दा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा कीर्तिपुर-४ निवासी सविन महर्जन प्रहरीको गोली लागी ज्यान गुमाएका थिए । साथै, राजावादीहरूले निजी घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
प्रतिक्रिया