किसान भन्छन्- ‘सुकुम्बासी थेँ, तरकारी खेती गरेरै मालिक बनेँ’



मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा-१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेका छन् । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बसेका यामलाल परिवार पाल्न दास ७ वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गगर्थे ।

अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ ।

खेती सुरु गरेको पहिलो वर्ष यामलालले २ लाख नाफा कमाए । ६ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उनले भने- ‘सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।’

अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत गर्यो भने तरकारी खेतीबाटै अहिले वार्षिक ५ लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उनको परिवारको उत्तिकै साथ छ ।

परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताए । यामलाले भने- ‘तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।’

तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोडेका छन् । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्छन् ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भने- ‘दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ ।

सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उनी थप हौसिएका छन् ।


पुष्प दुलाल