सिसिटिभीको निगरानीमा भएका एटीएम बुथमा सुरक्षागार्ड राख्नुपर्छ कि पर्दैन ?



काठमाडौं । ह्याकरहरुले एटीएमबाटै बैंक तथा वित्तीय संस्थाको रकम चोरी गर्न थालेपछि राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम बुथमा सिसिटिभीसँगै अनिवार्य सुरक्षागार्ड राख्न निर्देशन दियो ।

राष्ट्र बैंकको उक्त निर्देशनपछि झण्डै २० करोड रुपैयाँभन्दा बढी आर्थिक भार थपिने भएपछि बैंक तथा वित्तीय संस्थाहरु चिन्तित बनेका थिए ।

अब एटिएम बुथ अगाडि अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने

सिसिटिभी क्यामरा जडान नभएका एटीएम बुथमा मात्रै सुरक्षागार्ड राख्दा हुने र सिसिटिभी जडित एटीएममा सुरक्षागार्ड नराख्दा पनि हुने भन्ने बैंक तथा वित्तीय संस्थाको भनाइपछि अहिले राष्ट्र बैंकले यसमा केही पछि हट्ने संकेत गरेको छ ।

सबै एटीएम बुथमा सुरक्षागार्ड राख्न असम्भव नहुने भएकाले बैंक तथा वित्तीय संस्थाहरुले यस्तो बताउँदै आएका थिए ।

बढ्दो एटीएम ह्याक प्रकरणलाई केही हदसम्म न्यूनिकरण गर्न राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो । तर, राष्ट्र बैंकभित्रकै अधिकारीहरु सो सर्कुलर अव्यवहारिक भएको बताउँछन् ।

‘प्रत्येक एटीएममा सुरक्षा गार्ड राख्नुपर्ने हाम्रो निर्देशन अलि अव्यवहारिक भएको भन्ने गुनासो आएको छ, के कति व्यवहारिक बनाउन सकिन्छ भनेर छलफल गर्छौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो

देशभर बैंक तथा वित्तीय संस्थाका ३ हजार ४३६ वटा एटीएम बुथ छन् । जसमा वाणिज्य बैंकका ३ हजार ६४, विकास बैंकको ३२४ र वित्त कम्पनीहरुको ४८ वटा एटीएम बुथ सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये १७/१८ सय एटीएम बुथ आफ्नै शाखा कार्यालयमा र १ हजार एटीएम बुथ लाउञ्चमा रहेको बैंकर्स संघका अधिकारीको भनाइ छ । बाँकी एटीएम बुथ अन्य ठाउँमा सञ्चालनमा छन् ।

बैंकका एटीएम सिसिटिभी निगरानीभन्दा बाहिर

राष्ट्र बैंकले २०७३ माघ १० गते नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो एटीएममा अनिवार्य सिसिटिभी राख्न निर्देशन दिएको थियो । तर आज पनि केही बैंक तथा वित्तीय संस्थाका एटिएम बुथहरु सिसिटिभीको निगरानीबाट बाहिर छन् ।

नेपालमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको एटीएमहरु प्रयोगमा आएका छन् । जसमा केही वाणिज्य बैंकहरले नै आफ्ना केही एटीएम बुथमा सिसिटिभी नराखेको भेटिएको छ ।

जसमा नेपाल बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंकलगायत केही अन्य बैंकहरुले आजसम्म पनि आफ्ना एटिएम बुथमा सिसिटिभी जडान गरेका छैनन् ।

जसमा सबैभन्दा बढी सिसिटिभी निगरानीमा नभएको एटिएम बुथ नेपाल बैंकको छ । नेपाल बैंकको हालसम्म सञ्चालन रहेका एटीएम बुथहरुमा १० वटा एटिएम बुथमा आज पनि सिसिटिभी जडान गरिएको छैन ।

त्यसैगरी, नेपाल एसबिआइ बैंकका ३ वटा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ वटा र प्रभु बैंक १ वटा एटीएम बुथमा सिसिटिभी क्यामरा जडान गरिएको छैन । अन्य बैंकहरुको पनि केही एटीएम बुथमा सीसी टिभी जडान नभएको राष्ट्र बैंकले जनाएको छ ।

कुन बैंकका कति एटीएम ?

एटीएम कार्ड प्रयोगकर्ता 

पछिल्ला दिनहरुमा नेपालमा प्लास्टिक मनि अर्थात् एटीएम कार्ड, भिसा कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । जसले बैंकिङ उपभोक्ताको जीवनशैलीमै ठूलो परिवर्तन ल्याएको छ । हालसम्म नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेडकार्ड प्रयोगकर्ता ६८ लाख ९९ हजार ५३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमा सबैभन्दा बढी  ६७ लाख ८५ हजार २१ जना डेविट कार्ड प्रयोगकर्ता छन् । डेविट कार्ड प्रयोगकर्ता मध्ये वाणिज्य बैंकहरुको ६४ लाख ५४ हजार २८५, विकास बैंकको २ लाख ६९ हजार ९१ र फाइनान्स कम्पनीहरुको ३७ हजार २४५ जना डेविट कार्ड प्रयोगकर्ता रहेका हुन् ।

७ बर्षमा २१ लाख ९४ हजारले बढे कार्ड प्रयोगकर्ता

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला ७ बर्षमा २१ लाख ९४ हजार कार्ड प्रयोगकर्ता बढेका छन् । २०६८ सालमा ४६ लाख ५० हजार जनाले बैंकबाट एटीएम कार्ड गरेका थिए । २०७५ सालसम्ममा त्यसको संख्या बढेर ६८ लाख ९९ हजार ५३ जनाले बैंक तथा वित्तीय संस्थाको डेविट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरेका छन् ।

यो अवधीमा तुलनात्मकरुपमा हेर्दा सबैभन्दा डेविट कार्डका प्रयोगकर्ता बढेको देखिन्छ । २०६८ साल असार मसान्तसम्ममा डेविट कार्डका प्रयोगकर्ता साढे ४६ लाख थिए । २०७५ असार मसान्तसम्ममा डेविट कार्डका प्रयोग गर्ने प्रयोगकर्ता ६७ लाख ८५ हजार २१ पुगेका छन् । यो ७ वर्षको अवधीमा २१ लाख ३५ हजार डेविट कार्ड प्रयोगकर्ता बढेका हुन् ।


पुष्प दुलाल