राष्ट्र बैंकको एउटा सर्कुलर, जसले बैंकहरुको २० करोड खर्च बढायो



काठमाडौं । नेपाल राष्ट्र बैंकको एउटा सर्कुलरले बैंक तथा वित्तीय संस्थाहरुको २० करोड रुपैयाँ खर्च बढाइदिएको छ । राष्ट्र बैंकले यही असोज ९ गते प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न दिएको निर्देशनले बैंकहरुको सो खर्च बढाएको हो ।

‘राष्ट्र बैंकले बिहीबार जारी गरेको एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको करिब २० करोड रुपैयाँ खर्च बढाएको छ,’ बैंकर्स संघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था अव्यवहारिक हुन्छ भनेर हामीले राष्ट्र बैंकलाई भनिसकेका छौं ।’

अब एटिएम बुथ अगाडि अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नुपर्ने

बैंकरहरुका अनुसार एकजना सुरक्षा गार्डको मासिक खर्च ३० देखि ४० हजार रुपैयाँ हुन्छ । बेसिक सेलरी कम भएपनि भत्ता, सामाजिक सुरक्षा कोष, ओभरटाइम, बोनस, दशैंखर्च लगायत गर्दा औषतमा उक्त रकम खर्च हुन्छ ।

देशभर बैंक तथा वित्तीय संस्थाहरुका ३३१६ वटा एटीएम बुथ छन् । जसमा वाणिज्य बैंकहरुको २९५१, विकास बैंकको ३१८ र वित्त कम्पनीहरुको ४७ वटा एटीएम बुथ सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये १७/१८ सय एटीएम बुथ आफ्नै शाखा कार्यालयमा र १००० एटीएम बुथ लाउञ्चमा रहेको बैंकर्स संघका अधिकारीहरु बताउँछन् । र, बाँकी ६/७ सय एटीएम बुथ विभिन्न ठाउँमा सञ्चालनमा छन् ।

‘आफ्नै शाखामा रहेका र लाउञ्जमा रहेका एटीएम बुथमा अहिले पनि सुरक्षा गार्डले हेरिरहेका हुन्छन्, बाँकी ६/७ सयको हाराहारीमा रहेका एटीएम बुथमा भने राष्ट्र बैंकको निर्देशन अनुसार सुरक्षा गार्ड राख्नुपर्ने भएको छ,’ एक बैंकरले भने ।

औषतमा ५०० एटीएम बुथमा सुरक्षा गार्ड राख्नु परेको खण्डमा मासिक डेढदेखि २ करोड रुपैयाँ अर्थात् वार्षिक २०/२२ करोड रुपैयाँ खर्च बढ्ने भएको छ ।

गत भदौ दोस्रो साता चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको भिसा कार्ड विभिन्न बैंकको एटीएम बुथमा छिराएर साडे ३ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेका थिए । उक्त घटनापछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा पनि घटाइसकेको छ भने प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्न बैंकहरुलाई निर्देशन पनि दिइसकेको छ ।

‘एटीएम बुथहरुमा २४ घण्टा नै सुरक्षा गार्ड राखेर विशेष निगरानी गर्नुपर्ने छ, एटिएम बुथहरुमा शंकास्पद गतिविधि भएमा यथासक्य तोकेको पदाधिकारीलाई खबर गर्नुपर्छ,’ राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थामा साइबर आक्रमण तथा अनाधकृत पहुँच भएमा यसको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई गराउनुपर्ने छ निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकको निर्देशिका सबै एटिएम बुथहरुमा लागु गर्न नसकिने बैंकरहरु बताउँछन् । केन्द्रीय कार्यालय र मुख्य शाखामा सो व्यवस्था लागु भएपनि अन्यत्र सजिलो नहुने बैंकरहरुको भनाइ छ ।

राष्ट्र बैंकले पैसाको सुरक्षाको लागि सो व्यवस्था लागु गर्नु परेको जनाएको छ । तर बैंकरहरुले भने साइबर सेक्युरिटीमा ध्यान दिनुपर्नेमा राष्ट्र बैंक पूरानो युगतिर फर्किन खोजेको बताएका छन् ।

‘रोग लाग्यो भने रोगको उपचार गर्ने हो, रोग लाग्न नदिन सतर्कता अपनाउने हो,’ एक बैंकरले भने, ‘जुन रोग लाग्यो त्यही रोगको विषेशज्ञ घरैमा राख्नू भनेजस्तै असंभव भएन र राष्ट्र बैंकको निर्देशन ।’

तर, राष्ट्र बैंकका अधिकारीहरुले भने चाडबाडको समयमा एटीएममा धेरै पैसा हुने र सुरक्षा जोखिम पनि बढी हुने भएकाले दशैंतिहार र छठ जस्ता चाडबाडका बेला बढी सुरक्षाको आवश्यकता महशुस गरेर यस्तो निर्देशन दिइएको हो ।

‘लुटेराहरुले चाडबाडको मौका नछोपुन् भनेर हामीले गार्ड राख्नुपर्ने व्यवस्था गरेका हौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘बैंक लुटिएका समाचारले सर्वसाधारणमा बैंकिङ प्रणालीप्रति नै विश्वास गुम्ने खतरा बढेपछि सुरक्षा बढाउन निर्देशन दिनू परेको हो ।’


पुष्प दुलाल