सिंगापुरको पासपोर्ट फेरि विश्वकै शक्तिशालीः नेपाल पछाडिबाट ७औं, इरान र उत्तर कोरियाको भन्दा कमजोर

0
Shares

काठमाडौं । विश्वव्यापी यात्रा र गतिशीलताको क्षेत्रमा प्रतिष्ठित ‘हेन्ली पासपोर्ट इन्डेक्स’ ले सन् २०२६ का लागि विश्वका सबैभन्दा शक्तिशाली राहदानीहरूको सूची सार्वजनिक गरेको छ ।

यस वर्षको प्रतिवेदनअनुसार दक्षिणपूर्वी एसियाली मुलुक सिंगापुर पुनः विश्वकै सबैभन्दा शक्तिशाली राहदानी भएको मुलुक बन्न सफल भएको छ । यो सूचीमा नेपाल पुच्छरबाट सातौं स्थानमा छ ।

उत्तर कोरिया र इरानको पासपोर्ट नेपालभन्दा शक्तिशाली देखिँदा पाकिस्तान, सोमालिया, सिरिया, अफगानिस्तान, इराक र यमनका पासपोर्ट नेपालको भन्दा कमजोर रहेका छन् । अफगानिस्तानको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर पासपोर्ट हो । अफगानिस्तानका नगरिकले विश्वका २३ देशमा बिनाभिसा प्रवेश पाउँछन् ।

विगत २० वर्षदेखिको ऐतिहासिक तथ्यांकलाई विश्लेषण गर्दै आएको यो सूचकांकले विश्वका १९९ वटा पासपोर्ट र २२७ वटा यात्रा गन्तव्यहरूलाई समेटेको छ । अन्तर्राष्ट्रिय वायु यातायात संघ (आईएटीए) बाट प्राप्त आधिकारिक तथ्यांकका आधारमा तयार पारिएको यस प्रतिवेदनले विश्वव्यापी नागरिकहरूको पहुँच र गतिशीलतालाई मापन गर्दछ ।

राहदानीको शक्ति मापन गर्ने आधार के हो ?

कुनै पनि मुलुकको पासपोर्ट कति शक्तिशाली छ भन्ने कुरा त्यस पासपोर्टले प्रदान गर्ने ‘भिसा–मुक्त पहुँच’ का आधारमा तय गरिन्छ ।

यसको मुख्य आधार भनेको सम्बन्धित मुलुकको राहदानी वाहकले विश्वका अन्य कतिवटा देशमा जानका लागि ‘पूर्व भिसा’ (प्रायर भिसा ) लिनु पर्दैन भन्ने हो । जसमा तीनवटा पक्षहरू समावेश गरिएका हुन्छन् ।

जसअनुसार कुनै पनि देश छिर्नुअघि वा छिरेपछि भिसा लिनु नपर्ने भिसा मुक्त प्रवेश प्रणाली, गन्तव्य मुलुकको विमानस्थल वा सीमा नाकामा पुगेपछि तुरुन्तै पाइने अन अराइभल भिसा र यात्रा अगाडि अनलाइनबाट सजिलै लिइने अनुमति-इलेक्ट्रोनिक ट्राभल अर्थोरिटीलाई आधारको रुपमा लिइएको हुन्छ ।

जुन देशको राहदानीले धेरै देशमा यस्तो सुविधा पाउँछ, त्यो देशको राहदानीलाई शक्तिशाली मानिन्छ । यसले उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक प्रभाव, आर्थिक स्थिरता र सुरक्षा स्थितिलाई पनि झल्काउँछ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ ले विश्वमा ’ग्लोबल मोबिलिटी’ (विश्वव्यापी गतिशीलता) मा ठूलो खाडल रहेको देखाएको छ। एकातिर सिंगापुर जस्ता देशका नागरिकले १९२ देशमा सहजै घुम्न पाउँछन् भने अर्कोतिर अफगानिस्तान (१०४औं स्थान, २३ स्कोर) जस्ता देशका नागरिकलाई विश्वका धेरैजसो मुलुकले कडा प्रतिबन्ध वा झन्झटिलो भिसा प्रक्रिया लगाउने गरेका छन् ।

यो प्रतिवेदन केवल पर्यटकहरूका लागि मात्र नभई सरकारहरूका लागि पनि एउटा महत्त्वपूर्ण ऐना हो। राहदानीको र्‍यांकिङ सुधार गर्नु भनेको केवल भिसा फ्री पहुँच बढाउनु मात्र नभई देशको समग्र कूटनीतिक साख, सुरक्षा व्यवस्था र आर्थिक छविलाई विश्वस्तरमा उकास्नु पनि हो ।

हेन्ली एन्ड पार्टनर्सले उल्लेख गरे अनुसार, यो सूचकांक सरकारी नीति निर्माणका लागि एक मानक उपकरण बनेको छ । नेपाल जस्ता देशका लागि आफ्नो राहदानीको शक्ति बढाउन कूटनीतिक संवाद र श्रम सम्झौताहरूमा सुधार गर्नु अनिवार्य देखिएको छ ।

विश्वका टप १० शक्तिशाली राहदानी भएका मुलुकहरूः सन् २०२६ को प्रतिवेदनअनुसार शीर्ष १० स्थानमा रहेका मुलुकहरू र उनीहरूको ‘भिसा–मुक्त स्कोर’ यस्तो छ :

१. सिंगापुरः स्कोर १९२
२. जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्सः स्कोर १८८
३. स्वीडेनः स्कोर १८७
४. बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड, नर्वे, स्पेनः स्कोर १८६
५. अस्ट्रिया, ग्रीस, माल्टा, पोर्चुगल, स्विट्जरल्याण्डः स्कोर १८५
६. हंगेरी, पोल्याण्ड, संयुक्त अधिराज्यः स्कोर १८४
७. अष्ट्रेलिया, क्यानडा, चेकिया, लातभिया, मलेसिया, न्युजिल्याण्ड, स्लोभाकिया, स्लोभेनियाः स्कोर १८३
८. क्रोएसिया, एस्टोनियाः स्कोर १८२
९. लिचटेन्स्टाइन, लिथुआनियाः स्कोर १८१
१०. आइसल्याण्ड, संयुक्त राज्य अमेरिका : स्कोर १८०

किन परे यी देशहरू ’टप १०’ को सूचीमा ?

यी मुलुकहरूको राहदानी शक्तिशाली हुनुमा केवल पर्यटकीय पहुँच मात्र नभई गहिरो कूटनीतिक र आर्थिक कारणहरू रहेका छन् ।

यस्ता देशहरूको अन्य मुलुकहरूसँग मजबुत द्विपक्षीय र बहुपक्षीय कूटनीतिक सम्बन्ध छ । विशेषगरी सिङ्गापुर, जापान र युरोपेली युनियनका देशहरूले विश्वभर ‘मैत्रीपूर्ण’ मुलुकको छवि बनाएका छन् ।

टप २० मा रहेका देशहरू विश्वका प्रमुख अर्थव्यवस्था हुन् । यी देशका नागरिकहरू अन्य देशमा अवैध रूपमा बसोबास गर्ने वा रोजगारीका लागि लुकेर बस्ने सम्भावना न्यून हुने भएकाले अन्य देशले उनीहरूलाई सजिलै प्रवेश अनुमति दिन्छन् ।

यस्ता मुलुकहरूको आन्तरिक सुरक्षा व्यवस्था कडा छ र राहदानी जारी गर्ने प्रक्रिया अत्यन्तै विश्वसनीय छ । ‘पासपोर्ट ठगी’ वा ‘नक्कली राहदानी’ को जोखिम कम भएकाले विश्वव्यापी रूपमा यिनीहरूको विश्वसनीयता बढेको हो ।

केही वर्ष अगाडिसम्म धेरै तल रहेको संयुक्त अरब इमिरेट्स यस पटक १८८ स्कोरका साथ दोस्रो स्थानमा उक्लनुले यसको सक्रिय कूटनीति र खुलापनलाई प्रस्ट पार्छ ।

नेपाल र छिमेकी मुलुकहरूको अवस्थाः

दक्षिण एसियाली क्षेत्र र छिमेकी मुलुकहरूको राहदानी शक्ति भने विश्वव्यापी औसतभन्दा निकै कमजोर देखिएको छ । प्रतिवेदनअनुसार नेपाल र यसका छिमेकीहरूको स्थान निम्नअनुसार छः

चीनः ६० औं स्थान (स्कोर ८३) – चीनले पछिल्लो समय आफ्नो राहदानीको पहुँचलाई बिस्तारै सुधार गर्दै लगेको छ ।
भारतः ८१औं स्थान (स्कोर ५६) – भारतको राहदानीले ५६ वटा गन्तव्यमा मात्र पूर्व भिसा बिना पहुँच पाउँछ ।
भुटानः ८८औं स्थान (स्कोर ४८)
श्रीलंकाः ९४औं स्थान (स्कोर ४०)
बंगलादेशः ९७औं स्थान (स्कोर ३६)
नेपालः ९८औं स्थान (स्कोर ३५)
पाकिस्तानः १०१औं स्थान (स्कोर ३०)

नेपालको कमजोर अवस्थाका कारणः
नेपाल ९८ औं स्थानमा रहनुले नेपाली राहदानीको अन्तर्राष्ट्रिय साख कमजोर रहेको देखाउँछ । नेपालको राहदानी बाहकले ३५ वटा देशमा मात्र भिसा–मुक्त वा अन–अराइभल भिसाको सुविधा पाउँछन् ।

नेपालको यो कमजोर र्‍यांकिङ हुनुमा देशको न्यून आर्थिक अवस्था, वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको असुरक्षित र अवैध बसाई, र कूटनीतिक पहलको कमीलाई मुख्य कारण मानिएको छ । धेरै विकसित मुलुकहरूले सुरक्षा चिन्ता र अवैध आप्रवासनको डरले नेपालीहरूलाई सहजै भिसा–मुक्त प्रवेश दिन हिचकिचाउने गरेका छन् ।

छिमेकी मुलुक पाकिस्तानको अवस्था त नेपालको भन्दा पनि कमजोर छ, जुन १०१औं स्थानमा रहँदै विश्वकै कमजोर राहदानी हुने सूचीको पुछारतिर रहेको छ । अर्कोतर्फ, चीनले ६०औं स्थान हासिल गरेर यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको देखिन्छ ।