अजय श्रेष्ठ पक्राउ प्रकरणमा बैंकर्स संघको बैठकः कानून संशोधन गर्न लबिङ गर्ने निर्णय



काठमाडौं । इमानदार बैंकर अजय श्रेष्ठ पक्राउ परेपछि बैंकर्स संघले यस विषयमा छलफल गरेको छ । संघको मंगलबार बसेको पूर्ण बैठकले अजय श्रेष्ठजस्ता अत्यन्तै इमानदार व्यक्ति फसेको भन्दै महान्यायधिवक्ता अग्नि खरेललाई भेटेर हिरासतमा नराखी अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो

बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई साढे ४ करोड ऋण दुरुपयोग गरेको अभियोगमा गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । यस प्रकरणमा प्रहरीले बैंकका बहालवाला र पूर्व कर्मचारीसहित संलग्न ११ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा आफूले ५० दिन लगाएर तयार पारेको अनुसन्धान प्रतिवदेन बुझाएको छ । प्रतिवेदनमा उक्त प्रकरणमा १६ जनाको संलग्नता रहेको प्रहरीको दाबी छ । अभियुक्तहरुमध्ये ५ जना फरार छन् ।

बीओके कर्जा अपचलन प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

गल्ती नगर्दा पनि बैंकरले जेल जानुपर्ने अवस्था भएको निष्कर्श निकाल्दै बैंकर्स संघले महान्यायधीवक्ता खरेललाई भेटेर श्रेष्ठको सवालका सफ्ट भइदिन आग्रह गर्ने निर्णय भएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘गल्ती गर्ने मान्छेलाई कानूनी कारबाही गर्नुपर्छ, तर अजय इमानदार र निर्दोष मान्छेहरु जेल जाने कानूनी व्यवस्था संशोधन गर्न आवश्यक छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘हाम्रो नियमन समितिमा छलफल गरेर कानून संशोधनका लागि सुझाब दिने निर्णय गरेका छौं ।’

नियमन समितिले तयार पारेको प्रतिवेदनका आधारमा संघले कानुन संशोधनका लागि राष्ट्र बैंक, अर्थमन्त्रालय र अन्य निकायहरुसँग लबिङ गर्ने निर्णय गरेको हो ।

महान्यायधीवक्ता खरेललाई भेट्ने जिम्मा संघका अध्यक्ष ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका सीइओ किरण श्रेष्ठ र इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई दिइएको छ ।

‘अब सरकारबादी मुद्दा भइसकेकाले हामीले लबिङबाहेक केही पनि गर्न सक्दैनौं,’ ढुंगानाले भने ।


पुष्प दुलाल