बीओके कर्जा अपचलन प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो



काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंक अफ काठमाण्डू (बीओके) को कर्जा अपचलन प्रकरण सम्बन्धी तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बोलाएको छ । ५० दिन लगाएको तयार पारेको रिपोर्ट प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

‘यो घटनामा १६ जनाको संलग्नता देखिएको छ,’ सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डले क्लिकमाण्डूसँग भने, ‘हामीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा भर्खरै बुझाएका छौं ।’

बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो

खोलाको जग्गा धितोमा साढे ४ करोड ऋण दिएको भेटिएपछि बैंक अफ काठमाण्डूले गत साउनमा ऋणी सुरेन्द्र श्रेष्ठविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । श्रेष्ठले २०७१ फागुनमा ऋण लिएका थिए । बैंकले पटकपटक ताकेदा गर्दा पनि ऋणको सावाँ र ब्याज नतिरेपछि धितो लिलामी गर्ने क्रममा ऋण दिएको जग्गाको धनीपुर्जा नक्कली भएको पत्ता लागेको थियो ।

ऋणी श्रेष्ठले नक्कली धनीपूर्जा बनाएर झापाको बिरिङ खोलाको जग्धा धितो राखी बैंकबाट उक्त ऋण लिएका थिए । यो प्रकरणमा प्रहरीले बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठसहित ११ जनालाई नियन्त्रणमा लिइसकेको छ । यो प्रकरणमा १६ जनाको संलग्नता देखिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


पुष्प दुलाल