बीओके कर्जा अपचलन प्रकरण: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

553
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंक अफ काठमाण्डू (बीओके) को कर्जा अपचलन प्रकरण सम्बन्धी तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बोलाएको छ । ५० दिन लगाएको तयार पारेको रिपोर्ट प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

‘यो घटनामा १६ जनाको संलग्नता देखिएको छ,’ सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डले क्लिकमाण्डूसँग भने, ‘हामीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा भर्खरै बुझाएका छौं ।’

बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो

खोलाको जग्गा धितोमा साढे ४ करोड ऋण दिएको भेटिएपछि बैंक अफ काठमाण्डूले गत साउनमा ऋणी सुरेन्द्र श्रेष्ठविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । श्रेष्ठले २०७१ फागुनमा ऋण लिएका थिए । बैंकले पटकपटक ताकेदा गर्दा पनि ऋणको सावाँ र ब्याज नतिरेपछि धितो लिलामी गर्ने क्रममा ऋण दिएको जग्गाको धनीपुर्जा नक्कली भएको पत्ता लागेको थियो ।

ऋणी श्रेष्ठले नक्कली धनीपूर्जा बनाएर झापाको बिरिङ खोलाको जग्धा धितो राखी बैंकबाट उक्त ऋण लिएका थिए । यो प्रकरणमा प्रहरीले बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठसहित ११ जनालाई नियन्त्रणमा लिइसकेको छ । यो प्रकरणमा १६ जनाको संलग्नता देखिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।