
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ र चार जना बोर्ड सदस्यहरूले बिहीबार पदभार ग्रहण गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरूले आफ्नो कार्यभार सम्हालेका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको नेतृत्व गर्ने तहमा पुग्दा थप जिम्मेवारी बोध भएको बताए । विगत दुई दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका उनले खेल र खेलाडीको विकासका लागि सरकार र खेल संघहरूसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठूलो अवसर हो,’ श्रेष्ठले भने, ‘सबै सरोकारवाला पक्ष एक भएर मात्र नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सम्भव छ ।’
राखेपको उपाध्यक्षमा नियुक्त भएसँगै श्रेष्ठले आफ्नो व्यावसायिक फुटबल करियरबाट संन्यास लिएको घोषणा गरेका छन् । राष्ट्रिय प्रतियोगिताहरूमा उच्च श्रेणीको प्रदर्शण गर्दै आएका श्रेष्ठ कप्तान किरण चेमजोमको छायाँमा पर्ने गरेका थिए । उनले राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका छन् ।
पछिल्लो समय मच्छिन्द्र क्लबबाट खेल्दै आएका ३३ वर्षीय श्रेष्ठले ७ पुस २०८० मा नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका थिए । उनले घरेलु लिगमा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रका साथै नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र एफसी चितवनबाट खेलिसकेका छन् ।
नेपाल सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेपछि राखेपका १ हजार ४ सय ९४ जना पदाधिकारी एकमुष्ट पदमुक्त भएका थिए । सोही कारण रिक्त रहेको राखेप बोर्डमा बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षसहित चार सदस्य नियुक्त गरेको हो ।
बोर्ड सदस्यमा नियुक्त हुनेहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वस्पिनर तथा प्रशिक्षक शक्तिप्रसाद गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी राष्ट्रिय खेलाडी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाही रहेका छन् । यी पदाधिकारीहरूले पनि बिहीबार नै पदभार सम्हालेका छन् ।
पदभार ग्रहण कार्यक्रममा राखेपका सदस्य सचिव रामचरित्र मेहताले नयाँ पदाधिकारीहरूलाई स्वागत गर्दै खेलकुदको गरिमा बढाउन यो टिमले ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे । खेलकुदमा सकारात्मक वातावरण सिर्जना गर्न सरकार लागिरहेको भन्दै उनले खेललाई व्यावसायिक बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्त्वपूर्ण हुने बताए । खेलकुद क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई समाधान गर्दै लैजाने प्रयासमा परिषद् रहेको मेहताको भनाइ थियो ।









प्रतिक्रिया