काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको काम साढे ३ वर्षमा पूरा गर्ने लक्ष्य लिएको छ ।
५ वर्षका लागि समयसीमा भए पनि साढे ३ वर्षमै योजना पूरा गर्ने लक्ष्य लिइएको नेपाली सेनाले बताएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेनाले यसका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने बताएको छ ।
यसका लागि गत भदौ १ गते मन्त्रिपरिषद्बाट डीपीआर समेत स्वीकृत भइसकेको छ ।
आयोजनाको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । जसमध्ये ६.४१ किलोमिटर सुरुङमार्ग, १०.५९ किमि पुल रहनेछन् ।
आयोजना प्रमुख रथी शरदलाल श्रेष्ठका अनुसार हालसम्म २५.४४ किमि ४६ प्रतिशत खण्डमा सवग्रेड फर्मेसन लेभलसम्मको निर्माण कार्य शतप्रतिशत सकिएको छ ।
त्यस्तै, १०.९२ किमिको २० प्रतिशत खण्डको प्रगति ८० प्रतिशतभन्दा बढी भइसकेको छ । त्यस्तै १६.९२ किमि २९ प्रतिशत खण्डको प्रगति ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म छ ।
फास्ट ट्रयाक ललितपुरको खोकनाबाट सुरु भएर निजगढसम्म हुनेछ ।
यसका लागि आयोजनाले ९६ प्रतिशत जग्गा अधिग्रहण समेत गरिसकेको छ । श्रेष्ठका अनुसार १५४०३ रोपनीमध्ये १४८३१ रोपनी अधिग्रहण भइसकेको छ ।
त्यस्तै रुख कटानका लागि आव २०७४/७५ र २०७५/७६ मा २८४१० वटा रुखमा छपान गरिएको थियो । जसमा सडक निर्माणका लागि १८७४० वटा रुख कटान गर्ने उल्लेख गरिएको थियो । जसमध्ये हालसम्म ९६ प्रतिशत १७९८० वटा रुख कटान समेत भइसकेको छ । ४ लेनको सडकको चौडाइ २५ मिटरको हुनेछ ।
फास्ट ट्रयाकमा ८७ वटा पुल निर्माण हुनेछन भने ३ वटा सुरुङ हुनेछन् ।
प्रतिक्रिया