विकास बैंकलाई मर्जरको चटारोः सांग्रिलाले मात्रै राष्ट्र बैंकमा प्रतिवद्धता पठायो



काठमाडौं । वाणिज्य बैंकहरुसँग विकास बैंकहरु पनि मर्जरको चटारोमा व्यवस्त छन् । आइतबार मात्रै सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले एक्वायर गर्यो ।

गत शुक्रबार मात्रै कैलाश विकास बैंकले प्राइम बैंकसँग मर्ज हुने सम्झौता गरेको थियो । त्यसअघि पनि प्राइमले कन्काइ विकास बैंक र ललितपुर फाइनानसलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।

गत जेठ २ गते एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक मर्ज गर्ने सहमति गरेको थियो ।

यी त मर्जरको समझदारीका उदाहारण मात्रै हुन् । अधिकांश विकास बैंकलाई वाणिज्य बैंकहरुले मर्ज तथा एक्वायर गर्नका लागि प्रस्ताब गरेका छन् । र, विकास बैंकहरु पनि उपयुक्त जोडी पाए मर्जरमा जाने तयारमा छन् ।

गत असार १२ गते राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष र सीइओहरुलाई बोलाएर मौद्रिक नीति आउनुअघि नै मर्जरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका थिए ।

गभर्नरको यस्तो निर्देशनपछि हालसम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले राष्ट्र बैंकलाई मर्जरको लिखित जवाफ पठाइसकेका छन् ।

क्षेत्रीय र राष्ट्रियस्तरका गरी विकास बैंकहरुको संख्या पनि २७/२८ वटै छ । तर, अहिलेसम्म एक विकास बैंकले मात्रै राष्ट्र बैंकलाईए मर्जरको प्रतिवद्धता पठाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले मात्रै मर्जरको प्रतिवद्धता पठाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

‘विकास बैंकबाट अहिलेसम्म सांग्रिलाले मात्रै मर्जरको प्रतिवद्धता पठाएको छ,’ निरौलाले क्लिकमाण्डूसँग भने ‘अझै केहीदिन समय छ, अरुे पनि पठाउँछन् भन्ने हाम्रो विश्वास छ ।’

राष्ट्रियस्तरका विकास बैंकहरु १० वटा छन् । धेरै राष्ट्रिय स्तरका विकास बैंकहरुले अहिलेको मर्जरको दबाब आफूहरुलाई नभई क्षेत्रीय स्तरका विकास बैंक र वाणिज्य बैंकहरुलाई मात्रै भएको बुझाइ छ ।


पुष्प दुलाल