वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका लागि नयाँ लाइसेन्स खुल्ला
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको प्राथमिक बिक्री गर्न बिक्री एजेन्टहरुको इजाजतपत्र प्रदान र नविकरण भइरहेको जनाएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै इच्छुकलाई इजाजतपत्र नवीकरण तथा नयाँ इजाजत लिन आग्रह गरेको छ ।
इजाजत लिन तथा नविकरण गर्नको लागि नविकरणको अवधि समाप्त हुनु अगावै राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन अनुरोध समेत गरिएको छ ।
यसको लागि विभागबाट विप्रेषण कारोबार गर्न प्रदान गरेको इजाजतपत्रको प्रतिलिपि, इजाजत पत्र लिनको लागि २ हजार वा साविकको इजाजत नयाँ इजाजतपत्र लिनको लागि १ हजार दस्तुर राष्ट्र बैंकको खाता नं. १२०००००-०३०-०१२-५२४ जम्मा गरेको भौचरको सक्कल प्रतिलिपि आवश्यक पर्ने जनाएको छ ।
यस्तै नवीकरण गर्नेको हकमा विभागबाट यस अघि प्रदान गरेको बिक्री एजेन्टको इजाजतपत्रको सक्कल प्रतिलिपि, नयाँ इजाजत तथा नवीकरण इजाजत ३ वर्षको लागि हुनेछ ।
तर विप्रेषण कार्य गर्न प्राप्त इजाजतपत्रको म्याद सकिएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट नवीकरण भएको मितिले ३ दिन भित्र सो को प्रतिलिपि यस विभागमा पेश गर्नु पर्दछ । अन्यथा प्रतिलिपी प्राप्त नभएसम्मको लागि बिक्री एजेन्टको इजाजतपत्र स्थगित गरिने उल्लेख छ ।
अब उपरान्त बिक्री एजेन्टको इजाजतपत्र नवीकरण गर्न म्याद समाप्त हुने मिति अगावै नवीकरणको विभागमा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
बिक्री एजेन्टको नयाँ इजाजतपत्रको लागि आवश्यक कागजात र दस्तुर बुझाई जुनसुकै समयमा पनि विभागमा निवेदन पेश गर्न सकिने व्यहोरा केन्द्रीय बैंकले जनाएको छ ।