विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकसँग मर्जरको कुराकानी गर्नै छाडे



काठमाडौं । दुईसाता अघिसम्म धेरैजसो वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीसँग मर्जरको प्रस्तावलाई अगाडि सारेका थिए ।
यसरी प्रस्ताव गर्नेमा प्राइम बैंक सबैभन्दा अगाडि थियो । प्राइम बैंकले केहीसँग मर्जरको सम्झौता समेत गर्यो ।

ओम डेभलपमेन्ट बैंकसँग मर्जरपछि प्राइम बैंकले मर्जरको प्रस्ताव राख्न बाँकी कुनैपनि विकास बैंक र फाइनान्स कम्पनी थिएन । प्राइमको जसरीनै एग्रेसिभरुपमा प्रस्ताव नराखे पनि अन्य वाणिज्य बैंकहरु विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जर तथा एक्वायरको प्रस्ताव राखेका थिए ।

तर, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले असार ९ गते एक सार्वजानिक कार्यक्रममा मौद्रिक नीति अघि नै लभ गर्न निर्देशन दिए ।

असार १३ गते वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मौद्रिक नीति अगाडि नै मर्जरको प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएका छन् ।

वाणिज्य बैंकसँग मर्जरमा गएर फाइदा हुने नदेखेपछि पछिल्लो समय विकास बैंकहरु आफै संस्था संचालन गर्ने तयारीमा रहेका छन् ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने राष्ट्र बैंकले वाणिज्य बैंक र वाणिज्य बैंकको मर्जरमा जोड दिएको हुँदा विकास बैंक वाणिज्य बैंकसँग जाने मर्जरको कुराकानी पछिल्ला दिनमा हुन छाडेको बताए ।

‘अहिले विकास बैंकले कुरेको राष्ट्र बैंकको मौद्रिक नीति हो, नीतिमा राष्ट्र बैंकले मर्जर र एक्विजेशनलाई कसरी प्रोत्साहन गर्छ, त्यसपछि हाम्रो रणनीति बन्छ,’ डेभलपमेन्ट बैकर्स एशोसियनका पूर्वअध्यक्ष समेत रहेका लामिछानेले क्लिकमाण्डूसँग भने ।

खासगरी विकास बैंक र फाइनान्स कम्पनीसँग मर्जरको लागि कुराकानी गर्न आएका वाणिज्य बैंकको नै अस्तित्व नरहने देखिएपछि विकास बैंक र फाइनान्स कम्पनी ती बैंकसँग मर्जरको कुराकानी गर्न छाडेका हुन् ।

जुन बैंकसँग मर्जरको लागि जाने भनेर कुराकानी भएको छ, त्यो बैंक नै नरहने जस्तो स्थिति आएपछि बैंकसँग मर्जरमा जानुको औचित्य नभएको निष्कर्ष विकास बैंक र फाइनान्स कम्पनीले निकालेका हुन् ।

राष्ट्र बैंकले गत बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग गरेको छुट्टाछुट्टै छलफलमा वाणिज्य बैंकलाई जस्तो विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जरको लागि दवाव दिएको छैन ।

अहिले ११ वटा राष्ट्रियस्तरका विकास बैंक संचालनमा रहेका छन् । राष्ट्रियस्तरमा रहेको ओम डेभलपमेन्ट बैंकले एनएमबिसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको साइन रेसुङा अब राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा छ ।
३ जिल्ले विकास बैंकको संख्या १८ रहे पनि केहीले मर्जरमा जाने सम्झौता गरेका छन् ।

राष्ट्र बैंकले प्रादेशिक कार्यक्षेत्र भएको विकास बैंक चलाउन सकिने व्यवस्था गरेको छ । यसका लागि चुक्ता पुँजी भने डेढ अर्ब चाहिन्छ । स्प्रेडमा गरेको व्यवस्थाले क्षेत्रीयस्तरका ३ जिल्ले र १ जिल्ले विकास बैंक भने अब रहने अवस्था छैनन् ।

त्यसैगरी, युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र वाणिज्य बैंकसँग मर्जरमा जाने रणनीति नरहेको बताउँछन् ।

‘विकास बैंक र वाणिज्य बैंकसँग गाभिने हाम्रो रणनीति छैन, आगामी वर्षदेखि हामी यो कम्पनीलाई एग्रेसिभरुपमा अघि बढाउँछौं,’ मिश्रले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, अरु विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक तथा सीइओहरु वाणिज्य बैंकसँग मर्जरमा जाने कुरा स्टप गरेको बताउँछन् ।


पुष्प दुलाल