कश्मीरी केसरमा खतराको बादलः खेति कम हुँदै, इरानी केसर भित्रदै



काठमाण्डौ । भारतको कश्मीर सधैँ चर्चामा रहन्छ । भारत–पाकिस्तानको विवादास्पद क्षेत्र कश्मीर आफ्नो प्राकृतिक सुन्दरताका कारणपनि प्रख्यात छ । पहाडले घेरिएको यो सुन्दर उपत्यका फलफूलका लागि पनि उत्तिकै प्रख्यात छ ।

कश्मीर केसर फूलको लागि संसारभर प्रख्यात छ । केसरलाई अंग्रेजीमा स्याफरन, उर्दु भाषामा जाफरान र कश्मीरी भाषामा कोंग भन्ने गरिन्छ ।

केसर फूल अन्य फूल जस्तो जस्तो सामान्य फूल होइन । यो फूलका आन्तरिक भागहरु बजारमा केसरको नामबाट विक्री हुन्छन । केसरबाट उत्पादित मसला विश्वमै दुर्लभ र महंगो मानिन्छ । औषधीयुक्त गुणले भरिएको केसरको प्रतिग्राम मूल्य ५ सय देखि ८ सय रुपैयाँसम्म पर्छ । भारतमा केसर उत्पादन तथा खेतिका लागि कश्मीर उपयुक्त स्थान हो ।

तर, पछिल्ला केही वर्षमा कश्मीरी केसरमा खतराको बादल मडारिएको छ । केसरको खेति गरिने जमिन लगातार खुम्चिदै गएको छ । जलवायु परिवर्तनले केसर उत्पादन घटेको छ । भू–माफियाको चलखेलका कारण केसर खेति हुने कश्मीरको जमिनमा अब घर बन्न थालेका छन् ।

भारतमा यो वर्ष केसरको उत्पादन प्रतिहेक्टर १.४ किलो भएको बताईन्छ । तर, गत वर्ष प्रतिहेक्टर ४.२ किलो केसर उत्पादन भएको थियो । कश्मीरका सरकारी अधिकारीका अनुसार सन् २०१६\१७ मा १६.४५ मेट्रिक टन केसर उत्पादन भएको थियो भने सन् २०१७\१८ मा ५.२ मेट्रिक टन मात्रै केसर उत्पादन भएको थियो ।

वर्सेनि घटिरहेको केसर उत्पादनमा जलवायु परिवर्तन मुख्य कारक भएको बताईन्छ । केसरको राम्रो उत्पादनका लागि समयमै पानी पर्नु पर्छ । केसर खेति गरिने जमिन ओशिलो हुनुपर्छ । मार्च, अप्रिल, मे, अगस्ट र सेप्टेम्बरमा परेको पानी केसरका लागि उपयुक्त मानिन्छ । पछिल्ला वर्षमा कश्मीरमा पानीको मात्रा धेरै भएपनि केसरलाई चाहिने समयमा पानी परेको छैन ।

कश्मीरका केसर वैज्ञानिक डाक्टर फिरदौस नेहवीका अनुसार १९९९ पछि कश्मीरको पानी पर्ने समयचक्रमा परिवर्तन आएको छ । अहिले गर्मी मौसममा पानी पर्छ । जुन केसरका लागि राम्रो होइन ।

सन् १९९९ मा अप्रिलदेखि जुलाईसम्म ८० मिलिमिटर पानी परेको रेकर्ड छ । तर, त्यसयता त्यही समयमा १६० मिलिमिटर पानी परेको छ ।

यसका अलावा कश्मीरका भू–माफियापनि केसर उत्पादन घट्नुका कारक हुन् । सन् १९९० मा कश्मीरमा ७ हजार हेक्टरमा केसर खेति हुन्थ्यो । तर, अहिले ३ हजार ७ सय हेक्टरमा मात्रै केसर खेति हुन्छ । कश्मीरमा केसर खेति गरिने जमिनमा बनेको कोलोनीको नाम नै स्याफरन राखिएको छ ।

सन् २००९ मा कश्मीर आसपास सुरु भएको रेलवे लाईन र सडक विस्तारका लागि आवश्यक पर्ने माटो पनि केसर खेति हुने जमिनबाटै लिईएको थियो ।

केसरको माग अत्याधिक बढेपछि कश्मीरका केसर व्यापारी इरानी केसर सप्लाई गर्न थालेका छन् । कश्मीरी केसर भन्दा सस्तो हुने यो केसरको औषधीय गुणपनि कम हुन्छ ।

१ किलो कश्मीरी केसरको थोक मूल्य २ लाख ४० हजार रुपैयाँदेखि ४ लाख ८० रुपैयाँसम्म पर्छ । तर, इरानी केसरको प्रतिकिलो मूल्य मूल्य १ लाख २८ हजार रुपैयाँसम्म पर्छ ।

घटिरहेको केसर उत्पादनप्रति चिन्तित भएर तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिहँले नेशनल स्याफरुन मिसन शुरु गरेका थिए । अहिले यो मिशनपनि फेल भएको छ । (एजेन्सीहरुबाट)


क्लिकमान्डु