कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो : शशांक

182
Shares

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका छन्।

विराटनगरमा जारी कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयका कारण पार्टी आजको अवस्थासम्म आइपुगेको टिप्पणी गरे । उनका अनुसार यी निकायका गलत निर्णयले कांग्रेसलाई व्यवहारिक रूपमा विभाजित बनाएको छ।

कोइरालाले वर्तमान परिस्थितिमा पार्टी एकता नै सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै कांग्रेस बलियो नभएसम्म देशको विकासले गति लिन नसक्ने बताए। उनले लोकतान्त्रिक मूल्य–मान्यता र परिवर्तनको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरू एकताबद्ध हुनुपर्ने धारणा राखे।

सभापति गगन थापातर्फ संकेत गर्दै उनले लामो अनुभव बोकेका धेरै नेताहरू पार्टीको मूलधारबाट बाहिर रहँदा एक्लैले पार्टी सञ्चालन गर्न नसकिने बताए। उनले पार्टी टुक्रिएको नभइ यसलाई टुक्र्याउने काम भएको बताए ।

‘लामो संघर्ष र ठूलो बलिदानबाट निर्माण भएको कांग्रेस आज टुक्रिएको अवस्थामा पुग्नु दुःखद छ। पार्टी आफैं टुक्रिएको होइन, यसलाई टुक्र्याउने काम गरिएको हो,’ उनले भने ।

इतरपक्षको कोसी प्रदेश स्तरीय एकता भेलामा शेखर कोइराला, शशांक कोइराला, मिनेन्द्र रिजाल, मीनबहादु विश्वकर्मा, विजय गच्छेदार, मोहन बस्नेत, सरिता प्रसाईं लगायत नेताहरू सहभागी छन् ।