
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शहरी सौन्दर्यमा ह्रास आएको र सार्वजनिक सुरक्षामा जोखिम बढेको भन्दै काठमाडौंका मुख्य ६ वटा रुटमा रहेका अव्यवस्थित तारहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै आगामी १५ दिनभित्र चरणवद्ध रूपमा तार व्यवस्थापन तथा प्रयोगमा नरहेका तार हटाउने जानकारी दिएको हो।
नेपाल विद्युत् प्राधिकरणको भूमिगत संरचना उपलब्ध भएका क्षेत्रहरूमा ‘रुट प्लान’ अनुसार यो कार्य सञ्चालन गरिनेछ । प्राधिकरणका अनुसार पहिलो चरणमा देहायका रुटहरूमा तार व्यवस्थापन गरिनेछ:
१. त्रिपुरेश्वर-कालिमाटी-कलंकी
२. जडिबुटी-पेप्सीकोला
३. त्रिपुरेश्वर-लाजिम्पाट
४. सामाखुशी टाउन प्लानिङ (गोंगबु)
५. कीर्तिपुर क्षेत्र
६. पुरानो बानेश्वर-गौशाला-चावहिल
प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई दैनिक रूपमा सञ्चालन हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागी हुन निर्देशन दिएको छ। सेवा प्रदायकहरूले आफ्ना तारहरूमा स्पष्ट रूपमा संस्थाको पहिचान खुल्ने ‘ट्याग’राख्नुपर्नेछ ।
सूचनामा भनिएको छ, ‘व्यवस्थापन कार्यका क्रममा सम्बन्धित सेवा प्रदायकको प्रतिनिधि उपस्थित नभएको वा तारमा आवश्यक पहिचान खुल्ने ट्याग नरहेको कारणले तार काटिएमा वा हटाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायक स्वयंको हुनेछ ।’
साथै, सेवा प्रदायकहरूले नयाँ नेटवर्क विस्तार वा मर्मत गर्दा प्राधिकरणले जारी गरेको ‘डाइरेक्टिभ्स फर लेइङ्ग एण्ड मेन्टेनिङ्ग अप्टिकल फाइबर नेटवर्क’बमोजिम मात्र कार्य गर्नुपर्ने व्यहोरा समेत प्राधिकरणले स्पष्ट पारेको छ।









प्रतिक्रिया