‘हिल्टन होटल’ प्रकरणमा पत्रकार दिलभुषणले पाए सफाइ

224
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभुषण पाठकलाई साइबर अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको लगानीबारे समाचार प्रसारण गरेको विषयमा परेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले गत चैत १८ गते नै पाठकको पक्षमा फैसला सुनाएको भए पनि हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा विवादको समाधान न्यायिक प्रक्रियाभन्दा पनि खण्डन र सञ्चार माध्यमबाटै खोजिनुपर्ने उल्लेख छ।
अदालतले खण्डन गरे पुग्ने स्थानमा सिधै अदालत आउनु पर्ने आवश्यकता नभएको उल्लेख गरिएको छ ।

‘लगानी भएको वा व्यवसाय गरिएको कार्य आफैंमा सह्रानीय हो । यदि लगानी नरहेको भए जाहेरवालाले नै प्रमाणसहित खण्डन गर्दा हुनेमा अन्यथा विकल्प (कानुनी मुद्दा) अवलम्बन गरेको देखियो । पेस भएका प्रमाणबाट अभियोग पुष्टि हुन नसकेकाले पाठकले सफाइ पाउने ठहर्छ,’ पूर्ण पाठमा भनिएको छ ।

सार्वजनिक सञ्चार माध्यममा उठ्ने गरेको कुरालाई विश्लेषणात्मक टिप्पणीसम्म गरेको अवस्थाले सम्बद्ध कानुन विपरितको कार्य गरेको मान्न मिल्ने अवस्था नदेखिएको अदालतको ठहर छ ।

पत्रकार पाठकले आफ्नो कार्यक्रममार्फत काठमाडौंको पाँचतारे हिल्टन होटलमा साहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको र भट्टमार्फत जयवीर देउवा पनि जोडिएको दाबी गरेका थिए ।

साथै, देउवाको दुबई र अस्ट्रेलियामा घरजग्गा (रियल स्टेट) व्यवसाय रहेको र त्यो क्यानडासम्म फैलिएको चर्चाहरूलाई समेटेर भिडियो सामग्री बनाएका थिए ।

यस समाचारले आफ्नो मानमर्दन भएको भन्दै जयवीर देउवाले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाहीको माग गर्दै साइबर ब्युरोमा मुद्दा दायर गरेका थिए ।

अदालतले उक्त भिडियोमा देउवाको चरित्र हत्या हुने वा कुनै आपत्तिजनक शब्द प्रयोग नभएको स्पष्ट पारेको छ। साथै, फैसलामा पत्रकारहरूको उत्तरदायित्वबारे पनि स्मरण गराइएको छ ।

पत्रकारले समाजका घटनालाई सत्यतथ्यमा आधारित भई सम्प्रेषण गर्नु व्यावसायिक कर्तव्य भएको स्मरण गराउँदै पत्रकारिताको नाममा अन्य व्यक्तिको इज्जत र प्रतिष्ठाको ख्याल राख्नु पनि उत्तिकै आवश्यक रहेको पूर्णपाठमा उल्लेख गरिएको छ ।