दीपक भट्ट लगायतले कर्जा दुरूपयोग गरेको स्थापित गर्न यस्तो छ सीआईबीले प्रस्तुत गरेको आधार

21
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्ट र शंकर ग्रुपबीच औद्योगिक कच्चा पदार्थ खरिद गर्ने र कम्पनीको दैनिक कार्य सञ्चालन गर्न बैंकबाट लिएको करोडौं रुपैयाँ कर्जा दुरूपयोग भएको निष्कर्ष निकालेको छ । विशेष सरकारी वकिल कार्यालयले पाटन उच्च अदालतमा दायर गरेको अभियोगपत्रमा बैंकबाट लिएको कर्जा व्यक्तिको निजी स्वार्थमा प्रयोग भएको उल्लेख छ ।

अनुसन्धान क्रममा जगदम्बा स्टिल्स लिमिटेडका सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा बैंकलाई गुमराहमा राखेर गरिएको ‘वित्तीय अपराध’ गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

यो प्रकरणमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालको संलग्नता र उनीहरूको कसुर स्थापित हुने आधार प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानका अनुसार जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरू (नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लगायत) बाट ‘वर्किङ क्यापिटल लोन’ र ‘सर्ट टर्म लोन’ लिएको थियो । नियमतः यो रकम उद्योगको कच्चा पदार्थ खरिद वा व्यवसायिक प्रयोजनमा खर्च हुनुपर्ने थियो । तर, शाहिल अग्रवाल (अध्यक्ष) र सुलभ अग्रवाल (खाता संचालक) ले बैंकबाट प्राप्त उक्त रकम उद्योगको काममा नलगाई दीपक भट्टको व्यक्तिगत खातामा पठाएका थिए ।

दीपक भट्टले आफूले जगदम्बा स्टिल्सबाट लिएको करिब ४५ करोड रुपैयाँ ललितपुरको जग्गा खरिदका लागि ‘बैना’ बापत लिएको दाबी गरेका छन् । तर, अनुसन्धानका क्रममा न त कुनै जग्गा खरिद गरिएको न त जग्गा खरिदको वास्तविक प्रक्रिया नै अघि बढेको देखिएको छ । तसर्थ, यो केवल बैंकको पैसा कम्पनी बाहिर निकाल्ने एउटा ‘कागजी अस्त्र’ मात्र भएको अभियोगपत्रमा उल्लेख छ । ३-४ वर्षसम्म पनि जग्गा पास नहुनु र उक्त रकम अन्ततः अर्कै प्रयोजनमा प्रयोग हुनुले यसलाई प्रहरीले नक्कली कारोबार भनेको छ,’ प्रमाणित गरेको छ।

यो प्ररणको सबैभन्दा जटिल पक्ष ‘मनी लाउन्डरिङ’ को शैली हो । बैंकबाट निस्किएको पैसा दीपक भट्टको खातामा पुगेपछि सिधै लगानी नगरी विभिन्न व्यक्तिहरूको खातामा घुमाइएको सीआईबीको ठहर छ ।

अभियोगपत्रका अनुसार शाहिल, सुलभ, शंकरलाल, कृषिव, शुभी र जाँना अग्रवालका विभिन्न बैंक खाताहरू प्रयोग गरी रकम स्थानान्तरण गरिएको छ । यसरी रकम घुमाउनुको मुख्य उद्देश्य बैंकको कर्जा रकमको स्रोत लुकाउनु रहेको सीआईबीको दाबी छ । यो कार्यलाई प्राविधिक भाषामा राउन्ड टिपिङ भनिन्छ ।

अनुसन्धानले जगदम्बा स्टिल्सलाई एउटा फन्ड च्यानल वा कर्पोरेट भेइकलको रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ । शाहिल र सुलभ अग्रवालले कम्पनीको अख्तियार दुरुपयोग गर्दै बैंकको रकमलाई व्यक्तिगत लाभका लागि दीपक भट्टको कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ सम्म पुर्‍याउने बाटो बनाएको अभियोगपत्रमा उल्लेख छ । अन्ततः बैंकको सोही पैसाबाट दीपक भट्टले ‘हिमालयन रि-इन्सुरेन्स’ को संस्थापक शेयर खरिद गरेको देखिएको छ ।

कसको भूमिका के ?

शाहिल अग्रवाल र सुलभ अग्रवालः अभियोगत्रका अनुसार जगदम्बा स्टिल्सको तर्फबाट चेकमा हस्ताक्षर गर्ने र बैंकबाट आएको व्यापारिक कर्जालाई बिना कुनै ठोस व्यावसायिक आधार दीपक भट्टको निजी खातामा पठाउने मुख्य निर्णयकर्ता उनीहरू नै हुन् । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ८ बमोजिम जुन प्रयोजनका लागि कर्जा लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरेको कसुर उनीहरूमाथि स्थापित हुन्छ ।

दीपक भट्ट: अभियोगपत्रका अनुसार बैंकको कर्जा रकमलाई जग्गा खरिदको झुट्टा बहानामा आफ्नो खातामा लिने र उक्त रकमलाई विभिन्न सेल कम्पनीमार्फत घुमाएर शेयर लगानी गर्ने मुख्य ‘बेनिफिसियल ओनर’ भट्ट हुन् । उनले बैंकलाई हानि पुर्‍याउने र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने कार्यमा मतियारको भूमिका खेलेको देखिने अनुसन्धानको निष्कर्ष छ ।

शंकरलाल अग्रवाल: ६८ वर्षीय शंकरलाल अग्रवालले जगदम्बा स्टिल्सको खाता संचालकको रूपमा जानी-जानी उक्त शंकास्पद कारोबार र रकम स्थानान्तरण प्रक्रियामा सहयोग पुर्‍याएको अनुसन्धानले देखाएको छ । उनले कसुर लुकाउन र मतियारको रूपमा कार्य गरेको अभियोग छ ।

अनुसन्धानले यस प्रकरणमा कुल  ४२ करोड १४ लाख ८८ हजार ८०७ विगो कायम गरेको छ ।