हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौं घोटाला: सुलभ र दीपकसहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस

8.1k
Shares

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंकाे घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छासहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।

अनुसन्धानले नेपालको बिमा क्षेत्रमा ठूलो वित्तीय अनियमितता र संगठित आर्थिक अपराधको खुलासा गरेको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससहितका कम्पनीका पदाधिकारीहरूले नियामक निकायलाई समेत अटेर गरी अर्बौं रुपैयाँ सर्वसाधारण लगानीकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि प्रयोग गरेको पाइएको हो ।

नेपाल बिमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सीआईबीले गरेको अनुसन्धानबाट उक्त तथ्य खुलेको हो ।

हिमालयन रिइन्स्योरेन्स र अन्य सम्बद्ध कम्पनीहरूले नेपाल बिमा प्राधिकरणले जारी गरेको ‘लगानी निर्देशन, २०८२’ को खुला उल्लंघन गरेका छन् । निर्देशिका अनुसार पुनर्बिमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाउने र कुनै एक कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने सीमा छ । तर, यी कम्पनीहरूले सो सीमा नाघेर लगानी गरेको र प्राधिकरणको पूर्वस्वीकृति समेत नलिएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक अपचलन र वित्तीय अनियमिततामा ब्रोकरमार्फत ‘सेटिङ’

अनुसन्धानमा भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) मार्फत अर्बौं रुपैयाँको शंकास्पद कारोबार गरिएको पाइएको हो । हिमालयन रिइन्स्योरेन्सले मात्रै ब्रोकरबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार रुपैयाँ लिन बाँकी छ । ठूलो रकम लिन बाँकी रहँदा–रहँदै पनि कम्पनीले उल्टै ब्रोकरलाई ‘एडभान्स’ भन्दै थप करोडौँ रुपैयाँ पठाएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

बिमा कम्पनीको रकम असुल गर्न कुनै कानुनी प्रक्रिया अगाडि नबढाई उल्टै रकम पठाउनुमा ‘बदनियत’ रहेको पाइएको छ ।सबै प्रक्रिया बिमा व्यवसायको आर्थिक दुरुपयोग गर्ने योजनाबद्ध षड्यन्त्रको रूपमा देखिएको सीआईबीको विश्लेषण छ ।सीआईबीको अनुसन्धानमा निजी कार्यालयबाट कम्पनी सञ्चालन र भित्री कारोबार गर्ने गरेको तथ्यसमेत फेला परेको छ ।

‘प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवालले नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर मूल्यमा चलखेल गरी अनुचित लाभ हासिल गर्ने उद्देश्यले आपराधिक समूह निर्माण गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त समूहले गार्डियन माइक्रो लाइफ र एनएलजी इन्स्योरेन्स जस्ता कम्पनीहरूमा ‘इन्साइडर ट्रेडिङ’ गर्ने र धितोपत्रको मूल्य हेरफेर गर्न हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, र हिमालयन लाइफ इन्स्योरेन्सका सहायक कम्पनीहरू (हिमालय क्यापसर्भ, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फण्ड) समेतको रकम दुरुपयोग गरेका छन् ।’

सेयर खरिद–बिक्री तथा सेटलमेन्टका निर्णयहरू सम्बन्धित संस्थाको व्यावसायिक क्षमता र स्वतन्त्रताका आधारमा नभई, प्रतिवादीहरूको निजी कम्पनीहरू (सौर्य सिमेन्ट र जगदम्बा स्टिल) को कार्यालयबाटै सञ्चालन हुने गरेको सीआईबीको प्रतिवेदनमा दाबी गरिएको छ ।

यस प्रक्रियामा सम्बन्धित कम्पनीका सञ्चालक, समिति र कार्यकारी प्रमुखहरूको समेत संलग्नतामा संस्थाको लगानी नीति विपरीत भट्ट र अग्रवालको योजना र व्यक्तिगत स्वार्थ बमोजिम कारोबार गराइएको सीआईबीको निष्कर्ष छ ।

‘दीपक भट्ट र सुलभ अग्रवालसहितको समूहले नेपाल रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र एनएलजी इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्यलाई प्रभावित पारेर व्यक्तिगत लाभ हासिल गर्ने उद्देश्य राखेको पाइयो । आफ्नो पकडमा रहेका बिमा कम्पनी र एचएलआई लार्ज क्याप फण्ड सामूहिक लगानी कोषको रकम प्रयोग गरी ती कम्पनीहरूको सेयर खरिद गरी ‘इन्साइडर ट्रेडिङ’ गरेको पुष्टि हुन्छ,’ सीआईबीले अनुसन्धान प्रतिवेदनमा भनेको छ ।

सीआईबीले हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष तथा हिमालयन रि का सेयरधनी सुलभ अग्रवाल, हिमालयन रि का सेयरधनी दीपक भट्ट, हिमालयन रि की प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, आशिष श्रेष्ठ, सुभाषबहादुर श्रेष्ठसहित ४० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । उनीहरूमाथि बिमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिमको कसूर (आर्थिक अपचलन, हिनामिना र दुरुपयोग) मा सजाय मागदाबीसहित मुद्दा दायर गर्न सिफारिस गरिएको हो ।

ब्रोकर छनोटमै अपारदर्शिता

हिमालयन रि मा सेयर कारोबार गर्न ब्रोकर छनोटमा नै अपारदर्शिता देखिएको छ । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिले नासा, साउथ एशियन बुल्स र भृकुटी स्टक ब्रोकिङलाई कारोबारका लागि छनोट गरे पनि अधिकांश कारोबार ‘भृकुटी स्टक ब्रोकिङ’ मार्फत गरिएको पाइएको हो । जसमा सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सीईओ मनोजकुमार लाल कर्णकी श्रीमती सुधा कर्ण प्रमुख सेयरधनीमध्ये एक हुन् ।

लगानी समितिले निर्णय गरी पेश्की रकम उपलब्ध गराउने र त्यसलाई सञ्चालक समितिले पछि एकमुष्ट अनुमोदन गर्ने जस्ता संस्थागत सुशासन विपरीतका निर्णयहरू हुने गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

२०८२ माघ २५ गतेको विवरण अनुसार भृकुटी स्टक ब्रोकिङबाट हिमालयन रिइन्स्योरेन्स कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम लिन बाँकी रहेको देखिन्छ । यति ठूलो रकम जोखिममा पर्दा समेत कम्पनीले कुनै कानुनी कारबाही वा पत्राचार नगर्नुले पदाधिकारीहरूको बदनियत स्पष्ट हुने प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले प्राधिकरणद्वारा जारी ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ बमोजिम सूचीकृत कम्पनीको सेयरमा कुल लगानीको बढीमा १५ प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था छ । तर, हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा २५.५९ प्रतिशत र पछिल्लो विवरण अनुसार २३.६१ प्रतिशत लगानी गरी सीमा नाघेको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा उक्त लगानी सीमा १० प्रतिशत मात्रै थियो । लगानी सीमा नाघिसकेको अवस्थामा समेत थप सेयर खरिद गर्न भृकुटी स्टक ब्रोकिङलाई निरन्तर रकम पठाइएकाले योजनाबद्ध आर्थिक दुरुपयोग पुष्टि हुने प्रतिवेदनमा उल्लेख छ।

हिमालयन रिइन्स्योरेन्सले गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर खरिद गर्दा बिमा ऐन, २०७९ को दफा ६९ बमोजिम प्राधिकरणको पूर्वस्वीकृति नलिएको र आधारभूत सेयरधनीहरू उही व्यक्ति/संस्था रहनुले ‘स्वार्थको द्वन्द्व’ र ‘इन्साइडर ट्रेडिङ’ को आशंकालाई बल पुर्‍याएको छ ।

प्रतिवादीहरू शेखर गोल्छा, सुलभ अग्रवाल र दीपक भट्ट समेतको संलग्नतामा संस्थाको स्वायत्ततालाई कुण्ठित गरी निजी स्वार्थका लागि निजी कार्यालयबाट निर्णयहरू गराई बीमित र सर्वसाधारण सेयरधनीको हितविपरीत अर्बौँको रकम हिनामिना गरिएको सीआईबीको निष्कर्ष छ ।

प्रतिवादीहरू कसले कति गरे उधारो कारोबार?

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नं. ५५) ले हिमालयन रिइन्स्योरेन्स लि. र सम्बद्ध संस्थाहरूबाट विभिन्न मितिमा ‘अग्रिम रकम’ माग गरी सो रकमलाई बीमकको हितविपरीत प्रयोग गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रचलित धितोपत्र सम्बन्धी ऐन, २०६३ को बर्खिलाप हुने गरी बिमा कम्पनीहरूको टीएमएस खाताबाट भएको कारोबारको राफसाफ नगरी उक्त रकम असम्बन्धित व्यक्ति तथा संस्थाहरूको निजी कारोबार मिलाउन प्रयोग गरेको पाइएको हो ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीको पत्रानुसार, हिमालयन रिइन्स्योरेन्सबाट प्राप्त २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ रकम दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरको नाममा रहेका व्यक्तिगत ग्राहक आईडीहरूको सेयर खरिद राफसाफका लागि प्रयोग भएको स्वीकार गरिएको छ । यसरी कुल ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बराबरको सेयर दीपक भट्ट, राजबहादुर शाहसहितको नाममा खरिद गरी बिमा कम्पनीको फण्ड दुरुपयोग भएको हो ।

बिमा कम्पनीको कोष दुरुपयोग गरी लाभान्वित भएका व्यक्ति/संस्थाहरू:

  • दीपक भट्ट : २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ
  • राजबहादुर शाह : ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ
  • शुभी अग्रवाल : ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ
  • ऋषिराज मोर : २३ करोड १ लाख ३१ हजार ९०२ रुपैयाँ
  • हिमालयन इन्भेस्टमेन्ट बैंकर : २२,२६,३५२.१७

को-को प्रतिवादी विरुद्ध के छ मागदाबी?

बिमा क्षेत्रमा लगानी गर्दा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्थाको बर्खिलाप हुने गरी हिमालयन रिइन्स्योरेन्सका पदाधिकारी तथा कार्यकारी प्रमुखको मिलेमतोमा भृकुटी स्टक ब्रोकिङमार्फत बदनियतपूर्वक पेश्की रकम उपलब्ध गराइएको सीआईबीको निष्कर्ष छ । ‘सेयर बिक्रीको रकम समेत फिर्ता नलिई दूषित मनसाय र नियामकीय छलछाममार्फत प्रतिवादी शेखर गोल्छा, सुलभ अग्रवाल र दीपक भट्टको समूहलाई संगठित रूपमा सहयोग गरी बीमकको रकम दुरुपयोग गरिएको देखिन्छ,’ सीआईबीले भनेको छ ।

सीआईबीले हिमालयन रिइन्स्योरेन्सका प्रतिवादीहरू शेखर गोल्छा, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार, दीपककुमार श्रेष्ठलाई २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो कायम गरी सजाय मागदाबी गर्न सिफारिस गरेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका प्रतिवादीहरू आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्लसहितलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम गर्न सिफारिस गरिएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सहायक कम्पनी ‘हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड’ मा २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ हिनामिना भएको भन्दै दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले, आकांक्षा गुप्ता र सुभाषबहादुर श्रेष्ठविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । त्यस्तै, अर्को सहायक कम्पनी ‘हिमालयन क्यापसर्भ लिमिटेड’ मा ३७ करोड रुपैयाँ दुरुपयोग गरेको आरोपमा शिशिर गैह्रे, दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधानविरुद्ध मुद्दा चलाउन भनिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी ‘हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेड’ र ‘हिमालयन लार्ज क्याप फण्ड’ मा २५ करोड ३७ लाख ११ हजार १०१ रुपैयाँ अनियमितता भएको भन्दै कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, विदुर पुरीसहित १० जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

भृकुटी स्टक ब्रोकिङका कार्यकारी सञ्चालक सन्दीप चाचानले ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ अपचलन गरेको ठहर गर्दै उनीविरुद्ध बिगो जफत र कैद सजायको माग गरिएको छ ।

प्रतिवादीहरू दिपक भट्ट, शुलभ अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई बिमा ऐन २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिमको कसुरमा कारबाही माग गर्न सिफारिस गरेको छ ।

उनीहरूमाथि बीमक (बिमा कम्पनी) को रकम अपचलन, हिनामिना, भित्री कारोबार, र धितोपत्रको मूल्य हेरफेर गरी संस्थालाई हानी पुर्‍याएको अभियोग लगाउन सिफारिस गरेको हो ।

शुलभ अग्रवाललाई मुख्य योजनाकार मान्दै ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र दिपक भट्टलाई २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बिगो कायम गर्न सिफारिस गरेको हो । यस्तै, गैरकानूनी रूपमा सेयर खरिद गरिएका शुभी अग्रवाललाई ६२ करोड ९० लाख रुपैयाँ, राजबहादुर शाहलाई ८९ करोड ७१ लाख रुपैयाँ र ऋषिराज मोर २३ करोड १ लाख रुपैयाँ बिगो र कैद सजायको मागदाबीसहित बिमा ऐन २०७९ को दफा १४१ (३) (घ) बमोजिम कैद र जरिवाना समेत माग गर्दै मुद्दा दायर गर्न सिफारिस गरेको छ ।