सपना बोकेको नेपाल र अघि बढ्दै गरेको भारतबीचको पुन: मिलन कसरी सम्भव छ ?

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न ८ प्रस्ताव

350
Shares

राजनीति बाहिरका विज्ञ र नयाँ मान्छेहरू मिलेर बनेको एउटा पार्टीले चार वर्षमै झण्डै दुई-तिहाइ बहुमत ल्याउनु र विश्वकै कान्छा प्रधानमन्त्री छानिनु सामान्य कुरा होइन । त्यसैले नेपालमा के भइरहेको छ र यो देश कता जाँदैछ भनेर विश्वले चासो राख्नु स्वाभाविक हो । अझ एक हजार माइलभन्दा बढी सिमाना जोडिएको छिमेकी भारतका लागि यो जिज्ञासा हुनु झन् सामान्य कुरा हो ।

नेपालमा भएको यो परिवर्तन सडकको हिंसा, सेनाको विद्रोह वा विदेशी हस्तक्षेपबाट भएको होइन । यो त शान्तिपूर्ण रूपमा चुनावको माध्यमबाट आएको ‘मतदानको क्रान्ति’ हो । संसारका धेरै देशमा जनताले राजनीति र नेतालाई अविश्वास गरिरहेका बेला नेपालले देखाएको छ कि-लोकतन्त्रबाटै ठूलो परिवर्तन सम्भव छ । आजको नेपाल अन्योलमा छैन; हामी समृद्ध र बलियो लोकतन्त्र बनाउने प्रष्ट बाटोमा छौं । हाम्रो लक्ष्य सरल छ: राम्रो सुशासन र विकासमार्फत जनतालाई खुसी बनाउने ।

नयाँ राजनीतिक यथार्थ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको एउटा नयाँ र साँचो शक्ति हो । यसले पुरानो र भद्रगोल राजनीतिलाई चुनौती दिएको छ । यसले युवा पुस्तालाई ‘काम गरेर देखाउने’ राजनीतिमा ल्याएको छ । हामीलाई थाहा छ, जनताले हामीलाई रिस र आशा दुवै कारणले भोट दिएका हुन् । परिवर्तनको यही ठूलो चाहनाले गर्दा नै नयाँ र योग्य मान्छेहरू चुनिएर आएका हुन् ।

हाम्रो परराष्ट्र नीतिलाई नयाँ ढंगले अघि बढाउन हामीसँग एउटा फाइदा छ-हामीसँग विगतको कुनै नराम्रो भारी छैन । हामी पुराना झगडाहरूमा अल्झिएका छैनौं । हामी पुराना सन्धि र जनता-जनताबीचको सम्बन्धलाई मान्छौं, तर विगतका नेताहरूले गरेका गोप्य र गलत सम्झौताहरूमा हामी फसेका छैनौं । हामी भारत र संसारलाई सफा मन र प्रष्ट विचारले हेर्छौं । हाम्रो एउटै लक्ष्य छ: नेपालको आर्थिक उन्नति ।

नेपाल र भारत केवल दुई देश मात्र होइनन्, हामी एउटै पुरानो र महान् सभ्यताका सन्तान हौं । जनकपुर र अयोध्या नजोडिई रामको कथा पूरा हुँदैन । पशुपतिनाथ र केदारनाथलाई सँगै नहेरी हाम्रो आस्था पूरा हुँदैन । लुम्बिनी र बोधगयालाई जोडेर मात्र हाम्रो सभ्यताको जग पूरा हुन्छ ।

तर, हामी पुराना कुरा गरेर मात्र बस्न चाहँदैनौं । हामी हाम्रा कमजोरीहरूलाई लुकाउन पनि चाहँदैनौं । हाम्रो सम्बन्धले विगतमा के पायो भन्ने मात्र होइन, अब के पाउन सक्छ र यो कति राम्रो हुन सक्छ भन्ने कुरामा ध्यान दिएर हामी नयाँ सुरुवात गर्न चाहन्छौं।

सिमाना मात्र होइन, अर्थतन्त्रलाई जोड्ने

आजको भारत धेरै फेरिएको छ । पुराना झन्झटहरू छोडेर भारत अहिले संसारको सबैभन्दा छिटो बढ्ने अर्थतन्त्र बनेको छ । हामी यसको सम्मान गर्छौं र भारतको विकासमा साझेदार बन्न चाहन्छौं ।

भारतले अहिले दिनको १५ किलोमिटर रेलमार्ग बनाइरहेको छ । रक्सौलदेखि काठमाडौंसम्मको रेलमार्ग त केवल १५० किलोमिटर मात्रै हो । जुन दिन यो रेल चल्छ, त्यसले हाम्रो व्यापार, पर्यटन र सामान ओसारपसारमा ठूलो क्रान्ति ल्याउनेछ । नेपाल केवल सिमाना जोड्न मात्र होइन, देशको अर्थतन्त्रलाई गति दिन यो रेलमार्ग चाहन्छ ।

हामी केवल दिल्लीलाई मात्र होइन, भारतका विभिन्न राज्यहरूमा भइरहेको विकासलाई पनि हेरिरहेका छौं ।

भारतको हवाई क्षेत्रले निकै प्रगति गरेको छ । के हामी पोखरा र लुम्बिनीबाट सिधै दिल्ली, मुम्बई वा बेंगलुरु उडान भर्न सक्दैनौं? आन्ध्र प्रदेश र तेलङ्गानाले सूचना प्रविधि (IT) मा राम्रो काम गरेका छन् । के हामी काठमाडौं र बेंगलुरुलाई जोड्ने ‘डिजिटल करिडोर’ बनाउन सक्दैनौं? गुजरातको उद्योग देखेर के हामी हाम्रो सिमानामा मल कारखाना खोल्न सक्दैनौं?

हामी नेपालमा आईआईटी र एआईएमएस जस्ता राम्रा संस्थाहरू ल्याउन चाहन्छौं । नेपालले भारतका आईटी कम्पनी र विश्वविद्यालयहरूलाई ढुक्कसँग भन्न सक्छ: ‘हामीसँग मिलेर नयाँ काम गर्नुहोस् ।’

हामीसँग प्रतिभाशाली युवा र पर्याप्त बिजुली छ । भारतको प्रविधिको साथ पाएमा हामी धेरै अघि बढ्न सक्छौं । हामी डिजिटल पैसा तिर्ने प्रणालीमा पनि सहकार्य गर्न चाहन्छौं ।

विकासका लागि कूटनीति

रास्वपा नेपाल-भारत सम्बन्धलाई राजनीतिक खिचातानीबाट हटाएर विकासको बाटोमा लैजान चाहन्छ । हाम्रा कूटनीतिक निकायहरूले लगानी र व्यापार बढाउन काम गर्नुपर्छ । हामी यस्तो सम्बन्ध चाहन्छौं जसले दुवै देशका सामान्य मान्छेको जीवनमा सजिलो बनाओस् ।

नेपालको बिजुली अब नेपालका लागि मात्र होइन, यो भारतका उद्योगहरू चलाउने सफा ऊर्जा पनि हो । हामीले सानातिना व्यापारमा मात्र अल्झिनु हुँदैन, अब ठूलो ऊर्जा बजार बनाउनुपर्छ ।

गोलभेडाको भाउ होस् वा मेसिनको आयात, अब यी कुराहरू सरकारी झन्झटमा रोकिनु हुँदैन । हामीलाई आधुनिक र डिजिटल भन्सार प्रणाली चाहिन्छ, जसले सिमानालाई सजिलो पुल जस्तो बनाओस् ।

हिमालदेखि जनकपुर र लुम्बिनीसम्म हाम्रो पर्यटन एकअर्कामा जोडिएको छ । हामीले यस्तो पर्यटकीय क्षेत्र बनाउनुपर्छ जहाँ विदेशी पर्यटकहरू बिना कुनै झन्झट घुम्न सकून् ।

हामीले आईपीएलको फाइनल हेर्ने मात्र होइन, नेपाली खेलाडी र रंगशालाहरूलाई पनि आईपीएलमा कसरी जोड्न सकिन्छ भनेर सोचिरहेका छौं ।

आपसी विश्वासको जग

खेतीपाती, स्वास्थ्य र सुरक्षा जस्ता धेरै क्षेत्रमा काम गर्न सकिन्छ, तर यसका लागि सबैभन्दा पहिले एकअर्कालाई विश्वास गर्नुपर्छ।
हामी मुख्य समस्याहरूलाई लुकाएर साँचो मित्रता बनाउन सक्दैनौं । हामी धेरै पुराना छिमेकी हौं । त्यसैले हाम्रा विवादहरूलाई अब धेरै लम्ब्याउनु हुँदैन । पुराना कुरा र तथ्यका आधारमा बसेर यस्ता समस्या मिलाउन सकिन्छ । हामी चुनाव जित्नका लागि गरिने चर्को राष्ट्रवादी भाषणमा विश्वास गर्दैनौं । हामी त प्रमाण र छलफलका आधारमा काम गर्न चाहन्छौं ।

एउटा बलियो र धनी नेपाल भारतको सुरक्षाका लागि पनि राम्रो हो । नेपालमा अस्थिरता हुँदा भारतलाई पनि चिन्ता हुन्छ । त्यसैले नेपालको विकास हुनु भारतको पनि हितमा छ ।

इतिहासकै ठूलो अवसर

इतिहासले सधैं मौका दिँदैन । अहिले (सन् २०२६ को मध्यतिर) नेपाल-भारत सम्बन्धलाई सुधार गर्ने र नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा राम्रो समय हो ।

विगत ३० वर्षको अस्थिर नेपाल अब परिवर्तन भइसक्यो । अहिलेको नयाँ नेपालमा सचेत युवाहरू छन् र काम गर्न जान्ने व्यावसायिक नेतृत्व छ । हामी नीतिहरू नबदलिने र इमानदारीपूर्वक काम हुने विश्वास दिलाउँछौं । हामी र नेपाली जनता दुवै तयार छौं । अब पुराना शंका छोडेर उज्ज्वल भविष्यका लागि सँगै अघि बढौं ।

सम्बन्ध सुधार्ने कुरा गर्दा हामी ३ अगस्ट २०१४ को दिनलाई सम्झिन्छौं । त्यस दिन प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसद्मा मात्र जानुभएन, नेपाली जनतालाई भेट्न सडकमै निस्किनुभयो । उहाँले भन्नुभएको थियो-नेपाल र भारतको सम्बन्ध हिमाल र गंगा जस्तै पुरानो छ । उहाँले नै सिमानालाई पुल बनाउने कुरा गर्नुभएको थियो ।

त्यसपछि बागमती र गंगामा धेरै पानी बगिसक्यो । नदीले पहाडसँग झगडा गर्दैन, आफ्नो बाटो खोज्दै अघि बढ्छ । हामीले पनि त्यसै गर्नुपर्छ । हामीले फेरि त्यही २०१४ को जस्तो विश्वास र न्यानोपनमा फर्कनुपर्छ । हामी पूर्ण इमानदारीका साथ त्यो सम्बन्धको पुल बनाउन तयार छौं, जसले हाम्रा मतभेद मेटाउनेछ र नयाँ सम्भावनाहरू खोल्नेछ ।

(भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित रास्वपा सभापति रवि लामिछानेको विचारको भावानुवाद । लामिछाने हाल भारत भ्रमणमा रहेका छन् । )