
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा नेपालका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ ।
छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका लामिछानेले भारतको प्रतिष्ठित सञ्चार माध्यम ‘हिन्दुस्तान टाइम्स’ मा एक विशेष लेख प्रकाशित गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ८ वटा ठोस प्रस्ताव अघि सारेको हो ।
‘पुरानो बोझ’ नभएको नयाँ राजनीतिक शक्तिको रूपमा रास्वपाले छिमेकी भारतसँग ‘भय र आशंका’ रहित नयाँ युगको सुरुवात गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले नेपाल-भारत सम्बन्धलाई पुनर्परिभाषित गर्न ८ बुँदे मार्गचित्र प्रस्तुत गरेका हुन्।
१. भू-राजनीतिक घर्षणको अन्त्य र ‘विकास कूटनीति’ मा जोड
लामिछानेले नेपाल-भारत सम्बन्धलाई अब भू-राजनीतिक खिचातानी र सुरक्षाको संशयबाट बाहिर निकाल्नुपर्ने प्रस्ताव गरेका छन् । कूटनीतिक नियोगहरूलाई केवल राजनीतिक संवादमा मात्र सीमित नगरी लगानी, व्यापार र आर्थिक साझेदारीको इन्जिन बनाउनुपर्ने उनको मुख्य एजेन्डा छ ।
२. रक्सौल-काठमाडौं रेलमार्ग: समृद्धिको आधार
भारतले गरिरहेको तीव्र रेल विस्तारको लाभ नेपालले पनि लिनुपर्ने भन्दै उनले प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गलाई छिटो सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो रेलमार्ग केवल सीमा जोड्ने माध्यम मात्र नभई नेपालको समग्र अर्थतन्त्रलाई गति दिने ‘लाइफलाइन’ हुने उल्लेख गरिएको छ ।
३. काठमाडौं–बेंगलुरु डिजिटल करिडोर
भारतको आईटी क्षेत्रको सफलतालाई नेपालसँग जोड्ने लक्ष्यका साथ लामिछानेले ‘काठमाडौं-बेंगलुरु डिजिटल करिडोर’ को प्रस्ताव गरेका छन् । यसले नेपाली युवाहरूलाई प्रविधि र नवप्रवर्तनमा विश्वस्तरको अवसर दिने र दुई देशबीचको डिजिटल इकोसिस्टमलाई मजबुत बनाउनेछ।
४. एकीकृत ऊर्जा बजार र ‘क्लिन इनर्जी’ निर्यात
नेपालको जलविद्युत क्षमतालाई उदाउँदो भारतको औद्योगिक करिडोरहरूलाई ऊर्जा दिने ‘स्वच्छ इन्जिन’ बनाउनुपर्ने उनको प्रस्ताव छ। यसका लागि साना व्यापारिक सम्झौताभन्दा माथि उठेर एउटा मजबुत र एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
५. पोखरा र लुम्बिनीबाट भारतका मुख्य सहरमा सिधा उडान
नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू (पोखरा र लुम्बिनी) बाट दिल्ली, मुम्बई र बेंगलुरु जस्ता भारतका प्रमुख आर्थिक केन्द्रहरूमा सिधा हवाई उडान जोड्ने प्रस्ताव लामिछानेले गरेका छन् । यसले धार्मिक पर्यटन र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सहज बनाउने विश्वास लिइएको छ ।
६. नेपालमा आईआईटी र एआईआईएमएस जस्ता संस्थाहरूको स्थापना
नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि भारतका विश्वप्रसिद्ध संस्थाहरू नेपालमा पनि स्थापना गर्नुपर्ने प्रस्ताव लामिछानेको छ । भारतीय शिक्षण संस्थाहरूलाई नेपालमा ‘इन्नोभेसन ल्याब’ र ‘इन्क्युबेसन सेन्टर’ खोल्न आह्वान गर्दै उनले सहकार्यको नयाँ ढोका खोल्न आह्वान गरेका छन् ।
७. साझा सभ्यतामा आधारित पर्यटकीय सर्किट
जनकपुर-अयोध्या, पशुपति-केदारनाथ र लुम्बिनी-बोधगयालाई जोड्दै एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट बनाउनुपर्ने लामिछानेको प्रस्ताव छ । प्रशासनिक झन्झट बिना दुवै देशका नागरिकले यी साझा सम्पदाहरूको भ्रमण गर्न पाउने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ ।
८. तथ्य र प्रमाणका आधारमा सीमा विवादको स्थायी समाधान
दुई देशबीचको सीमा विवाद र अन्य ऐतिहासिक समस्याहरूलाई ‘उग्र-राष्ट्रवादी’ नाराबाजी गरेर भन्दा पनि ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवादमार्फत टुङ्ग्याउनुपर्ने लामिछानेको भनाइ छ । चुनावी लाभ-हानिभन्दा माथि उठेको व्यावहारिक दृष्टिकोणले मात्रै दुई देशबीचको विश्वास अझ मजबुत हुने उनले उल्लेख गरेका छन् ।
हिन्दुस्तान टाइम्सको लेखमा लामिछानेले भनेका छन्, ‘विगत ३० वर्षको अस्थिरता र भ्रष्टाचारले चिनिने नेपाल अब इतिहास भइसक्यो। अहिलेको नयाँ नेपालमा सचेत युवाहरू छन् र काम गर्न जान्ने व्यावसायिक नेतृत्व छ। अब हामी विगतका चिन्ताहरूले होइन, साझा भविष्यका असीमित सम्भावनाहरूले अघि बढ्नुपर्छ।’





प्रतिक्रिया