स्मार्ट टेलिकमको उपकरण खरिदबाट पछि हट्यो एनसेल, पैसा फिर्ता माग्दै बैंकलाई पत्र

4.3k
Shares

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता मागेको छ ।

एनसेलले स्मार्ट टेलिकमको सामग्री लिलाम बिक्रीमार्फत खरिद गरेको विभिन्न दूरसञ्चार उपकरण लगायतका सामग्रीबापत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको पाइएको हो ।

एनसेलले वैशाख २९ गते बैंकलाई पत्र पठाएर लिलाम सकारको पैसा फिर्ता मागेको हो । बैंकबाट एनसेलले स्मार्टको सामान खरिदको सम्झौता कानुनअनुसार हुन नसकेको स्वीकार गरेको पनि पाइएको छ ।

स्मार्टको सामग्री लिलाम सकारका क्रममा बैंकको खातामा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गरी सोको लिखित जानकारी गराउन एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले माग गरेका छन् ।

स्मार्टबाट गुपचुप रूपमा उपकरणको स्वामित्व हस्तान्तरण गरिएको भन्दै एनसेलबारे विभिन्न प्रश्नहरू उठिरहेको समयमा कम्पनीले लिखित रूपमै नियामक निकाय र सम्बन्धित संस्थाहरूलाई कारोबारबारे जानकारी गराएको छ ।

एनसेलले लिलामी सकारेको सम्पत्ति बैंकबाट हस्तान्तरण नभएपछि एनसेलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता मागेको हो ।

प्राप्त कागजातहरूका अनुसार सार्वजनिक सूचनाका आधारमा एनसेल हाल सञ्चालनमा नरहेको स्मार्ट टेलिकमको उपकरण खरिद प्रक्रियामा सहभागी भएको थियो ।

त्यस क्रममा दाबी प्रस्तुत गर्ने कम्पनीमध्ये एनसेलले गरेको बोलकबोल सबैभन्दा आकर्षक देखिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहवित्तीयकरण प्रवाह भएको सवा दुई अर्ब रुपैयाँको कर्जा अन्तर्गत धितो सुरक्षणमा रहेको स्मार्ट टेलिकमका उपकरणहरू बिक्री गर्न राजी भएको थियो ।

एनसेलले आफूलाई नेटवर्क तथा सेवा विस्तारका लागि आवश्यक पर्ने उपकरण तथा अन्य सामग्री खरिद गर्ने मनसायले बैंक तथा सरकारी निकायहरूलाई समयमै जानकारी गराएको विवरणहरूले देखाउँछन् ।

यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सीआईबीले बैंकका प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे, स्मार्ट सेलका अध्यक्ष सर्वेश श्रेष्ठ, नरेन्द्र उलक, पलिना श्रेष्ठसहित तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ ।