दूरसञ्चार प्राधिकरणकै कमजोरीले स्मार्ट टेलिकमको सम्पत्ति बिक्री

यस्तो छ तत्कालीन अध्यक्ष जोशीदेखि इन्भेष्टमेन्ट बैंकका सीईओसम्म पक्राउको कारण

1.9k
Shares

काठमाडौं। टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै कमजोरीले स्मार्ट टेलिकमलाई अलपत्र पारेर सरकारको स्वामित्वमा आइसकेको सम्पत्तिसमेत बिक्री भएपछि प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख २२ यता चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सीआईबीले बुधबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ । यसअघि सीआईबीले २२ गते स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको थियो ।

नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने गरी गैरकानूनी रूपमा बिक्री गरेको भन्दै पक्राउ परेका पाण्डे र जोशीसहित स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गर्ने कार्यमा संलग्न देखिएका काठमाडौँकी पलिना श्रेष्ठ र ललितपुरका नरेन्द्र उलकलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रूपमा बिक्री गरेको भन्दै पक्राउ परेका चारै जनालाई ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

समयमा नै नवीकरण शुल्क नबुझाएको र सरकारले तोकेको शर्त पूरा नगरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ मा स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको थियो । २०७० वैशाख २ देखि अनुमति लिएर दूरसञ्चार सेवा प्रदान गरेको स्मार्टको लाइसेन्स खारेज हुँदा यसका प्रयोगकर्ता २४ लाखभन्दा बढी थिए ।

स्मार्टले लाइसेन्स लिएपछि पहिलो १० वर्षभित्रमा नवीकरणवापत तिर्नुपर्ने २० अर्ब १३ करोड रुपैयाँ तिर्न सकेको थिएन ।

स्मार्टले लाइसेन्स लिएपछि नवीकरण शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष, वार्षिक रोयल्टी, फ्रिक्वेन्सी शुल्कसमेत गरेर थप ३ अर्ब रुपैयाँ बक्यौतासमेत बाँकी रहेको थियो । स्मार्टलाई दूरसञ्चार प्राधिकरणले पटक-पटक समय दिएर इजाजतपत्र नवीकरण गर्न गरेको आग्रहलाई बेवास्ता गरेकै कारण इजाजतपत्र खारेज गरेर नेपाल दूरसञ्चार प्राधिकरण मातहत ल्याएको थियो ।

स्मार्ट टेलिकमको लाइसेन्स खारेज हुँदा २०८० वैशाखसम्ममा तीनवटा वाणिज्य बैंकको २ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी थियो । त्यतिबेला स्मार्टमा तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ३१ करोड ७१ लाख, प्राइम बैंकको ७३ करोड ३९ लाख र हालको लक्ष्मी सनराइज बैंकबाट ८ करोड रुपैयाँ ऋण लिएको थियो ।

स्मार्ट टेलिकम बन्द भएको २ वर्षसम्म पनि प्राधिकरणले मूल्य निर्धारण समिति बनाउन सकेको थिएन ।

स्मार्ट टेलिकमको लागि नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको ऋण उठाउन यसको सम्पत्ति बिक्री गर्न स्मार्टका अध्यक्षले सहमति दिएका थिए । उनको सहमति लिएर बैंकले सार्वजनिक सूचना निकालेर ऋण तिर्न आउन भनेको थियो भने अर्को सूचना निकालेर लिलामी गर्दासमेत सम्पत्तिको व्यवस्थापनको जिम्मा लिएको नेपाल दूरसञ्चार प्राधिकरण भने अनविज्ञ भएको देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक पूर्वअध्यक्षका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वामित्वमा आइसकेपछि पनि बिक्री हुनुमा प्राधिकरण नेतृत्वकै कमजोरी देखिन्छ ।

आफ्नो मातहतमा आएको कम्पनीको सेवा बन्द भएको, सेवाग्राहीलाई समस्या परेको, स्मार्टको बजारमा पठाएका करोडौँ मूल्यका सिम तथा रिचार्ज कार्ड प्रयोगविहीन भइसकेदासमेत प्राधिकरणले निर्णय नगरेर कमजोरी देखाइसकेको थियो ।

प्राधिकरणले समयमा निर्णय नगरेको र आफ्नो मातहतमा आएको कम्पनीको सम्पत्ति जोगाउन नसकेको तथा सम्पत्ति बिक्री सार्वजनिक रूपमा हुँदासमेत बेवास्ता गर्नु नै ठूलो कमजोरी भएको तर्क ती अधिकारीको छ । इजाजतपत्र खारेज भएको २ वर्ष (२०८१ चैत) मा मात्रै प्राधिकरणले स्मार्टको मूल्य निर्धारण समिति बनाउने प्रक्रिया अगाडि बढाएको थियो ।

प्राधिकरणले अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्नै ढिलो गरेको थियो । उक्त समितिका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको चार्टर्ड एकाउन्टेन्ट मागेको थियो । तर प्राधिकरणले मागेको उक्त सूचनामा रुचि देखाउने एक जनाले पनि समितिमा बस्न नमानेपछि उक्त समिति नै बन्न सकेन ।

प्राधिकरणले पुनः यसको प्रक्रिया अगाडि बढाएको भए पनि समिति बनाउन नसक्नु पनि कमजोरी देखिएको छ । अर्कोतर्फ बैंकले सार्वजनिक सूचना निकालेर सम्पत्ति बेच्दा थाहा नपाउने प्राधिकरण नेतृत्वकै कमजोरी भएको पनि यसका पूर्वअध्यक्ष बताउँछन् । स्मार्टको सम्पत्ति लिलामी हुँदा प्राधिकरणको नेतृत्वमा सरकारले नियुक्ति खारेज गरेर घर पठाएका भूपेन्द्र भण्डारी थिए ।

प्राधिकरणकै अक्षमताको शिकार स्मार्ट टेलिकमका पीडितसमेत हुन पुगे । स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व सकार गर्ने निर्णय गरेको वर्षौँसम्म पनि यसका प्रयोगकर्ता, कर्मचारी र घरभाडामा दिएका घरधनीले पाउनुपर्ने बक्यौता चुक्ता गर्न नसकेको गुनासोलाई अहिले पनि प्राधिकरणले सुनेको छैन ।

स्मार्टको सम्पत्ति व्यवस्थापन हुन नसक्दा यसका काठमाडौँमा मात्रै १७ सय टावर सम्बन्धित घरधनी समस्यामा छन् ।

२०८० को वैशाख ३ बाट इजाजतपत्रको अवधि सकिएपछि नवीकरण हुन नसकेको यो टेलिकम कम्पनीले फ्रिक्वेन्सी, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने शुल्कमात्रै करिब ७ अर्ब रुपैयाँ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको भनाइ छ।

दूरसञ्चार प्राधिकरणले स्मार्टको सेवा बन्द गर्नुअगाडि ‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९’ जारी गरेको थियो ।

नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम मिति २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वामित्वमा आइसकेकोले बिक्री गर्न नमिल्ने तर्क गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले बिक्री गरेको दाबी सीआईबीको छ ।

सीआईबीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गरिरहेको छ ।

धितोमा राखेको सम्पत्तिलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मिति २०८० असोज ३ गते लिलामीको सूचना निकालेको थियो ।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ६ ले अनुमतिपत्र रद्द भएको सेवा प्रदायकले आफ्नो कुनै पनि सम्पत्ति बिक्री गर्न वा हक हस्तान्तरण गर्न नपाउने गरी स्पष्ट बन्देज लगाएको छ । तर, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले धितो बापत रहेको सम्पत्तिको पहिलो अधिकार बैंकको हुने व्यवस्था गरेको छ । साथै सर्वोच्च अदालतलले ऋणीले लिएको कर्जा नतिरेपछि कर्जाबापत सुरक्षण दिएको जग्गा लिलामी प्रक्रियाद्वारा कर्जा असुलउपर गर्नु बैंकको कानूनी अधिकार हुने नजिरसमेत स्थापित गरेको छ ।

स्मार्टको सम्पत्ति लिलामीको सूचना जारी भएपछि तीनवटा कम्पनीले बोलपत्र पेस गरेका थिए । सो बोलपत्रमा प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख, ट्रान्सगेट टेक प्रालिले ४४ करोड २० लाख र एनसेलले ४ अर्ब ६० करोड रुपैयाँको प्रस्ताव हालेको थियो । एनसेलले बढी रकम कबोल गरेका कारण उसैले स्मार्टको सम्पत्ति पाएको पनि इन्भेष्टमेन्ट बैंकले जानकारी दिएको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति बिक्रीको विषयमा प्राधिकरणलाई कुनै जानकारी र सूचना नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनले सीआईबीको अनुसन्धानको विषय प्राधिकरणलाई थाहा नहुने बताए ।

प्राधिकरणले आफ्नो मातहतमा आएको सम्पत्ति बेच्न कसैलाई अनुमति नदिएको उनले बताए । प्राधिकरणले सम्पत्ति व्यवस्थापन मूल्यांकन गरेर दायित्वको फरफारक गर्ने प्रक्रियामै रहेको पनि उनको भनाइ छ ।