मृत्यु भइसकेकी दिदीको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे भाइ

6.7k
Shares

काठमाडौं । भारतको ओडिशामा बैंकले पैसा दिन अस्वीकार गरेपछि एक व्यक्तिले मृतकको कंकाल लिएर बैंकको कार्यालयमा पुगेको समाचार सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ओडिशाको केओञ्जर जिल्लामा एक आदिवासी पुरुषले सोमबार आफ्नी मृत दिदीको नाममा जम्मा भएको पैसा निकाल्न बैंकमा उनको कंकाल बोकेर पुगेको प्रहरीले जनाएको छ ।

यो घटना केओञ्जर जिल्लाको पतना ब्लकस्थित ओडिशा ग्रामीण बैंकको मालिपोसी शाखामा भएको हो । ती पुरुषलाई दियानाली गाउँका ५० वर्षीय जीतु मुन्डा भनेर चिनिएको छ । उनले दुई महिनाअघि बिरामी परेर मृत्यु भएकी आफ्नी दिदी ५६ वर्षीया कालरा मुन्डाको बैंक खाताबाट २० हजार रुपैयाँ निकाल्न खोजेका थिए । उनले उक्त रकम आफ्ना गाईबस्तु बिक्री गरेर कमाएकी थिइन् ।

अन्य कुनै कानुनी उत्तराधिकारी नभएपछि मुन्डाले केही दिनअघि बैंकमा गएर रकम दिन अनुरोध गरेका थिए। तर, बैंकका अधिकारीहरूले रकम निकाल्नका लागि मृत्यु प्रमाणपत्र र अन्य आवश्यक कागजात पेश गर्न भनेका थिए ।

तर, मुन्डाले आवश्यक कागजात जुटाउन नसकेपछि उनले आफ्नी दिदीको चिहानबाट कंकाल निकालेर ल्याएका थिए ।

‘म धेरै पटक बैंक धाएँ, त्यहाँका कर्मचारीहरूले खाताधनीलाई नै ल्याउन भने। मैले उनी मरिसकेकी छन् भने पनि मानेनन् र उनलाई नै बैंकमा ल्याउन जोड दिए । त्यसैले रिसाएर मैले चिहान खनेर कंकाल निकालेर ल्याएँ, ताकि उनको मृत्यु भएको प्रमाण देखाउन सकूँ,’ अशिक्षित जीतु मुन्डाले सञ्चारकर्मीसँग भने ।

पतना प्रहरी चौकीका इन्चार्ज किरण प्रसाद साहूले बैंकमा पुगेर भने, ‘जीतु एक अशिक्षित आदिवासी हुन्। उनलाई कानुनी उत्तराधिकारी वा नोमिनी (इच्छाएको व्यक्ति) के हो भन्ने थाहा छैन । बैंकका कर्मचारीहरूले उनलाई मृत व्यक्तिको खाताबाट पैसा निकाल्ने प्रक्रिया राम्रोसँग बुझाउन सकेनन् ।’

घटनापछि प्रहरीले जीतु मुन्डालाई उनकी मृत दिदीको खाताबाट रकम निकाल्न सहयोग गर्ने आश्वासन दिएको छ । पछि कंकाललाई प्रहरीको उपस्थितिमा पुनः चिहानमै गाडिएको थियो ।

यसैबीच, स्थानीय ब्लक विकास अधिकारी (बीडीओ) मानस दण्डपाटले आफूलाई कालरा मुन्डाको कानुनी उत्तराधिकारीबारे कसैले जानकारी नदिएको बताए । ‘आज मात्रै यसबारे जानकारी पाएँ । अब के गर्न सकिन्छ हेर्छौँ,’ उनले भने।

बैंक स्रोतका अनुसार कालरा मुन्डाको खातामा रहेको नोमिनीको पनि मृत्यु भइसकेका छन् । त्यसैले उक्त खातामा रहेको रकमका लागि जीतु मुन्डा एक मात्र दाबेदार हुन् ।

स्थानीय प्रशासनले बैंक अधिकारीहरूलाई व्यवस्था मिलाएर नियमअनुसार एक मात्र दाबेदार रहेका जीतु मुन्डालाई सकेसम्म चाँडो रकम उपलब्ध गराउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।