
काठमाडौं । सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड हिमालयन लार्ज क्याप फन्डको अनुमति र रकम दुरुपयोगका विषयमा भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामाको घोषणा गरेका छन्।
हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लार्ज क्याप फन्ड लगायतका विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायले छानबिन गरिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि करिब ५ अर्ब रुपैयाँ रकम दुरुपयोग गरेको आरोप छ ।
विभागले धितोपत्र बोर्डको भूमिकामाथि पनि प्रश्न उठाएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन क्यापिटलको हिमालयन लार्ज क्याप फण्डको स्वीकृति र सर्कुलर ट्रेडिङका विषयमा समेत विभागले अनुसन्धान अगाडि बढाएको छ । उनले लार्ज क्याप फण्डको स्वीकृति चाँडो गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान दिएका थिए । सोही बयानपछि श्रेष्ठले राजीनामा दिएको स्रोत बताउँछ ।
विभागले उक्त म्युचुअल फण्ड स्वीकृतिको फाइल मगाएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा विभागले त्यसको स्वीकृति प्रक्रियामा गम्भीर चासो राखेको हो ।
२०८२ साउन ११ मा धितोपत्र बोर्डमा आवेदन दिएको हिमालयन लार्ज क्याप फन्डले साउन २२ गते स्वीकृति पाएको थियो । अन्य धेरैवटा म्युचुअल फन्डहरूले ६ महिनासम्म पनि स्वीकृति नपाई पाइपलाइनमा रहँदा समेत उक्त म्युचुअल फन्डले भने आवेदन दिएको १२औं दिनमै स्वीकृति पाएको थियो ।
सोही म्युचुअल फन्डले नेपाल पुनर्बिमा कम्पनीको करिब साढे ३ लाख कित्ता सेयर किनेको छ । दीपक भट्ट र सुलभ अग्रवालमाथि भइरहेको कतिपय अनुसन्धानमा धितोपत्र बोर्डको समेत भूमिका शंकास्पद पाइएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारमार्फत नै राजीनामा दिएर अनुसन्धानमा सहयोग गरिदिन भनेपछि अध्यक्ष श्रेष्ठले राजीनामा दिएका हुन् ।
तत्कालीन केपी ओलीको सरकारले २०८१ मंसिर तेस्रो साता बोर्डको अध्यक्ष नियुक्ति भएका श्रेष्ठलाई भट्टकै जोडबलमा नियुक्ति गरिएको आरोप लाग्दै आएको थियो । दीपक र सुलभमाथि अनुसन्धान तीव्र भएपछि श्रेष्ठमाथि पनि अनुसन्धानको सुई तेर्सिएको हो ।
शुक्रबार साँझ बसेको बोर्डको सञ्चालक समिति बैठकमा अध्यक्ष श्रेष्ठले पदबाट राजीनामाको घोषणा गर्दै अहिलेसम्म सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै बिदा भएका छन् ।
श्रेष्ठले रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकाले आफूले त्यसको सम्मान गर्दै राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाए । रातको ९ बजे अर्थ मन्त्रालय पुगेका श्रेष्ठको अर्थमन्त्री वाग्लेसँग भेट भने भएन । वाग्लेको सचिवालयमा राजीनामा पत्र बुझाएर आफूले स्वेच्छाले राजीनामा दिएको र सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको प्रतिक्रिया दिएका थिए । उनी मन्त्री अर्यालको वेटिङ एरियामा करिब २ मिनेटमात्र बसेका थिए ।










प्रतिक्रिया